२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बुटवल-नारायणगढ सडक विस्तार : कष्ट छल्न वैकल्पिक मार्गमा भीड

स्थानीय मात्र होइन, लामो दूरीबाट घुम्न आउने र आफ्नै सवारीसाधन भएकाहरू अहिले वैकल्पिक मार्गकै भरमा

भैरहवा — पूर्व–पश्चिम राजमार्ग विस्तारमा भइरहेको ढिलाइबाट आजित सवारी चालकले कष्ट छल्न वैकल्पिक मार्गको प्रयोग बढाएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ चार र ६ लेनमा विस्तार भइरहेको छ । तोकिएको समयमा काम पूरा नहुँदा लामो समयदेखि चालक र यात्रुले सास्ती भोगिरहेका हुन् । १ सय १४ किलोमिटर बुटवल–नारायणगढ खण्ड पार गर्न अहिले ६ घण्टा लाग्छ । 

बुटवल-नारायणगढ सडक विस्तार : कष्ट छल्न वैकल्पिक मार्गमा भीड

पछिल्लोपटक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर खण्ड ६ लेनमा विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको छ । जसले गर्दा बुटवल पश्चिमका बासिन्दासमेत उपयुक्त वैकल्पिक मार्गको खोजीमा रहेका बेला कपिलवस्तुको चन्द्रौटाबाट दक्षिण बहादुरगन्ज हुँदै तौलिहवा भएर पूर्व–पश्चिम ओहोरदोहोर गर्नेको संख्या बढेको हो ।

हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडक खण्ड निर्माण भएसँगै यस सडकबाट यात्रा गर्ने बढेका हुन् । अहिले चन्द्रौटाबाट रूपन्देहीको लुम्बिनी, भैरहवा हुँदै पश्चिम नवलपरासी सदरमुकाम परासी भएर भुमहीसम्म यात्रा गर्न सकिन्छ । केहीले भुमही नभएर परासीबाट जिल्लाको भित्री भाग हुँदै बर्दघाटको चौपत्ता हुँदै पूर्व–पश्चिम राजमार्ग निस्किने गरेका छन् । यसले यात्रा सहज बनाएको छ ।

राजमार्गको बुटवल–बर्दघाट खण्ड विस्तार सुस्त गतिमा भइरहेको छ । सडकमा खाडल र धूलो छ । जसले गर्दा बुटवलका बासिन्दा हुलाकी मार्गअन्तर्गत भैरहवा–परासी–चौपत्ता हुँदै बर्दघाट पुग्ने गरेका छन् । केही वर्षअघिसम्म वैकल्पिक मार्गबारे जानकारी नभएकाले धेरैले कष्ट सहेर बुटवल–बर्दघाट खण्डमा यात्रा गर्थे । ‘भैरहवा हुँदै बर्दघाट निस्किन सहज लाग्छ,’ बुटवल–११ का टीकाराम पाण्डेले भने, ‘बुटवलबाट सिधै बर्दघाट कति बेला पुगिन्छ, ठेगान हुँदैन, सडक खराब भएकाले अचेल त मोटरसाइकल, स्कुटर खाल्टामा खस्न थाले ।’ यस्ता निर्माण कार्य गर्दा वैकल्पिक सडक व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । बुटवल–नारायणगढ खण्डमा भइरहेको ढिलासुस्तीले विकास निर्माणप्रति नागरिकमा वितृष्णा जागेको उनले बताए ।

कपिलवस्तुको बहादुरगन्जका मनीष गुप्ताले चन्द्रौटाबाट १० किलोमिटर दक्षिण बहादुरगन्ज भएर गाडी चल्न थालेपछि बजारमा चहलपहल छाएको बताए । पहिले मुलुकका पूर्वी र पश्चिमी क्षेत्रमा यात्रा गर्नुपरेमा बहादुरगन्जका बासिन्दा चन्द्रौटा पुग्नु पर्थ्यो । ‘अहिले घरअगाडिबाटै बस चढ्न पाइएको छ,’ उनले भने, ‘पहिले बहादुरगन्ज–तौलिहवा मात्रै बस चल्थे, अहिले मुलुकभरिबाट यही बाटो भएर गाडी गुड्छन् ।’ हुलाकी सडक स्तरीय नभएका बेला कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत ओहोरदोहोर गर्ने मालवाहक र पर्यटक गाडी चन्द्रौटा हुँदै पूर्वतर्फ लाग्थे । अहिले बहादुरगन्जबाट तौलिहवा, लुम्बिनी, भैरहवा हुँदै जाने गरेको उनले बताए । यसले दूरीसँगै यात्रुको समय बचत भइरहेको उनले बताए ।

पूर्व–पश्चिम सञ्चालन हुने दिवा र रात्रिबस यही मार्ग भएर गुडिरहेका छन् । कपिलवस्तु र रूपन्देहीअन्तर्गत बीचका बजारमा यात्रु ओराल्ने र चढाउनुपर्ने भए मात्रै बस पूर्व–पश्चिम राजमार्ग भएर बुटवल पुग्ने गरेका छन् । बीचबाट यात्रु चढाउन र ओराल्न नपर्ने लामो दूरीका बस वैकल्पिक मार्ग भएर ओहोरदोहोर गर्छन् । कपिलवस्तु सदरमुकाम तौलिहवाका व्यवसायी गोपी शर्माले हुलाकी मार्ग भएर यात्रु, मालवाहक र निजी गाडीको ओहोरदोहोर बढेसँगै मानिसको आवागमन र चहलपहल बढेको बताए । बुटवल–बर्दघाट खण्डको कष्ट छल्न वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए । लगत्तै बुटवल–गोरुसिङ्गे खण्ड ६ लेन विस्तारको काम थालनी हुने भएकाले हुलाकी मार्गमा गाडीको चाप बढ्ने उनले बताए । ‘सडकले नधान्ने अवस्था आउँछ,’ उनले भने, ‘अहिले नै गाडीको चाप धेरै भइसक्यो ।’

उनका अनुसार बहादुरगन्ज–तौलिहवा खण्ड फराकिलो छ । दुई लेन उक्त खण्डले केही हदसम्म गाडीको चाप थेग्न सक्छ । तर, तौलिहवा–लुम्बिनी खण्डमा अत्यधिक गाडीको चाप भएमा दुर्घटनाको जोखिम हुने भएकाले ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । बहादुरगन्जदेखि लुम्बिनीको बीचमा कपिलवस्तुका खुनुवा र कृष्णनगर नाकाबाट आउने मालवाहक र निजी गाडी थपिने भएकाले ट्राफिक अस्तव्यस्त हुन सक्ने उनले औंल्याए । ‘गाडीको ओहोरदोहोरले बजारमा चहलपहल बढेको छ, सुनसान बजार अहिले रातिसम्म जाग्ने गरेका छन्,’ उनले भने, ‘सर्वसाधारणले पनि लामो दूरीको यात्राका लागि घरअगाडिबाटै बस चढ्न पाइरहेका छन् ।’ उनका अनुसार यसअघि पूर्व–पश्चिम राजमार्गका कारण जिल्लाका उत्तरी क्षेत्रमा हुने चहलपहल हुन्थ्यो । वैकल्पिक मार्गको प्रयोगले दक्षिण क्षेत्रमा समेत त्यस्तै रौनक बढेको उनले बताए ।

पश्चिम नवलपरासीबाट भैरहवा आउजाउ गर्ने यात्रु पूर्व–पश्चिम राजमार्ग छाडेर बर्दघाटबाट दक्षिण चौपत्ता हुँदै नारायणचोक पुग्ने गर्छन् । नारायणचोकबाट पश्चिम १३ किलोमिटर हुलाकी सडकको यात्रा गरेपछि सदरमुकाम परासी बजार आइपुग्छ । त्यसपछि २४ किलोमिटरको दूरीमा भैरहवा पुगिन्छ । बुटवल जाने यात्रु पनि सहजताका लागि यही रुट भएर जाने गर्छन् । भित्री सडक भए पनि कालोपत्रे सडक र कालोपत्र नभएको स्थानमा पनि खाडल नभएको कारण यात्रुले वैकल्पिक मार्ग रोजेको बताउँछन् ।

‘पूर्व–पश्चिम राजमार्गमा धूलो र हिलोले हिँडी नसक्नु छ । काम भएको स्थानमा सवारी जाम पनि हुने गर्छ । धूलो र जामको सास्ती खेप्नुभन्दा भित्री सडकमा यात्रा गर्न आनन्द आउँछ,’ बर्दघाटका देवीदत्त पौडेलले भने, ‘हामी स्थानीय मात्र होइन, लामो दूरीमा घुम्न आउने र आफ्नै सवारी भएका अधिकांशले अहिले वैकल्पिक मार्गको बढी प्रयोग गर्ने गर्छन् ।’

बर्दघाटबाट चौपत्ता, नारायण चोक हुँदै जमुनिया बजार, भटौलिया, मनहरी बजार हुँदै परासी पुगिन्छ । अझ छोटो बाटो जान्छु भन्नेहरू बर्दघाटबाट त्रिवेणी सडक हुँदै चौपत्ता बजारबाट जमुनिया निस्किएर हुलाकी सडक हुँदै परासी पनि निस्कन्छन् । हुलाकी मार्गको भटौलिमायामा चौधरी खाजा पसल सञ्चालन गर्दै आएका रवीन्द्र चौधरीका अनुसार पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा हुलाकी सडकको प्रयोग बढेको छ । जसका कारण यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटकीय क्षेत्रको समेत प्रचार भएको छ ।

‘मुख्य राजमार्गमा यात्रा गरिसक्नु छैन,’ उनले भने, ‘हुलाकी सडकमा केही स्थानमा कालोपत्र नभए पनि अधिकांश कालोपत्र भएको छ । भित्री सडक प्रकृतिको आनन्द लिँदै यात्रा गर्न रमाइलो हुने भएकाले निजी सवारी साधन भएकाले यो सडकको प्रयोग बढी गर्छन् । सार्वजनिक सवारीले पनि सडक अवरुद्ध हुँदा यही सडकको प्रयोग गर्ने गर्छन् ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख बजिरसिंह विष्टले बर्दघाटबाट दक्षिण हुलाकीमार्ग भएर सिधै चन्द्रौटा हुँदै ओहोरदोहोर गर्ने सवारीका साधन बढेकाले सडकमा ट्राफिक बढेको बताए । पूर्व–पश्चिम राजमार्ग विस्तारको कामले यात्रा असहज हुन थालेपछि दक्षिणका सडकको प्रयोग बढेको उनले बताए ।

पश्चिमका महेन्द्रनगर, धनगढी, नेपालगन्जबाट लामो दूरीमा चल्ने गाडी हुलाकी मार्ग हुँदै ओहोरदोहोर गरिरहेका छन्,’ उनले भने, ‘बुटवललगायत राजमार्गका सहरमा यात्रु चढाउन र ओराल्न पर्ने भएमात्रै बुटवल हुँदै पूर्व–पश्चिम जान्छन् । नत्र वैकल्पक मार्ग प्रयोग गर्छन् ।’ अधिकांश मालवाहक र निजी गाडीले वैकल्पिक मार्ग प्रयोग गरिरहेको उनले बताए । नयाँ बाटोमा ट्राफिक बढेपछि रूपन्देहीका धकदही, बेथरी, भैरहवा र लुम्बिनीमा ट्राफिक प्रहरी परिचालन गरेर व्यवस्थापनको काम भइरहेको उनले बताए ।

दाउन्नेको विकल्प ‘नयाँ सडक’

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो समयदेखि हिउँद होस् या वर्षा यात्रुलाई सताउने गर्छन् । सडक विस्तार गर्न लागिएकाले यो खण्ड चालक र यात्रुको टाउको दुखाइ बन्दै आएको छ । अहिले यसको विकल्पका रूपमा पश्चिम नवलपरासीको बर्दघाटमा सडक निर्माण सुरु भएको छ ।

बर्दघाट नगरपालिकादेखि गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबास जोड्ने गरेर सडक निर्माणको काम सुरु भएको हो । बर्दघाट–१० देखि पहाडी क्षेत्र जोड्नका लागि पहुँच मार्गका रूपमा विस्तार गर्न लागिएको यो सडक निर्माण सुरु भएपछि दाउन्ने सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग हुनेछ । दाउन्ने खण्डमा पहिरो तथा अन्य कारणले सडक अवरुद्ध हुँदा घण्टौं जाम हुने समस्याबाट छुटकाराका लागि यो सडकलाई बहुवर्षीय योजनाका रूपमा पक्की सडक निर्माण गर्न लागिएको हो ।पहाडी बाटोमा वर्षामा भलपानी र पहिरोले सडक बगाउने तथा हिउँदमा समेत सुक्का पहिरो जान थालेपछि सवारी सञ्चालनमा समस्या हुँदै आएको छ ।

बर्दघाट नगरपालिकाको विकट पटुके बस्तीका स्थानीयलाई नगरपालिकाको केन्द्रसम्म पहुँच पुर्‍याउनका लागि केही वर्षअगाडि कच्ची सडक निर्माण गरिएको थियो । अहिले त्यही सडकलाई पक्की निर्माण गरेर वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न लागिएको हो ।

बर्दघाट–१०, भुताहादेखि विनयी त्रिवेणीको दुम्कीबाससम्म १४ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ । चालु आर्थिक वर्षमा ४ किलोमिटर सडक निर्माणको काम हुनेछ । बाँकी निरन्तर रूपमा सडक निर्माणलाई अगाडि बढाइने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए । ‘नगरपालिकाभित्रकै सेवाग्राही नगरपालिकाको केन्द्रसम्म आउन कठिनाइ भएको अवस्था थियो । अब यो सडकले नगरबासीलाई मात्र होइन, लुम्बिनी र गण्डकी प्रदेशलाई नै जोड्ने काम गर्नेछ,’ उनले भने, ‘दाउन्ने सडकको विकल्प अत्यावश्यक थियो, सडकलाई लुम्बिनी र गण्डकी प्रदेश जोड्ने फास्ट ट्र्याकका रूपमा समेत लिइएको छ ।’

प्रकाशित : माघ १८, २०८० ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?