१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

कोप–२८ सम्मेलन उपलब्धिमूलक : वनमन्त्री महतो

रासस

यूएई — वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा महतोले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको बताए ।

कोप–२८ सम्मेलन उपलब्धिमूलक : वनमन्त्री महतो

कोप–२८ मा सहभागी भएर मन्त्री महतो शनिबार स्वदेश फर्किएका छन् । उनले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उल्लेख गरेका छन् । 'यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ । यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्,' उनले भने ।

यूएईको दुबईमा मंसिर १४ गतेदेखि सुरु भएको उक्त सम्मेलन मंसि २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ ।

मन्त्री महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताए ।

यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तक्रिया गरिएको मन्त्री महतोले जानकारी दिए । उनले डिसेम्बर ३ मा एसियाली विकास बैंकद्वारा आयोजित मन्त्रिस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । यस्तै डिसेम्बर ३ मा नै बैंकद्वारा ‘लञ्चिङ मेलम्ची डिजास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट’ कार्यक्रमलाई पनि मन्त्री महतोले सम्बोधन गरेका थिए ।

यस्तै डिसेम्बर ५ मा भने मन्त्री महतोले ‘नेपाल्स मिटिगेशन इफोट्र्स : रोड टु नेट जिरो’ कार्यक्रममा र ‘स्केलिङ अप इन्भेष्टमेन्ट इन एड्यप्टेशन द्याट लिभ्स नो वन बिहाइण्ड’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सम्बोधन गरेका थिए । डिसेम्बर ६ मा उनले ‘बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल, नेचर, एण्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एड्यप्टेशन प्राक्टिस इन नेपाल’ कार्यक्रममा सम्बोधन गरेका थिए । कोप–२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री महतोले जानकारी दिए ।

प्रकाशित : मंसिर २३, २०८० १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?