कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आवास कम्पनीलाई मन्त्री गुरुङको निर्देशन- 'जग्गा बेचेर मात्रै संस्था चल्दैन, विकल्प खोज्नू'

काठमाडौँ — शहरी विकास मन्त्री सीता गुरुङले जग्गा मात्र बेचेर अफिस चलाउँछौं भन्ने छुट कसैलाई नभएको बताएकी छन् । बुधबार राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३५ औं वार्षिकोत्सव समारोहमा उनले समयअनुसार उद्देश्य परितर्वत र विकल्पहरुको खोजी गर्न निर्देशन समेत दिइन् ।

आवास कम्पनीलाई मन्त्री गुरुङको निर्देशन- 'जग्गा बेचेर मात्रै संस्था चल्दैन, विकल्प खोज्नू'

आवास कम्पनीले आफूलाई व्यवस्थित र दिगो बनाउन आम्दानीका फरक श्रोतहरुको पहिचान र परिचालन गर्नुपर्ने उनको सुझाव थियो ।

‘सर्वसाधारणलाई सेयर छुट्याउने कुरा छन् । यो आफू आत्मनिर्भर नहुँदा संस्था कहाँ पुग्छ ? अन्तिम गन्तव्य स्थान सफा नहुँदा हामी अलमलमा पर्दछौं । समयअनुसार उद्देश्य पनि परिवर्तन गर्नुपर्ने देखिन्छ । अब पनि हामीले जग्गा मात्र बेच्छौं र हाम्रो अफिस चलाउँछौं भन्यौँ भने त्यो छुट अब छैन । किनकि अब जग्गाको संख्या थपिने होइन, घट्ने अवस्थामा छ,' उनले भनिन् ।

सुकुम्वासी समस्या समाधान र अव्यवस्थित बसोबासको आवास व्यवस्थाका लागि राष्ट्रिय भूमि आयोग बनाइएको भन्दै उनले आवास कम्पनीलाई आयोगको नक्कल गर्न खोजेको हो कि भन्ने प्रश्न उठिरहेकोप्रति सजग गराइन् । कम्पनी र मन्त्रालयकै बीचमा समेत कतिपय कानूनी प्रश्नहरु रहेको भन्दै अब ती प्रश्नहरुलाई समेत नामेट गर्दै जानुपर्ने उनको भनाइ थियो ।

विगतमा भौतिक पूर्वाधार मन्त्रालय मातहतमा रहेको कम्पनी हाल शहरी विकास मन्त्रालय अन्तर्गत रहेको छ । मन्त्री गुरुङले कम्पनीलाई शहरी विकास मन्त्रालयकै सम्पत्तिकारुपमा रहने गरी कानूनी प्रावधान गर्न पहल गर्नुपर्ने बताइन् ।

उनले काठमाडौंमा कम्पनीको आफ्नै भवन नहुँदा समस्या देखिएको भन्दै त्यसतर्फ समेत ध्यानाकर्षण गराइन् ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?