कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन सरकारका कारण मुलुकमा संकट बढ्दै गएको एमालेको निष्कर्ष

काठमाडौँ — एमालेले गठबन्धन सरकारका कारण मुलुकमा संकट बढ्दै गएको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले २२ बुँदे प्रस्ताव पारित गर्दै गठबन्धन सरकारका कारण मुलुकको व्यवस्थाप्रति चुनौती थपिँदै गएको उल्लेख गरेको छ ।

गठबन्धन सरकारका कारण मुलुकमा संकट बढ्दै गएको एमालेको निष्कर्ष

‘गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरू संकटग्रस्त बन्दै गएका छन्,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको छ । राष्ट्रिय हितमा आघात पुग्दैछ र बाहृय सम्बन्धमा देखापरेको असन्तुलन, अपरिपक्वता र अदूरदर्शीताका कारण राष्ट्रको प्रतिष्ठामै आँच आएको छ ।’

सरकारको गलत आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको एमालेले आरोप लगाएको छ । ‘आर्थिक वर्षको ७ महिना बित्दा पुँजीगत खर्च २१ प्रतिशतमा सीमित छ । राजस्वले चालू खर्चसमेत धान्नसकेको छैन, सरकार आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाइरहेको छ । विकास निर्माणका काम ठप्पा छन्,’ एमालेले निष्कर्ष छ, ‘निर्माण व्यवसायीहरुले सम्पन्न भइसकेका कामको भुक्तानी पाउनसकेका छैनन् ।’

एमालेले चर्को ब्याजदर, झंझटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा पुगेको जनाएको छ । ‘धेरै व्यवसायहरु बन्द भएका छन् र व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्,’ एमालेको भनाइ छ, ‘यो बैठक गहिरिँदो आर्थिक संकट र बिग्रँदो व्यावसायिक वातावरणप्रति गहिरो चिन्ता गर्दछ । यसमा सार्थक हस्तक्षेप गर्दै आर्थिक विकासको ठोस विकल्प अगाडि सार्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

वर्तमान गठबन्धन सरकारको कुशासन, आर्थिक असफलता, भ्रष्टाचार, चरम असुरक्षा, महँगीजस्ता विषयले नेपाली जनता आक्रान्त रहेको, सरकार पूर्णरूपमा असफल भएको, सरकारको गैरजिम्मेवार रवैयाले व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरेको आरोप लगाइएको छ । ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिको जनताको चाहनालाई मूर्तरूप दिन संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह गर्नुपर्ने लगायत रहेका छन्,’ बैठकको निर्णयमा भनिएको छ ।

एमालेले ‘सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारहरुमार्फत समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व संकलन निरन्तर घटिरहेको र अन्तर्राष्ट्रिय संस्थाहरुको दृष्टिमा नेपालको विश्वसनीयता र खस्किँदै गएको उल्लेख गर्दै ‘तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्न सरकार र शासन सवालमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ ।’

प्रकाशित : फाल्गुन १०, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?