२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

विद्युत् व्यापारको दीर्घकालीन ढोका खुल्यो : प्रधानमन्त्री दाहाल

टीकाप्रसाद भट्ट

रामेछाप — प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयको प्रतिक्षापछि विद्युत्‌को दीर्घकालीन व्यापारको लागि ढोका खुलेको बताएका छन् । भारतसँग बिहीबारमात्र नेपालबाट १० वर्षमा १० हजार मेघावाट विद्युत् व्यापारको सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्झौताले भारतमा मात्र नभई बंगलादेशमा विद्युत् व्यापारको समेत ढोका खुलेको बताए । 

विद्युत् व्यापारको दीर्घकालीन ढोका खुल्यो : प्रधानमन्त्री दाहाल

रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बेथानलाई नेपालको परिवर्तनका लागि विरताको गाथा बोकेको स्थानको रुपमा चर्चा गरे । उनले पुष्पलालको जन्मस्थान रामेछापको भंगेरी र बीपीको जन्मस्थान दुम्जामा राजनीतिक पर्यटनस्थलको रुपमा विकास गरिने पनि बताए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनेलगायत विकास निर्माणका कार्यलाई अग्रगतिमा लैजानका लागि वर्तमान गठबन्धनमा कुनै समस्या नहुने बताए । उनले भने, 'सानो दु:ख र प्रयासले गठबन्धन बनेको होइन, वर्तमान गठबन्धन कुनै पनि हालतमा टुट्दैन ।'

दाहालले एक वर्षको अवधिमा सरकारले आर्थिक, सामाजिक क्षेत्रमा उल्लेख गर्न लायक काम गरेको दाबी गरे । संविधान कार्यान्वयनका लागि सरकारले आवश्यक संघीय ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउने उनको भनाइ थियो ।

दाहालले मध्यपहाडी लोकमार्गको बाँकी कामका साथै रामेछापको विकासका लागि संघीय सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिए । उनले सिंहदरबारको अधिकारको गाउँमा आएको कुरा सेवामा नागरिकले पाउने परिवर्तनबाट मात्र देखिने भएकाले जनताको घरदैलोमा रहेको स्थानीय सरकारले सेवा प्रवाहमा गुणस्तरता कायम गरी विकास निर्माणमा ध्यान दिन आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ, वाग्मती प्रदेशका सदस्य युवराज चौलागाई र आनन्दकुमार श्रेष्ठले रामेछापमा विकास निर्माणका कार्यक्रम संचालन गरिदिन ध्यानाकर्षण गराएका थिए ।

करिब ३ करोड ४८ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण भएको गाउँपालिकाको सुविधासम्पन्न भवनमा १० कार्यालय कोठा र सभाहल रहेका छन् ।

प्रधानमन्त्री दाहालले बिहीबार नै सुनापतिको बेथानस्थित पानीघाटमा निर्मित सहिद पार्कमा २०५३ पुस १९ गते बेथान प्रहरी चौकी आक्रमणको क्रममा मारिएका ३ जना माओवादी कार्यकर्ताको सालिकमा माल्यार्पण गरेका थिए । माओवादीले पुस १९ लाई विरता दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित : पुस १९, २०८० १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?