२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महिला उद्यमशीलता लक्षित नीति कार्यान्वयनका लागि तीनै तहका सरकारलाई दबाब दिइने  

भैरहवा — रुपन्देहीको भैरहवामा आयोजित दुईदिने राष्ट्रिय महिला उद्यमी सम्मेलनले महिला उद्यमशीलता लक्षित नीति कार्यन्वयनका लागि मुलुकका तीनै तहका सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

महिला उद्यमशीलता लक्षित नीति कार्यान्वयनका लागि तीनै तहका सरकारलाई दबाब दिइने  

उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले शुक्रबार र शनिबार यहाँ आयोजना गरेको सम्मेलनले उक्त नीति कार्यान्वयनका लागि महासंघ र त्यसअन्तर्गतका सञ्जाल मार्फत तीनै तहका सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

सम्मेलनले महिला उद्यमशिलताका लागि उपलब्ध गराइने सहुलियतपूर्ण कर्जा रोकिएकोमा उक्त कर्जा पुन: प्राप्तिका लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउने, घरेलु साना तथा मझौला उद्यमहरुको दर्ता र नवीकरणका लागि धेरै निकाय धाउनु पर्ने बाध्यता रहेकोमा त्यसलाई एउटै निकायबाट हुने व्यवस्था मिलाउन माग गरेको छ । सम्मेलनले शनिबार अपराह्न जारी गरेको निष्कर्षमा उद्यमी महिलाका व्यवसायलाई सबल बनाउन उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्नुपर्ने, महिला र पुरुषको समान ज्याला कायम गर्न उचित नियम निर्माणका लागि प्रोत्साहन गर्न नीति निर्माण तहमा निरन्तर संवाद गर्ने निर्णय गरेको छ ।

सम्मेलनले शनिबार १० बुँदे निष्कर्षपत्र जारी गरेको हो । जारी निष्कर्षमा महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजार बिस्तारका लागि सघाउन बाह्रै महिना उपलब्ध हुने गरी संघ, प्रदेश र स्थानीय तहमा प्रदर्शनी र बिक्रीस्थल व्यवस्थाका लागि पहल गर्ने, महिला उद्यमीका लागि उपलब्ध सेवा,सुविधाबारे जानकारी दिन एकद्धार प्रणाली कायम गर्ने, महिलाका लागि स्टार्टअप अनुदानका लागि संघ र प्रदेश सरकारसित माग गर्ने, सबै प्रदेशमा स्टार्टअप इन्कुबेशन केन्द्र स्थापना गर्ने र वित्तिय संस्थासित स्टार्टअप ऋणका लागि संवाद गर्ने निर्णय गरेको छ ।

उक्त सम्मेलनले सन २०२६ मा नेपाल अति कम बिकसित मुलुकबाट स्तरोन्नती हुन गइरहेको अवस्थामा महिलाको उद्यमशीलता र रोजगारीमा नकारात्मक असर पर्न सक्ने भएकाले त्यस्तो प्रभाव कम गर्न अध्ययन, अनुसन्धान र रणनीति तयार पार्नुका साथै विशेष कार्यक्रम घोषणा गर्न सरकारसित पैरवी गर्ने निर्णय गरेको छ । उत्पादनको बजारीकरणका लागि डिजिटल प्रविधिको थप प्रयोग गर्दै स्मार्ट उद्यमी बनाउन महिलाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय सम्मेलनले गरेको छ ।

सम्मेलनमा मुलुकभरिबाट २ सय ५० देखि ३ सय जना महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाको सहभागिता रहेको थियो । महिला उद्यम विकास समितिकी सभापति कमला श्रेष्ठले समितिले पहिलो पटक यो सम्मेलनको आयोजना गरिएको र विभिन्न पाँचवटा सत्रमा महिला उद्यमीको विकासका लागि आवश्यक विषयमा छलफल भएको बताइन । आगामी वर्षमा प्रत्येक वर्ष सातवटै प्रदेशमा सञ्चालन गरिने उनले बताइन । ‘घरयासी कामकाजमै सीमित हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रसस्त हुँदा पनि महिला उद्यमीको रुपमा अगाडि बढ्न सकेका छैनन्,’ श्रेष्ठले भनिन्, ‘उद्यमशीलताका लागि अवसर दिइँदा पनि घरबाट निस्किन नचाहने र निस्कन चाहे पनि एक्लै आउन नचाहने समस्या छ ।’

प्रकाशित : फाल्गुन ५, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?