२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका सिटौला र श्रेष्ठको दौडधुप

संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले राष्ट्रिय सभाका अध्यक्षमा सभापति देउवाको समेत विशेष चासो
कुलचन्द्र न्यौपाने

काठमाडौँ — राष्ट्रिय सभाको अध्यक्ष बन्न कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने ६ सदस्यीय परिषद्को सदस्यसमेत रहने भएकाले विशेष रुचि राख्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवा भने दुई जनामध्ये कसलाई अघि बढाउने भन्नेमा मौन छन् । निर्वाचनपछि मात्रै देउवाले औपचारिक रूपमा मुख खोल्ने उनीनिकट नेताहरू बताउँछन् ।

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका सिटौला र श्रेष्ठको दौडधुप

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासहित २० सांसदको अवधि आगामी फागुन २० बाट सकिँदै छ । म्याद सकिनुभन्दा एक महिनाअगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधानबमोजिम रिक्त स्थान पूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदै छ । अध्यक्ष बन्नकै लागि श्रेष्ठ र सिटौलाले राष्ट्रिय सभामा सांसद हुने चाहना राखेका छन् । २० सांसदमध्ये १९ जना निर्वाचनबाट र १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।

संविधान जारीपछिका दुई संसदीय निर्वाचनमा पराजय बेहोरेका सिटौलाले जीवनको उत्तरार्द्धमा सक्रिय राजनीतिबाट सम्मानजनक बहिर्गमन खोज्दै आएका छन् । त्यसका लागि राष्ट्रिय सभा अध्यक्ष उपयुक्त अवसर भएको भन्दै उनीनिकट नेताहरूले समेत सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्न सुझाउँदै आएका हुन् ।


१९ सिटका लागि हुने निर्वाचनमा सत्तारूढ दलहरूले चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । तर, सिट भागबन्डाको विषयमा आगामी सातादेखि छलफल हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । उनका अनुसार सत्तारूढ दलबाट रिक्त हुने संख्या कायम राखेर प्रमुख प्रतिपक्ष एमालेको सिटमा भागबन्डा हुनेछ । राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र १ गरी १९ पद रिक्त हुँदै छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी विमला राई पौड्याल एमाले नेतृ हुन् । उनको समेत गर्दा एमालेबाट रिक्त हुने ९ सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने गरी अनौपचारिक छलफल भइरहेको छ ।

कांग्रेस महामन्त्री शर्मा सरकारको नेतृत्व माओवादीले गरेको, प्रतिनिधिसभामा एमालेबाट सभामुख रहेको अवस्थामा शक्ति सन्तुलनको हिसाबले पनि संवैधानिक परिषद्मा कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पाउनेमा शंका नभएको बताउँछन् । ‘प्राकृतिक रूपमै कांग्रेसले अध्यक्ष लिन्छ,’ उनले भने । पार्टीको आन्तरिक शक्ति संघर्षमा फरक कित्तामा उभिए पनि महामन्त्री शर्मा यस पटक सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन सकारात्मक देखिएका छन् । ‘सिटौला दाइ आफैंले इच्छा राख्नु होला भन्ने मलाई लागिरहेको छैन, तर आउन चाहनुहुन्छ भने म उहाँको पक्षमा उभिन्छु । मेरो प्रस्ट र पूर्ण समर्थन हुनेछ,’ शर्माले भने, ‘शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको र त्यसैको बाँकी काम पूरा गर्ने भूमिकामा समेत जोडिने गरी राष्ट्रिय सभाको अध्यक्ष हुनु विल्कुलै सकारात्मक कुरा हो । उहाँले चाहना राख्नु भएन भने पनि हामीले ल्याउने कोसिस गर्नुपर्छ ।’

दोस्रो संविधानसभामा मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौला त्यसपछि भएका ०७४ र ०७९ को संसदीय निर्वाचनमा पराजय भएपछि उनको राजनीति यात्रामा ठूलो धक्का पुर्‍याएको थियो । पार्टीभित्रै पनि सिटौला शक्तिहीन बन्दै गएका छन् । तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी भएर सिटौलाले पार्टीभित्र तेस्रो धारको बीजारोपण गरेका थिए । संसदीय निर्वाचनको हार र प्रभावशाली युवा नेताहरू महामन्त्री गगन थापा र केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ पाउन छाडेपछि सिटौला नेतृत्वको तेस्रो धारको अस्तित्व संकटमा पर्दै आएको छ । तर थापा र पौडेल पनि सभापति देउवासँगको सहकार्यमा अघि बढ्न थालेपछि सिटौलाको साथ छोडे ।

एक वर्षअघिको संसदीय निर्वाचनबाट पराजित हुनासाथ सिटौला राष्ट्रपति बन्ने दौडधुपमा पनि लागे । तर सत्ता गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने सहमत भएपछि सिटौलाले हात झिके । सिटौलानिकट पूर्वमन्त्री भीमसेन दास प्रधान त्यतिबेलै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन आश्वासन दिइएको दाबी गर्छन् । प्रधानले भने, ‘तर पार्टीको केन्द्रीय कार्यसमिति वा पदाधिकारी बैठक बसेर निर्णय गर्नुपर्छ । तत्कालै निर्णय भएन भने धेरैको चलखेल हुन सक्छ । निर्णय गर्दा सबैको प्याकेजमै निर्णय होस् भन्ने चाहना उहाँमा छ ।’

सिटौलानिकट उद्धव थापाका अनुसार राष्ट्रिय सभाको अध्यक्षका लागि सिटौलाले आफ्नो समूहमा रहेका नेताहरूसँग छलफल गरिरहेका छन् । ‘सिटौला दाइ अहिले सरसल्लाहमै हुनुहुन्छ । अहिलेको राजनीतिक परिस्थिति, संविधान कार्यान्वयनमा चुनौती, राजनीतिक दलहरूबीच गर्नुपर्ने समन्वयात्मक भूमिकाका लागि उहाँ जतिको मान्छे अरू हुन सक्दैन । सबैको सोच पनि उहाँ नै हुनुपर्छ भन्नेमा छ । माओवादीको पनि समर्थन छ ।’ कोशी प्रदेश कांग्रेसका सभापतिसमेत रहेका थापाले भने, ‘हामीजस्तै सहयोगी र शुभचिन्तकसँग सल्लाह मागिरहनुभएको छ । हामीले तपाईं जतिको मान्छे बाहिर बस्नभन्दा जान राम्रो हुन्छ भनेर सुझाव दिएका छौं । उहाँको पनि इच्छा त्यस्तै छ ।’

अध्यक्षकै लागि भनेर पार्टीका पूर्वउपसभापति समेत रहेका गोपालमान श्रेष्ठले लबिइङ गरिरहेका छन् । श्रेष्ठ समानुपातिकबाट सांसद हुन नसकेपछि राष्ट्रिय सभामा आउन लागेका हुन् । उनको नाम समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरमा एक नम्बरमा थियो । तर सभापति देउवाले खसआर्यबाट प्रकाशरण महतलाई बनाएपछि श्रेष्ठ प्रतिनिधिसभाको सांसद हुने रिङबाट बाहिरिए । राष्ट्रिय सभा अध्यक्ष हुनकै लागि उनले दुई महिनाअघि समानुपातिक सूचीबाट आफ्नो नाम पनि हटाएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म नाम हटाएमा समानुपातिक सूचीमा रहेकाहरू पनि राष्ट्रिय सभाका सदस्यका लागि उम्मेदवार बन्न सक्नेछन् । समानुपातिक सूचीबाट नाम हटाउन पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयसहित आयोगमा पत्र पठाउनुपर्छ । ‘प्रदेश र प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेको कुनै पनि व्यक्ति नाम नहटाएसम्म वडाको उम्मेदवार पनि हुन पाउँदैन । एउटै व्यक्ति दुईतिर उम्मेदवार हुन पाइँदैन भन्ने संवैधानिक व्यवस्था नै छ,’ थपलियाले भने, ‘राष्ट्रिय सभामा उम्मेदवार हुन आकांक्षीहरू अहिले भकाभक सूचीबाट नाम हटाउन आउनुभएको छ ।’

श्रेष्ठले पार्टी फुट्दा र शाही आयोगले पक्राउ गरेर जेलमा राखेका अप्ठ्यारो दिनमा पनि देउवालाई काँध थापेर साथ दिएको तर्क गर्दै राष्ट्रिय सभाको अध्यक्षमा आफूलाई पार्टीले लैजाने विश्वास गर्छन् । ‘०४८ सालदेखि संसदीय अनुभव छ । संविधानसभाको दुई–दुई चोटिको अनुभव छ । भिजन छ । काम गर्ने इच्छा शक्ति छ । स्वस्थ छु । रोगी छैन,’ उनले कान्तिपुरसँग भने, ‘यसका लागि मेरो अर्जुन दृष्टि पनि छ, मेरो प्रतिस्पर्धीमा पार्टीबाट अरू देखेको छैन । सभापतिजीले विवेक पुर्‍याउनुहुन्छ भन्ने लाग्छ ।’

पार्टीभित्रै एकथरी नेताहरू संघीय संसद्मा अल्पसंख्यक मुस्लिमको प्रभावपूर्ण प्रतिनिधित्व नभएकाले पार्टीका सहमहामन्त्रीसमेत रहेका फरमुल्ला मन्सुरलाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउनुपर्ने तर्क अघि सारेका छन् । गठबन्धनका कारण टिकट नपाएपछि मन्सुर समानुपातिक सूचीमा थिए । उनको पनि समानुपातिकबाट सांसद हुन वञ्चित बनाएपछि राष्ट्रिय सभामा लैजानुपर्ने मत छ । तर, मन्सुर भने राष्ट्रिय सभाको अध्यक्ष हुन श्रेष्ठ र सिटौला अघि सरेमा आफ्नो समर्थन दुईमध्ये जुन भए पनि हुने बताउँछन् । ‘उहाँहरू दुई जना अघि बढ्नुभयो भने म छाड्छु । मेरो चाहना उहाँहरूमध्ये एक जना होस् भन्नेमै रहन्छ,’ उनले भने, ‘तर पार्टीमा ठोस रूपमा यस विषयमा छलफल भने भइसकेको छैन ।’

प्रकाशित : मंसिर २४, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x