२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एमाले बैठकमा नेताहरूको स्वीकारोक्ति- आफ्नै निर्णय कार्यान्वयन हुन सकेन 

काठमाडौँ — नेकपा एमालेले  मुलुकमा देखिएका समस्या, पार्टीभित्रको चुनौतीलाई सामना गर्न लिएका निर्णय कार्यान्वयन हुन नसकेको स्वीकारेको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पेस भएका प्रस्तावमा पार्टीको काम गति लिन नसकेको उल्लेख गरिएको छ ।

एमाले बैठकमा नेताहरूको स्वीकारोक्ति- आफ्नै निर्णय कार्यान्वयन हुन सकेन 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘शुद्धीकरण र सुदृढीकरण’ सम्बन्धी प्रस्तावमा पार्टीको काम प्रभावकारी रुपमा संचालन हुन नसक्न जनतामा विश्वास जाग्न नसकेको उल्लेख छ ।

‘पार्टीले वर्तमानमा देखापरेका चुनौतीहरूलाई सामना गर्ने उद्देश्यका साथ विभिन्न समयमा महत्वपूर्ण निर्णयहरू गर्दै आएको छ । तर दूरगामी महत्व राख्ने त्यस्ता निर्णयहरूको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । पार्टीको नेतृत्वमा भए/गरेका कामहरू जनताका बीचमा राम्ररी प्रचार/प्रसार हुन सकिरहेका छैनन्’ प्रस्तावमा भनिएको छ, ‘पार्टीले बनाएको भविष्यको मार्गचित्रबारे जनतालाई राम्ररी बताउन सकिएको छैन र त्यसआधारमा जनतामा अझै राम्ररी विश्वास जगाउन सकिएको छैन । विचारमा स्पष्टता, सुदृद्ध संगठन, कम्युनिष्ट आचरण र प्रभावकारी जनशैलीको आवश्यकता खट्कँदो छ ।’

अर्का उपाध्यक्ष विष्णु पौडेलले जनआधारित पार्टी निर्माण सम्बन्धी प्रस्ताव, उपमहासचिव शंकर पोखरेलले पार्टी संगठन र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार, जनपरिचालन सम्बन्धी प्रस्ताव बैठकमा पेस गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले बैठकमा बोल्दै गठबन्धन सरकारको चर्को आलोचना गरेका थिए । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनसँग संवाद भएको प्रसंग उल्लेख गदै संक्रमणकालीन न्यायसँग गठबन्धन दलले सौदाबाजी गर्न खोजेको आरोप लगाएका थिए ।

केन्द्रीय सदस्यहरूका नौ समूह विभाजन गरी यी प्रस्तावमाथि बुधबार छलफल हुनेछ ।


प्रकाशित : फाल्गुन ८, २०८० १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?