१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

ओलीको जन्मदिनमा दाहालको शुभकामना

‘दुई नेताबीच आगामी दिनमा सहकार्यको ढोका बन्द नहुने गरी स्वस्थ्य संघर्षपूर्ण सम्बन्ध रहेको निकटस्थहरु दाबी गर्छन्’
गंगा बीसी

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार ७२ वर्ष पुगेको अवसरमा पार्टीका पदाधिकारी, कार्यकर्ता र शुभचिन्तकले भेटेर, सामाजिक सञ्जाफमार्फत् शुभकामना दिएका छन् । शुभकामना दिनेमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेत छन् । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीको जन्मदिनमा टेलिफोन गरेर सु-स्वास्थ्य, दीर्घायु र आगामी दिनको सफलताको कामना गरेका छन् ।

ओलीको जन्मदिनमा दाहालको शुभकामना

एमालेले सरकारविरुद्ध सदन र सडकबाट दबाब दिने निर्णय गरेको अर्को दिन दाहालले ओलीलाई जन्मदिनको शुभकामना दिएका हुन् । दाहालका स्वकीय सचिब रमेश मल्लले प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री ओलीलाई जन्मदिनमा शुभकामना दिएर सुस्वास्थ्य र दीघायुको कामना गरेको बताए ।

‘प्रधामन्त्रीज्यूले पूर्व सहकर्मी एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनको अवसरमा आगामी दिनमा सुस्वास्थ्य, दीर्घायु र सफलताको शुभकामना दिनुभयो,' उनले भने, ‘ओलीले पनि प्रधानमन्त्रीज्यूलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको थियो । यो शुभकामना आदानप्रदान हो ।’

गठन्धन सरकारको नेतृत्व गरेका दाहाल र प्रमुख प्रतिपक्ष ओलीबीच विगतदेखि वर्तमानसम्म संघर्षपूर्ण राजनीतिक सम्बन्ध छ । तर पछिल्लो समय दुबै नेताबीच सत्ता पक्ष र प्रतिपक्षको सम्बन्ध भए पनि एकअर्कालाई शुभकामना आदानप्रदान र संवाद जारी राखेका छन् ।

प्रधानमन्त्री दाहालको जन्मदिनका अवसरमा ओलीले मध्यपहाडी यात्रामै रहेको बेला मंसिर २६ मा खोटाङबाट टेलिफोनबाट शुभकामना दिएका थिए । ओलीले लेखेका थिए - ‘आज रामेछाप, सिन्धुली, ओखलढुंगा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्‍यो । दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्मदिनको शुभकामना ।’

दाहाल र ओलीबीच बुधबार शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउने विषयमा बालुवाटारमा संवाद भएको थियो । त्यसको अर्कोदिन एमाले केन्द्रीय कमिटीले २२ बुँदे समसामयिक प्रस्तावमध्ये अधिकांश बुँदामा सरकारको आलोचनाका साथै संघर्ष गर्ने चेतावनी दिएको छ ।

उता कांग्रेसमा माओवादीसित ‘अप्राकृतिक गठबन्धन’ गर्न नहुने आवाज उठिरहेका बेला दाहाल र ओलीबीच संवाद जारी रहेको छ । ‘आज ओलीजीको जन्मदिको शुभकामना मात्र हो, अरु राजनीतिक विषयमा भेटेर वार्ता हुने गरेकै छ,’ बालुवाटार स्रोतले भन्यो, ‘एकअर्कालाई जन्मदिन र अरु बेला शुभकामनमा आदानप्रदान गर्नु राजनीतिक संस्कार पनि हो ।’ ओली र दाहालबीच हुने संवादले राजनीतिक अर्थ राख्ने भएकाले अर्थपूर्ण रुपमा हेरिन्छ ।

पछिल्लो समय दुई ठूलो कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच हरेक महिना कम्तिमा एक पटक एक्ला-एक्लै भेटवार्ता जारी राखेका छन् । दाहालभन्दा तीन वर्ष जेठा ओली २००८ फागुन ११ मा इवा-२, तेह्रथुममा जन्मिएका थिए । दाहालको जन्म २०११ मंसिर २६ गते तत्कालीन ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडे कास्कीमा भएको थियो । विगतमा यी दुई नेताबीच एकताभन्दा बढी संघर्ष भएको छ ।

ओली माओवादी दश वर्षे सशस्त्र युद्धको सबभन्दा खरो आलोचक थिए । त्यसबेला उनले माओवादीले ‘रुकुम, रोल्पामा गुलेली लिएर जनयुद्ध’ सुरु गरेको टिप्पणी गरेका थिए । माओवादीले पनि युद्धका बेला ओलीलाई ‘एमालेभित्रको दुश्मन’ को रुपमा लिएका थिए । शान्ति प्रक्रियामा आएपछि ओलीले माओवादीका हरेक एजेण्डालाई आलोचनात्मक आँखाले हेर्दै आएका थिए । ओलीको खरो तर्कका कारण संविधानसभामा माओवादीलाई कतिपय एजेण्डामा अप्ठ्यारो परेको थियो ।

ओली र दाहालबीच सहकार्यको थालनी ०७४ को निर्वाचन अघिबाट सुरु भई करिब साढे तीन वर्ष मात्र चलेको थियो । ०७४ को आम निर्वाचनपछि एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टीको दुई अध्यक्ष भएका थिए । ओलीको नेतृत्वमा बहुमतका सरकार बनेको एक वर्षपछि ओली र दाहालबीच शक्ति संघर्ष सुरु भएको थियो ।

शक्ति संघर्ष बढ्दै जाँदा साढे तीन वर्ष अर्थात् ०७७ फागुन २३ मा अलग भए । सर्वोच्च अदालतमा परेको एक मुद्दामा एमाले र माओवादी अलग गरिदिएपछि यी दुई नेता दाहालले सत्ता र ओलीले प्रमुख प्रतिक्षको मोर्चा सम्हालिरहेका छन् । यी दुई नेताबीच राजनीतिक रुपमा जस्तो संघर्ष देखिन्छ, व्यक्तिगत रुपमा त्यस्तो छैन । एकआपसमा भेट्दा यी दुई नेता गंभीर वार्ता मात्र गर्दैनन्, हाँसीमजाक पनि गर्छन् ।

निकट नेताहरु भन्छन्, ‘यी दुई नेताबीच आगामी दिनमा सहकार्यको ढोका बन्द नहुने गरी स्वस्थ्य संघर्षपूर्ण सम्बन्ध छ । यो संघर्षपूर्ण सम्बन्ध कुनै बेला एकतामा रुपान्तरण हुन सक्छ ।’

प्रकाशित : फाल्गुन ११, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?