१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

प्रतिनिधिसभामा एमालेले माग्यो विवादित मन्त्रीहरूको राजीनामा

काठमाडौँ — एमालेले विवादित मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा एमालेको तर्फबाट बोल्दै एमाले सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे । भट्टराईले बालकुमारी घटनामा छानबिन आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकार समक्ष माग गरेका हुन् ।

प्रतिनिधिसभामा एमालेले माग्यो विवादित मन्त्रीहरूको राजीनामा

उनले छानबिन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रुपमा पदमा बस्न नमिल्ने उल्लेख गरे । फागुन ६ गतेको बैठकमा प्रधानमन्त्री स्वयम्ले संसदमा बोल्दै युवाहरुको हत्या भएको बताएको भन्दै हत्या भएको भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने भट्टराईको धारणा थियो ।

‘प्रधानमन्त्रीले दुई जना युवाहरुको मृत्यु भएको सन्दर्भमा सामान्य मृत्यु भन्नुभएन । संसद्को रेकर्डमा छ बालकुमारीमा दुईजना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयंले यो शब्द प्रयोग गर्नुभएको छ । यदि बालकुमारी घटनामा दुईजना युवाहरुको हत्या हो भने त्यो हत्या कसले गर्‍यो त ? कुनै नागरिक तहबाट एकअर्कामा झडप भएर हत्या भएको होइन । त्यो सुरक्षाकर्मीको गोलिबाट बालकुमारीमा दुईजना युवाको हत्या भएको छ । त्यसकारण यसमा सिंगो सरकार जिम्मेवार छ भन्नेकुरा हामी जोड दिएर भन्न चाहन्छौं' उनले भने ।

भौतिक पूर्वाधार मन्त्रीको लापरबाहीका कारण त्यो भएको उनको भनाइ थियो । छानबिन आयोगले मन्त्री दोषी छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा, फेरि पदमा बस्ने कुरा नैतिक हिसाबले हुँदै हुँदैन । अनि यो सबै सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीजी स्वयं प्रधानमन्त्रीजीले हत्या हो भनिसकेपछि प्रहरीको गोलीबाट युवाहरुको हत्या भएको छ भने गृहमन्त्रीजीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? आयोगको प्रतिवेदन संसदमा टेबुल गर्नुपर्‍यो । संसदमा यो कुरा प्रधानमन्त्रीले बताउनुपर्‍यो । आयोगको प्रतिवेदन सार्वजनिक गर्न म हाम्रो दलको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

उनले टेरामक्स प्रकरणमा तत्कालिन सञ्चार मन्त्रीको हैसियतमा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको संलग्नतामा अख्तियारले बयान लिएको भन्दै मन्त्री बस्नेत पदमा बहाल हुनेकुरा पनि स्वीकार नहुने धारणा पनि राखे । लुम्बिनीस्थित रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको निर्णयको सम्बन्धमा पनि छानबिन गर्न उनले माग गरे ।

सांसद भट्टराईले मिटरब्याजीहरु अहिलेको गठबन्धनसँग नजिकका मान्छे भएकाले सरकारले कारबाही नगरेको पनि आरोप लगाए ।

प्रकाशित : फाल्गुन ११, २०८० ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?