१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

यही अवस्थामा बुढीगण्डकी नेपाल आफैंले बनाउने कुरा सम्भव देखिँदैन : ओली

गोरखा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले बुढीगण्डकी आयोजना नेपालको लागि फाइदा हुने गरि जुन मुलुकले लगानी गर्छ त्यसैलाई बनाउन दिनुपर्ने बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राको क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै ओलीलले यही अवस्थामा नेपालले केही समय आफैं बनाउने भन्ने कुरा सम्भव नदेखिएको बताए । 

यही अवस्थामा बुढीगण्डकी नेपाल आफैंले बनाउने कुरा सम्भव देखिँदैन : ओली

‘नेपालको कुनै पनि परियोजना नेपालका लागि फाइदा हुने गरी जुन देशले लगानी गर्छ त्यसैलाई बनाउन दिऊँ, नेपालले फाइदा जहाँ पाउँछ त्यहीबाट लिन्छ,’ उनले भने,‘एउटा देशलाई, एउटा छिमेकीलाई दिन नहुने अर्कोलाई दिन हुने, अपर कर्णाली नबनाएको १५ वर्ष भयो फेरि अर्को आयोजना पनि उसलाई दिनुपर्ने ?’

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बुढीगण्डकीको विषयमा आफूले संसद्मै प्रश्न गरेको ओलीलले बताए । ‘शेरबहादुर जीले हामी आफैं बनाउँछौं भन्नुभयो, पैसा छ र भन्दा मज्जाले पैसा छ भन्नुभयो, त्यसो भए किन नबनाउनु भएको त?,’ उनले प्रश्न गर्दै भने,‘कर्मचारीलाई तलब खुवाउन आन्तरिक ऋण उठाइरहनुभएको छ, बुढीगण्डकी बनाउन पैसा छ भनेर धाक लगाइदिहाल्नुभयो, फेरि प्रधानमन्त्रीको धाक, अहिलेसम्म अलपत्र छ ।’

अहिलेको अवस्थामा आगामी केहि वर्षसम्म बुढीगण्डकी आफैं बनाउने भन्ने कुरा सम्भव नदेखिएको उनले बताए । ‘त्यति सम्भव देखिँदैन, सभव हुने खालको कुरा गर्नुपर्छ, कर्णालीमा बनेको ४८० मेगावाटको आयोजना हामीले बनाउन सकेनौं, यो बनाउन सक्छौं भन्नु उचित हुँदैन,’ उनले भने ।

बुढीगण्डकी आयोजना सफल बनाउनुपर्ने ओलीलले बताए । मुआब्जा वितरण भइसकेको र जमिन सरकारको स्वामित्वमा आइसकेको अवस्थामामा आयोजना अगाडी बढाउनुपर्ने उनले बताए । ‘ठूलो भु–भागको मुआब्जा दिइसकेका छौं, त्यो जमिन सरकारले के गर्छ, खोला किनारमा धान, मकै गहुँ, तोरी खेती गर्छ ? डुबाउनकै लागि किनेको होला, विद्युत निकाल्न पर्‍यो, यस विषयमा हाम्रो ध्यान गएको छ ।’

यहाँको स्थानीय विषय पनि भएकाले यसमा स्थानीयले सहयोग पुर्‍याउनुपर्ने ओलीको भनाइ छ । ‘सरकारले अधिग्रहण गरेको जमिन ढिला भयो भनेर कब्जा गर्न हुँदैन, कही कस्तो छ भने ढिला भयो भने कब्जा गर्ने बस्ने, ठाउँ छैन भन्ने, अर्को समस्या निम्तने, झमेला प्रस्तुत गर्ने परिपाटी पनि छ,’ उनले भने,‘जलाशययुत्त आयोजना नडुबेसम्म अहिलेलाई खेती लगाएर खान हुन्छ, बाँझो राखिराख्नुपर्ने आवश्यकता छैन, सरकारले । अहिले यो जग्गाबाट लाभ लिन सकिन्छ, लाभ लिएपनि हुन्छ ।’

त्यस्तै ओलीलले मध्यपहाडी अन्तर्गत गोरखाको पालुङटार–मसानेपाटी खण्डको १६ किलोमिटर यात्रा गर्दा एक सय किलोमिटर हिँडे जस्तो भान भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मध्यपहाडीको १६ किलोमिटर यात्रा गरेपछि उनले भने, ‘प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र रहेछ, सय किलोमिटर हिँडियो भनेको ओल्लो छेउ आएर सोध्धा १६ किलोमिटर रहेछ।’

सडकको दुरावस्थाको अन्त्य हुनु पर्ने बताउँदै विकासका पूर्वाधार जति छिटो पूरा गर्न सक्यो उति सहज बन्ने उनले बताए । ‘जनताको सुविधा असुविधा मात्र होइन विकाससँग जोएिको छ, उन्नति, आधुनिकता, व्यापार, कृषि आधुनिकिरणसँग जोडिएको छ,’उनले भने । मध्यपहाडी अन्तर्गत गोरखामा ६३ किलोमिटर क्षेत्र पर्छ । ठेकेदारको ढिलासुस्तीले मध्यपहाडीको उक्त खण्ड स्तरोउन्नतीमा ढिलाइ हुँदै आएको छ ।

प्रकाशित : मंसिर २३, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?