१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

थापा नेपाली सेनाको रथीमा बढुवा

रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न पुगेका छन् । प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल छन् ।

काठमाडौँ — नेपाली सेनाको रथीमा निर्मलकुमार थापा बढुवा भएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गरेका हुन् । थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । 

थापा नेपाली सेनाको रथीमा बढुवा

रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन् । रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न पुगेका छन् । प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल छन् ।

रथी थापा अहिले संयुक्त राष्ट्र संघको डिसइनगेजमेन्ट अब्जर्भर फोर्स (अनडफ) मिसनमा फोर्स कमान्डरको रुपमा कार्यरत छन् । ललितपुरमा २०२४ सालमा जन्मिएका थापा २०४३ सालमा नेपाली सेनामा भर्ती भएका थिए ।

रथी थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै, पीएसओज (प्रिन्सिपल स्टाफ अफिसर्स) सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह–संयोजकको जिम्मेवारी सम्हालिसकेका छन् ।

अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) तालिम गरेका हुन् । साथै, उनी युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनन तथा कंगोमा शान्ति सेनामा सहभागी भएका थिए ।

प्रकाशित : फाल्गुन ८, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?