१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कांग्रेस केन्द्रीय सदस्य लामामाथि व्यवसायी अपहरणको आरोप

अपहरण गरी २० करोड फिरौती मागेको घटनामा ललितपुर प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ — ललितपुर प्रहरीले व्यवसायी ज्ञानेन्द्र खड्कालाई अपहरण गरी २० करोड रुपैयाँ फिरौती माग गरेको घटनाको अनुसन्धान थालेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले यससम्बन्धी प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागि फाइल ललितपुर जिल्ला प्रहरी परिसरमा पठाएको हो ।

कांग्रेस केन्द्रीय सदस्य लामामाथि व्यवसायी अपहरणको आरोप

कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा र सहदेव कक्षपतिको समूहले अपहरण गरेको आरोपमा गत माघ २८ मा अपराध अनुसन्धान कार्यालय काठमाडौंमा व्यवसायी खड्काले जाहेरी दिएका थिए । खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूलाई गत पुस २३ मा ललितपुरको धोलाहिटी आदर्श टोलबाट अपहरण गरेर सानेपास्थित लन्डन हाउसमा ८ घण्टा बन्धक बनाएको आरोप लगाएका छन् ।

उनले कांग्रेसका केन्द्रीय सदस्य लामा र कक्षपतिले आफूहरूसँग पुलिस र सीआईबी सबै मिलेको भनी धम्की, डरत्रास देखाएर करकाप गरी फिरौटीस्वरूप २० करोड रुपैयाँको लेनदेनको कागज गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले ‘२०/३० लाख रुपैयाँ खर्च गरेर केटा लगाएर मार्दिन्छु’ भनी धम्कीसमेत दिएको र सुरक्षाका कारण यो विषय सार्वजनिक गर्न ढिला भएको जनाएका छन् । उनले जाहेरी दिएको १० दिनभन्दा बढी बितिसके पनि ठोस रूपमा कारबाही प्रक्रिया अगाडि नबढेकाले सबैलाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् । खड्का ई–कमर्स प्लेटफर्म ग्यापुका संस्थापक हुन् ।

ललितपुर प्रहरी परिसरका एसएसपी शेखर खनालले उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट भर्खर फाइल आइपुगेकाले मिसिल अध्ययनकै क्रममा रहेको बताए । ‘अपहरण तथा शरीर बन्दक मुद्दामा फाइल दर्ता गरेर अनुसन्धान थालेको छु,’ उनले भने ।

कांग्रेसका केन्द्रीय सदस्य लामाले भने व्यवसायी खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले जग्गा पास गरेर १० वर्ष हराएका व्यवसायी ज्ञानेन्द्रले पैसा नतिर्ने नियतले आरोप लगाएको दाबी गरेका छन् । लामाले तीन महिनाभित्र पैसा दिने सर्तमा २०७१ असोज ३० मा ज्ञानेन्द्रकी श्रीमती नानीमैया कार्कीका नाममा धुलिखेलको जग्गा पास गरिदिएको र जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र सम्पर्कविहीन बनेर बसेको उनको आरोप छ । अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उनकी श्रीमतीका नाममा रहेको र त्यही जग्गाका बारेमा कानुनबमोजिम वडामा कागज गरिएको लामाको भनाइ छ । लामाले दोषी ठहरिए कानुनबमोजिमको सजाय भोग्न तयार रहेको तर पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको दाबी गरेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०८० २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?