कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सांसद कार्कीको प्रश्‍न : 'त्रिविको उपकुलपति सर्टलिस्ट गर्दा बौद्धिक चोरीलाई कति नम्बर दिइएको हो ?'

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १४ जनाको सर्टलिस्ट तयार पारिएको छ । शिक्षामन्त्री अशोक राई अध्यक्ष रहेको भिसी सिफारिस समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको छ । यो सूचीमा राजनीतिमा आबद्ध, विगतमा त्रिविको नेतृत्वमा हुँदा अनियमितता गरेको र बौद्धिक चोरीमा समेत संलग्न रहेको भन्दै आलोचना पनि भइरहेको छ । 

सांसद कार्कीको प्रश्‍न : 'त्रिविको उपकुलपति सर्टलिस्ट गर्दा बौद्धिक चोरीलाई कति नम्बर दिइएको हो ?'

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरूले सर्टलिस्ट गरिएका व्यक्तिहरूमाथि प्रश्न उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बौद्धिक चोरी गर्ने व्यक्तिलाई कति नम्बर दिएर सर्टलिस्टमा राखेको भन्दै प्रश्न गरेकी छन् । भिसी छनोट समिति सदस्यसमेत रहेका शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सांसद कार्कीले प्रश्न गरेकी हुन् । 'सिफारिस समितिले योग्यताको आधारमा छनोट गरेको भनेको छ । त्यसरी छनोट गर्दा बौद्धिक चोरीलाई कति नम्बर दिएको हो ?,' उनले प्रश्न गरिन् । त्रिविको नेतृत्वमा रहेको बेला भ्रष्टाचार तथा अनियमितता गरेकोलाई सकारात्मक नम्बर दिएको कि नकरात्मक दिएर १४ जनाको सूचीमा सामेल गरेको भनेर उनले प्रश्न गरेकी हुन् । अहिले सर्टलिस्टमा परेका तीर्थ खनियाँ बौद्धिक चोरीमा परेका व्यक्ति हुन् ।

राजनीतिक दलबाट निर्वाचनमा टिकट नै पाएका व्यक्तिलाई १४ जनाको सूचीमा राखेको पनि कार्कीको भनाइ थियो । 'निर्वाचनमा राजनीतिक दलको टिकट पाएका कसरी छनोट भए ?' उनको प्रश्न थियो । ५-६ जना कांग्रेस, ६-७ जना माओवादी र एमालेमा खुलेआम रूपमा राजनीतिमा लागेकाहरू १४ जनाको सूचीमा रहेको कार्कीको दाबी छ ।

अहिलेका निमित्त उपकुलपतिले पदको दुरुपयोग गरेको तर उनी पनि १४ जनाको सूचीमा रहेको सांसद कार्कीको भनाइ छ । त्यस्तै, पोखरा विश्वविद्यालयले सम्बन्धन दिने क्रममा आर्थिक अनियमितता गरेको भनेर अख्तियारमा मुद्दा खेपेका तथा सूचना लुकाएको आरोपमा सूचना आयोगबाट कारबाही सिफारिस भएका व्यक्तिहरू १४ जनाको सूचीमा परेको भन्दै उनले विरोध गरेकी छन् ।

उपकुलपति नियुक्ति प्रक्रिया फेरि सुरु गर्नुपर्ने सांसद कार्कीले माग गरेकी छन् । गलत इतिहास बोकेकाहरूलाई त्रिविको जिम्मा दिन नहुने उनको धारणा थियो ।

प्रकाशित : माघ २९, २०८० १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?