२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

काजुका बोक्रा आयात गरेर कत्था 

भारत र भियतनामबाट 'क्यासु हस्क' ल्याई नेपालमा कत्था उत्पादन गरी भारत निर्यात 
चित्रांग थापा

धनगढी — कच्चा पदार्थका रूपमा प्रयोग गरिँदै आएको खयर घट्दै गएपछि पान तथा गुट्खामा प्रयोग हुने कत्था उत्पादनका लागि विदेशबाट काजुको बोक्रा (क्यासु हस्क) आयात भइरहेको छ । केही वर्षअघिसम्म स्वदेशकै वनजंगलमा हुने खयरबाट उत्पादित कत्था भारत निर्यात हुने गरेको थियो ।

काजुका बोक्रा आयात गरेर कत्था 

हालका वर्षमा तराईका नदी किनार र भावर क्षेत्रमा खयरको जंगल घट्दै जान थालेपछि कत्था तयार गर्न आवश्यक कच्चा पदार्थ भारतलगायतका देशबाट आयात गर्नुपरेको हो । कत्थाको प्राकृतिक कच्चा पदार्थका रूपमा रहेको खयर लोप हुने क्रमसँगै पान तथा अन्य प्रयोजनका लागि प्रयोग हुने कत्था उत्पादनका लागि क्यासु हस्क भारत तथा भियतनामबाट आयात भइरहेको हो ।

स्वदेशमै प्राकृतिक कच्चा पदार्थ खयर अभाव हुन थालेपछि कत्था उद्योगहरूले काजुको बोक्रा र खयरको रस तयार गरेर कत्था उत्पादन गरिरहेका छन् । नेपालका कत्था उद्योगमा प्रयोग हुने काजुको बोक्रा अधिकांश भारतबाट आयात हुने गरेको छ । यहाँ उत्पादित कत्था धेरैजसो भारतको दिल्ली र उत्तर प्रदेशको कानपुर निर्यात हुने गरेको छ ।

पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर तथा पूर्वको मोरङसम्मका नदीकिनार र चुरेफेदीको भावर क्षेत्रमा खयरको जंगल थियो । व्यवसायीका अनुसार खयरका रुखको बोक्रा ताछेर भित्रको रातो भागलाई पकाएर रस तयार गरी कत्था उत्पादन हुने गरेको थियो । व्यवस्थित तथा ठूला उद्योग सञ्चालन हुनुअघि घरेलु उद्योगकै प्रविधिबाट खयरको वन आसपासका क्षेत्रमा भट्टीमा आगो बालेर ठूलठूला भाँडामा खयरका टुक्रालाई पकाएर रस निकालिने गरिन्थ्यो । त्यही रसबाट तयार हुने कत्था भारतीय बजारमा निर्यात हुने गरेको थियो ।

चुरेफेदीको वन विनाश, बाढीपहिरो, नदीकटान, विकास निर्माणका नाममा जथाभावी खयरका रुख कटान गरिएपछि यसको उपलब्धता घट्दै गएको हो । यसबाहेक बैतडी, डडेलधुरा, अछामको नदी किनार क्षेत्रमा पनि खयरका बोट थिए । त्यहाँबाट बगेर कैलाली, कञ्चनपुरमा संकलन भएको सहित जिल्लामा उपलब्ध ढलापडा खयरको काठलाई वन कार्यालयहरूले लिलाम गर्दै आएका छन् ।

२०३२ सालमा कैलालीको गेटामा सञ्चालन भएको लक्ष्मी कत्था उद्योग जिल्लाकै पहिलो र पुरानो कत्था उद्योग हो । उक्त उद्योगका व्यवस्थापक रोशन कर्णका अनुसार उक्त उद्योग तत्कालीन राजपरिवारका सदस्य धीरेन्द्र शाहले सञ्चालन गरेका थिए । शाहले २०५८ तिर भारत कानपुरका व्यवसायी कैलाशचन्द्र जैनलाई उद्योग बिक्री गरेको व्यवस्थापक कर्णले बताए । जैनले २०६० देखि उद्योग सञ्चालन गर्दै आएका छन् ।

खयर अभाव हुन थालेपछि २०७४ देखि पुरानो उद्योगको स्तरोन्नति गरी काजुको बोक्रासमेत कच्चा पदार्थका रूपमा प्रयोग गरिन थालेको उनले बताए । ‘त्यतिबेला जंगलमा खयर प्रशस्त थियो । प्राकृतिक कच्चा पदार्थको उपलब्धता घट्दै गएपछि ६ वर्षदेखि कत्था उत्पादनमा काजुको बोक्रा पनि प्रयोग गर्न थालेका छौं,’ उनले भने । उद्योगलाई आवश्यक परिमाणमा कच्चा पदार्थ (खयर) उपलब्ध भए बाह्रै महिना सञ्चालन हुने गरेको थियो । खयरको वनक्षेत्र मासिँदै गएपछि वैकल्पिक कच्चा पदार्थका रूपमा काजुको बोक्रा आयात गर्नुपरेको व्यवस्थापक कर्ण बताउँछन् । उनका अनुसार खयरकै अभावमा विराटनगर, भैरहवा, नेपालगन्जलगायतका ठाउँमा रहेका २२ वटा कत्था उद्योगमध्ये अधिकांश बन्द अवस्थामा छन् । हाल भैरहवा र नेपालगन्जमा २/२ र कैलालीमा १ मात्र कत्था उद्योग सञ्चालनमा रहेको उनले बताए ।

कच्चा पदार्थ अभाव र आर्थिक शिथिलताको असर कत्था उद्योगलाई पनि परेको व्यवसायीहरू बताउँछन् । यो उद्योगले पकाएको खयर र काजुको बोक्रालाई चिसो बनाएर बिस्कुट तयार पारेर निर्यात गर्दै आएको छ । देशका अधिकांश उद्योगले भने लिक्विड (झोल) कत्था मात्र निर्यात गर्दै आएका छन् । स्थापनायता १० वर्ष विभिन्न कारणले बन्द रहेको लक्ष्मी कत्था उद्योग भारतीय व्यवसायीले किनेपछि नियमित रूपमा सञ्चालन भइरहेको छ । उद्योगका पुराना कर्मचारी सिमन चौधरीका अनुसार उद्योगमा १ सय २० जना स्थानीयले रोजगारी पाएका छन् । ‘५/६ जना मात्र भारतीय प्राविधिक कर्मचारी छन्,’ उनले भने । काजुको बोक्रासँग मिसाएर तयार गर्ने कत्थाका लागि ३० प्रतिशत खयरको काठ र ७० प्रतिशत क्यासु हस्क आवश्यक पर्ने चौधरीले सुनाए ।

गोदावरी नगरपालिका–५ गेटाको मेडिकल कलेजनजिकै रहेको उक्त उद्योगबाट निस्कने धूवाको मुस्लोले वातावरणमा भने असर पुर्‍याइरहेको स्थानीयको गुनासो छ । सहकच्चा पदार्थका रूपमा काजुको बोक्राको तेल पनि आयात हुने गरेको उनले बताए । सरकारले उद्योग सञ्चालनमा अनुदान सहयोगसँगै आयात निर्यातमा पनि भन्सार महसुलमा सहुलियत दिएको व्यवस्थापक कर्णले बताए ।

‘बैंक ग्यारेन्टीमा कच्चा पदार्थ आयात गर्न पाउने, निर्यातमा प्रतिकिलो ५ रुपैयाँ मात्र राजस्व बुझाउनु पर्ने तथा निर्यात शुल्क एक प्रज्ञापनमा जतिसुकै परिमाण भए पनि ११३ रुपैयाँ मात्र लाग्ने व्यवस्था छ,’ व्यवस्थापक कर्णले भने, ‘गत आर्थिक वर्षमा ३७ करोडको कारोबार भएकामा यो आर्थिक वर्षमा बढ्ने अनुमान छ ।’ क्यासु हस्क २५ देखि ३५ रुपैयाँ भारु प्रतिकिलोमा आयात हुने गरेको छ भने खयर प्रतिक्यूफिट एक हजार रुपैयाँमा यहीँबाट खरिद भइरहेको उनले बताए । उद्योगमा उत्पादित कत्था प्रतिकिलो ७ सय २५ रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । उद्योगले कत्थाको तयारी बिस्कुटसँगै खयरको कस र काजुको बोक्राको तेल पनि निकासी गर्दै आएको छ ।

प्रकाशित : माघ २६, २०८० १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?