कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली राहदानीको वरीयता सुध्रिएन

पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा १०३ औं स्थानमा, १८ वर्षमा २७ स्थान तल झर्‍यो, द्वन्द्वग्रस्त लिबिया र प्यालेस्टाइनसँगै नेपाल
जगदीश्वर पाण्डे

काठमाडौँ — ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले सन् २००६ मा पहिलो पटक राहदानीको विश्व वरीयता निकाल्दा नेपाल ७६ औं नम्बरमा थियो । उही संस्थाले सोमबार सार्वजनिक गरेको २०२४ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा भने १०३ औं स्थानमा झरेको छ । नेपाल २०२३ मा पनि उही स्थानमा थियो । वरीयता सूची निस्कन थालेयताको १८ वर्षमा नेपालको वरीयता सुध्रनुको साटो २७ स्थान तल झरेको हो ।

नेपाली राहदानीको वरीयता सुध्रिएन

नेपाल २०१० मा ८८ औं स्थान, २०१४ मा ९० औं, २०१५ मा १०५ औं र २०२१ मा ११० औं स्थान हुँदै अहिले १०३ औं स्थानमा आइपुगेको हो । यो वरीयता सूचीमा नेपालसँगै द्वन्द्वग्रत मुलुकहरू लिबिया र प्यालेस्टाइन छन् । नेपालभन्दा उत्तर कोरिया १०२औं स्थानमा रहँदै एक वरीयताले माथि छ । सैनिक कुबाट सञ्चालित म्यान्मार ९७औं स्थानमा छ भने कंगो, दक्षिण सुडान र नाइजेरिया क्रमशः ९८औं, ९९औं र १००औं वरीयतामा छन् ।

दक्षिण एसियामा नेपालभन्दा कमजोर राहदानी भएका मुलुकमा पाकिस्तान र अफगानिस्तान मात्र छन् । पाकिस्तान १०६औं स्थान र अफगानिस्तान १०८औं स्थानमा छन् । दक्षिण एसियाको सबैभन्दा बलियो राहदानी माल्दिभ्सको छ । विश्वकै सबैभन्दा शक्तिशाली राहदानीको सूचीमा यो देश ५८ औं नम्बरमा छ । त्यसपछि भारत ८५औं, भुटान ९२औं, श्रीलंका १०१ र बंगलादेश १०२औं स्थानमा छन् ।

पूर्वराजदूत शम्भुराम सिम्खडाका अनुसार ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्टले कुन देशलाई कहाँ भिसा दिन्छ वा दिन्न भन्ने आधारमा वरीयता निकाल्छ । ‘हाम्रो राहदानीले हाम्रो राष्ट्रिय स्थिति र अन्तर्राष्ट्रिय सम्मानलाई इंगित गर्छ, हामी कहाँ छौं भन्ने स्थिति देखाउँछ,’ उनले टिप्पणी गरे । अर्का पूर्वराजदूत विजयकान्त कर्ण राहदानीको वरीयतामा नेपाल विश्वमै पछि पर्नुमा तीन कारण मान्छन् । उनका अनुसार नेपालको आर्थिक क्षेत्रमा अपेक्षाकृत प्रगति नहुनु, दक्षिण एसियामा कुनै पनि हस्तक्षेप गर्ने हैसियत नपुग्नु र आन्तरिक राजनीतिक भूमरीमा परेर वैदेशिक सम्बन्धसमेत बलियो नहुनुले राहदानीको शक्ति कमजोर बन्दै गएको हो ।

‘देशमा जति विकास र प्रगति हुन्छ, त्यहीअनुसार अन्तर्राष्ट्रिय रूपमा शक्ति बढ्ने हो । विदेशी लगानी पनि बढ्ने हो । लुम्बिनी र सगरमाथा मात्र कतिन्जेल भनिरहने हो र ?’ उनले भने, ‘त्योबाहेक व्यक्तिगत र संस्थागत रूपमा कुनै प्रगति भएको छैन । अनुदान र ऋण मागिरहेका छौं । विश्वलाई बेच्नका लागि केही महत्त्वपूर्ण कुरा छैन । हाम्रोमा आर्थिक, राजनीतिक र विदेश सम्बन्धमा स्पष्ट नीति छैनन् ।’ उनले नेपालमा भ्रष्टाचार उच्चतम बिन्दुमा रहेको बताए । नेपालको राहदानी उत्तर कोरियाको भन्दा पनि पछि हुनुमा उत्तर कोरियाले हतियार र आणविक हतियारमा विकास गर्नु रहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय मामिलाका जानकार निश्चलनाथ पाण्डेका अनुसार पर्यटकको भिसामा विदेश गएर काम गर्न थाल्ने प्रवृत्तिले नेपालीलाई अन एराइभल भिसा उपलब्ध नभएको हो । ‘हेन्ली इन्डेक्सले अन एराइभल भिसा कति देशले दिन्छन् भन्नेलाई नै मुख्य आधार दिएको छ । ३० वर्षअघिसम्म नेपालीले आजको भन्दा धेरै देशमा यस्तो भिसा पाउँथे । अहिले काठमाडौंमा भएका दूतावासले समेत भिसा नदिएर दिल्लीस्थित दूतावासले दिन्छ,’ उनले भने, ‘यो विषय देशको सम्मानसँग सम्बन्धित छ । यसमा प्रधानमन्त्रीस्तरमै एउटा उच्चस्तरीय कार्यदल बनाएर विचार गर्नु मनासिब हुन्छ ।’

नेपाली धेरै पर्यटक भएर जाने यूएई, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डसँग कूटनीतिक पत्राचार गरेर सहज भिसाका लागि पहल गर्न सकिने उनको भनाइ छ । यस वर्ष शीर्ष १० शक्तिशाली राहदानीको सूचीमा पहिलो नम्बरमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन छन् । दोस्रो वरीयतामा फिनल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण कोरिया र स्विडेनका राहदानी छन् ।

अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, लक्जेम्बर्ग र बेलायतका राहदानी तेस्रो वरीयतामा छन् । चौथो वरीयतामा बेल्जियम, नर्बे र पोर्चुगल, पाँचौं वरीयतामा अस्ट्रेलिया, ग्रिस, माल्टा, न्युजिल्यान्ड र स्विट्जरल्यान्ड तथा छैटौं वरीयतामा क्यानडा, चेकगणतन्त्र, पोल्यान्ड र अमेरिकाको राहदानी छन् । सूचीको सातौं शक्तिशाली राहदानीमा हंगेरी र लुथिनिया, आठौंमा इस्टोनिया, नवौंमा लात्भिया र स्लोभेनिया र दसौंमा आइसल्याड छन् ।

हेन्लीले १९९ विभिन्न राहदानी र २२७ विभिन्न यात्रा गन्तव्यको आधारमा अध्ययन गरिएको जनाएको छ । मासिक रूपमा अद्यावधिक गरिएको द हेन्ली पासपोर्ट सूचांक आफैंमा बलियो र भरपर्दो वरीयताका रूपमा लिइँदै आएको छ । वरीयता गर्दा सम्भावित यात्रा गन्तव्यहरूविरुद्ध प्रत्येक राहदानीको क्रस–चेक गरिन्छ । यो अनुसन्धान प्रक्रिया वर्षभरि जारी हुने हेन्लीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?