कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एनसेल बिक्री प्रकरणमा राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग जानकारी लिने

काठमाडौँ — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने भएको छ । समितिले एनसेल प्रकरणमा के-के भएको हो ? त्यसबारे जानकारीसहित समितिमा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्ने निर्णय गरेको हो ।

एनसेल बिक्री प्रकरणमा राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग जानकारी लिने

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको समितिका सभापति रामहरि खतिवडाले बताए ।

'यो प्रकरणमा अरुले पनि काम गरिरहेका छन् । तर प्रधानमन्त्री कार्यालय राज्य व्यवस्था समिति मातहत हो,' खतिवडाले ईकान्तिपुरसँग भने, 'वास्तवमा त्यसमा के कस्तो अनियमितता भएको हो ? खास अवस्था के हो ? त्यसबारे सरकारले के गरिरहेको छ ? हामीले प्रधानमन्त्रीलाई समितिमा बोलाउने र जवाफ लिने निर्णय गरेका छौं ।'

उनले प्रधानमन्त्रीसँग समय लिएर कार्यक्रमको मिति तय हुने बताए । उनका अनुसार समितिले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाएको छ । समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए ।

समितिको बैठकमा सांसदहरुले राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता विना यति ठूलो अनियमितता हुनै नसक्ने भन्दै त्यसबारे प्रधानमन्त्रीले प्रस्ट जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रकाशित : मंसिर २२, २०८० १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?