१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

उपरथी सिग्देलको जन्ममिति पनि केरमेट

नागरिकता, एसएलसी र त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन र केरमेट गरिएका दस्ताबेजका आधारमा अनुसन्धान गर्न माग

काठमाडौँ — नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गरिए पनि उनको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिएर किनारा लागेका छन् । तर, अर्का उपरथी अशोक सिग्देलले पनि जन्ममिति सच्याएको भन्दै अख्तियारमा उजुरी परेको छ, अख्तियारले लेखी पठाए पनि रक्षाले बेवास्ता गरेको छ । 

उपरथी सिग्देलको जन्ममिति पनि केरमेट

शैक्षिक प्रमाणपत्रको उमेर केरमेट गरिएको र त्यहीअनुसार नागरिकताको पनि प्रतिलिपि लिएर नयाँ उमेर कायम गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । जिल्ला प्रशासनको नागरिकता, एसएलसी र त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन र केरमेट गरिएका दस्ताबेजका आधारमा अनुसन्धान गरी सिग्देलले दाबी गरेको उमेर साँचो भए ठहरिए मात्र उनलाई सेनामा बढुवा गर्न र गलत ठहरिए कारबाही गर्न माग गरिएको छ ।

सिग्देलले दाबी गरेको उमेर विवरणमा प्रश्न उठाउने विभिन्न दस्ताबेज अहिले सार्वजनिक भएका छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थायी ठेगाना भएका सिग्देलले २०३९ मा एसएलसीका लागि फाराम भर्दा आफ्नो जन्ममिति २०२१ चैत १९ जनाएका थिए । परीक्षा नियन्त्रण कार्यालयमा अभिलेख रहेको सिम्बोल नम्बर ८८०५९ डब्लूमा पनि यही उमेर कायम छ । तर, पछि सेनामा भर्ती हुने उमेर कटिसकेको भेटिएपछि उनले जन्ममिति दुई वर्ष घटाएको देखिन्छ । क्याम्पस प्रशासनको सिफारिसमा उमेर दुई वर्ष घटाएर जन्ममिति २०२३ चैत १९ कायम गराएका थिए । रजिस्ट्रेसन नम्बर ७०८–८४ मा कायम उनको दस्ताबेजमा यही उमेर देखिन्छ ।

सेनामा भर्ती भएपछि सिग्देलले जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिएका थिए, जसमा उमेर दुई वर्ष घटाइएको थियो । रूपन्देही स्थायी ठेगाना भएका सैनिक अधिकारीले दुर्गम जाजरकोटबाट प्रतिलिपि लिई उमेर सच्याएको विषयमा पनि अनुसन्धानको माग गरिएको छ ।

सम्बन्धित समाचार :

सेनामा सधैं उमेर विवाद

सरकारी दस्ताबेज नै तलमाथि गरिएकामा २०७६ साउन ३० मा जन्ममिति तेस्रोपटक फेरिएको भेटिएको छ । क्याम्पसको अभिलेखमा उनको जन्ममिति २०२३ चैत १९ लेखिएकामा केरमेट गरी २०२३ माघ १९ बनाइएको छ । प्रमाणपत्र र स्नातक तहमा समेत जन्ममिति पुरानै थियो ।

३३ वर्षपछि उमेर सच्याउनुपर्ने कारण के हो ? त्यसको नियत र आधार के हो ? प्रश्न उठेको छ । सच्याइएको २०२३ चैत १९ को जन्ममितिका आधारमा उनले २०३९ फागुनमा सञ्चालित एसएलसी परीक्षा दिँदा तत्कालीन नियमअनुसार १६ वर्ष नपुग्ने देखिने हुँदा फेरि उमेर दुई महिना बढाएर माघमा सारिएको उनका सहपाठीहरूको दाबी छ । त्यसैले उमेर पहिले दुई वर्ष घटाएकामा फेरि दुई महिना बढाइएको उनीहरूको भनाइ छ ।

‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति २०२१ चैत १९ रहेको छ । तर, १९ माघ २०२३ कायम गराएर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन्, उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,’ अख्तियारमा परेको निवेदनमा लेखिएको छ ।

सम्बन्धित समाचार :

उमेर विवाद र सहायक रथीको पदावधि थपबारे बोले प्रधानसेनापति

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले उक्त निवेदन यसअघि नै सम्बन्धित निकायमा (रक्षा मन्त्रालय) मा पठाइसकेको जानकारी दिए । ‘सेनाको विषय हाम्रो मातहतमा पर्दैन । त्यसैले सम्बन्धित निकायमा पठाइदिएका छौं,’ उनले भने । यो विषयमा प्रतिक्रिया दिन सिग्देल उपलब्ध भएनन् ।

अख्तियारमा परेको निवेदनमा सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीहरूविरुद्ध जंगीअड्डाले कठोर नीति नलिँदा माथिल्लो पदसम्म पुग्न नक्कली प्रमाणपत्र र नागरिकता किर्ते गर्नेहरू बढ्दै गएको र सेनाको छवि पनि धूमिल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । यस्तो गम्भीर दण्डनीय कार्यविरुद्ध समयमै छानबिन गरी कारबाही नगर्ने हो भने सेनाभित्र किर्ते र नक्कलीहरूको बाहुल्य बढ्दै जाने र यसले राम्रा तथा योग्य सैनिक अधिकारीहरूको वृत्ति विकासमा असर पर्ने उल्लेख छ । ‘यसकारण सिग्देललगायतका सैनिक अधिकारीहरूको नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि छानबिन गरी कारबाही गरिपाउँ भनी यो निवेदन पेस गरेका छौं,’ निवेदनमा भनिएको छ ।

प्रकाशित : मंसिर २४, २०८० ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?