कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘हामी पहल गरिरहेका छौं मात्रै भन्छन्’

हमास समूहको अपहरणमा परेका विपिन जोशीका परिवार छोराको खबर नपाउँदा चिन्तित 
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए । उनीहरूको एउटै उद्देश्य थियो, काठमाडौंबाट आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर इजरायलबाट हमास समूहले बन्धक बनाएका छोरा विपिनको रिहाइका लागि आग्रह गर्ने र सरकारी पहलबारे बुझ्ने ।

‘हामी पहल गरिरहेका छौं मात्रै भन्छन्’

स्थानीय नेताहरूको समन्वयमा उनले प्रधानमन्त्री दाहाललाई त भेटे तर जवाफ भने पुरानै पाए । यस्तै जवाफ उनीहरूले तीन–तीन पटक परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्दा पाएका थिए ।

‘पहल गरिरहेका छौं, हामी तपाईंहरूभन्दा बढी चिन्तित छौं यस्तै कुरा भन्नुभयो,’ जोशीले भने, ‘दुई महिनादेखि जहाँबाट पनि यस्तै कुरा आउँछ तर छोराको अवस्था अझै पत्ता लागेको छैन ।’ प्रधानमन्त्री दाहालले सबैतिर सक्दो पहल भइरहेको र छिट्टै विपिन रिहाइ हुने आश्वासन दिए पनि आफू ढुक्क हुन नसकेको उनले बताए ।

हमास समूहले विपिनलाई बन्धक बनाएपछि जोशी परिवारले पाएको सास्ती र दौडधुपको हिसाबकिताब छैन । एक साताअघि मात्रै उनीहरूले जोशी परिवारले परराष्ट्रमन्त्री साउदलाई गृह जिल्ला आएकै बेला महेन्द्रनगरमै भेटेका थिए । त्यतिबेला पनि उनीहरूले यस्तै प्रतिक्रिया पाएका थिए ।

‘जसलाई भेटे पनि उही कुरा दोहोरिन्छ तर अहिलेसम्म हाम्रो छोराको अवस्थासमेत जानकारी छैन,’ जोशीले भने, ‘मन्त्रीदेखि प्रधानमन्त्रीसम्म जहाँबाट पनि रेडिमेड जवाफ मात्रै आउँछ ।’ कहाँबाट कसरी पहल भइरहेको छ भन्ने विषयमा समेत कुनै जानकारी नपाएको उनले बताए । कम्तीमा भइरहेको पहलबारे जानकारी दिएमा चित्त बुझाउन सकिन्थ्यो कि भन्ने आस उनले सुनाए ।

जोशी परिवारले मन्त्री साउदलाई दुई पटक गृह जिल्लामै र एक पटक मन्त्रालयमै पुगेर भेटिसकेका छन् । ‘विपिन सकुशल छ, हामी ल्याउँछौं भन्छन्,’ जोशी भन्छन्, ‘तर, यस्तै रेडिमेड जवाफ कहिलेसम्म पाउने हो ?’

असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गरेर जोशीसहित विभिन्न देशका नागरिकलाई बन्धक बनाएको थियो । आक्रमणपछि बेपत्ता भएका जोशी हमास समूहको नियन्त्रणमा रहेको एक महिनापछि मात्रै इजरायल सरकारले पुष्टि गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० जना विद्यार्थीको हमास समूहको आक्रमणमा परी मृत्यु भएको थियो ।

मंसिर पहिलो साता इजरायल र हमास समूहबीच अस्थायी युद्धविराम हुँदा जोशी परिवारमा केही आशा पलाएको थियो । हमासले बन्धक बनाएका विभिन्न देशका सय जना बढी नागरिक छाडिए पनि जोशीको रिहाइ भएन । मंसिर दोस्रो साताबाट दुवै पक्षबीच युद्ध सुरु भएपछि जोशी फेरि निराश बनेका छन् ।

इजरायलसँग परराष्ट्रमन्त्रीको संवाद

परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि इजरायल सरकारका प्रतिनिधिसँग संवाद थालेका छन् । उनले इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिका विषयमा हेर्ने संयोजक गल हर्चसँग शुक्रबार कुराकानी गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने अथक प्रयासकै निरन्तरता स्वरूप संयोजक हर्चसँग टेलिफोन संवाद भएको हो । संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत यकिन गरिदिन, जोशीलाई सुरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरे ।

परराष्ट्रमन्त्री साउदले नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि बताए । जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरे । यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास जारी रहेको उनको भनाइ थियो ।

मन्त्री साउदले यसअघि मंसिर ८ कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनले मंसिर ७ मा इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले मंसिर २४ बाट सुरु हुने २१ औं दोहा फोरममा सहभागिता जनाउने क्रममा कतारमा हुने उच्चस्तरीय भेटमा पनि जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने बताए ।

प्रकाशित : मंसिर २३, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?