१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घानाबाट स्वदेश फर्किए उपप्रधानमन्त्री खड्का

सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिकहरू सदैव संवेदनशील रहँदै आएका छन्- उपप्रधानमन्त्री खड्का

काठमाडौँ — अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का स्वदेश फर्किएका छन् ।

घानाबाट स्वदेश फर्किए उपप्रधानमन्त्री खड्का

मंसिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीहरूको सहभागिता थियो ।

सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघको सुधार प्रयासमा नेपाल सधै सकारातमक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको बताएका थिए । उनले सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिकहरू सदैव संवेदनशील रहँदै आएको कुरा सम्मेलनमा जानकारी दिएका थिए । नेपाल सरकारले संयुक्त राष्ट्रसंघको आह्वानमा बिना कुनै शर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनले बताएका थिए ।

नेपाली शान्ति सैनिक अनुशासन एवम् कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुर्व्यवहारप्रति नेपालले शून्य सहनशीलता नीति अबलम्बन गर्दै आएको पनि स्पष्ट पारेका थिए ।

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्दै हालसम्म भएका कामको समीक्षा गरेको छ । सम्मेलनले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने मार्ग निर्धारण गरेको छ भने सदस्य राष्ट्रहरूको तर्फबाट यस कार्यमा सहयोगसम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

‘पीस बिगिन्स विथ मी’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । सम्मेलनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिएको थियो ।

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र संघका विभिन्न शान्ति मिसनहरुमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिँदै आएको छ । हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली शान्ति सैनिक कार्यरत छन् । अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ । हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न शान्ति मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकको निधन भएको छ भने ६६ जना घाइते भएका छन् ।

सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र संघले विशेष महत्व दिँदै सराहना गरेको थियो । उपप्रधानमन्त्री खड्का मंसिर १७ गते राति घाना गएका थिए भने आइतबार बिहान स्वदेश फर्किएका हुन् ।

प्रकाशित : मंसिर २४, २०८० १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?