कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

कांग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने अस्तित्व सकिन्छ : कोइराला

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले पार्टीले कम्युनिष्ट पार्टीहरुसँग निरन्तर गठबन्धन गर्दै गए एक दिन कांग्रेसकै अस्तित्व समाप्त हुने बताएका छन् । उनले यदि कांग्रेसले गठबन्धन नै गर्न परे पनि लोकतान्त्रिक पार्टीहरूसँग मात्रै गर्नुपर्ने बताए । 

कांग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने अस्तित्व सकिन्छ : कोइराला

शुक्रवार काठमाडौंमा रिता शाहीको गजलसंग्रह ‘चिनारी’ लोकार्पण गर्दै नेता कोइरालाले मुलुकको परिवर्तन गर्नुअघि कांग्रेसमा परिवर्तन हुनुपर्ने दाबी गरे ।

‘हामी सबैको उद्देश्य देशको विकास गर्ने भन्ने छ । तर देशमा परिवर्तन गर्नको लागि त्योभन्दा पहिले नेपाली कांग्रेसमा परिवर्तन हुनु आवश्यक छ,’ उनले भने, ‘कांग्रेसमा परिवर्तन नभएसम्म देशमा पनि परिवर्तन सम्भव छैन । परिवर्तित र बलियो कांग्रेसले मात्रै देशको परिवर्तनको नेतृत्व गर्न सक्छ ।’

नेता कोइरालाले वर्तमान निर्वाचन प्रणाली रहेसम्म सरकार गठनकैलागि पनि गठबन्धन गर्नैपर्ने स्थिति रहेको बताए । ‘यही निर्वाचन प्रणाली रहेसम्म गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि–इलेक्सन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ?,’ नेता कोइरालाले अघि भने, ‘हामी यी विषयहरूमा प्रस्ट भएर मात्रै अघि बढ्न आवश्यक छ । यदि कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व नै समाप्त हुन्छ ।’

उनले कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुने गरेको विगत रहेको बताए । ‘देश पपुलिजममा गइरहेको देख्छु । हामी पनि त्यतै गइरहेको हो कि जस्तो लाग्छ । सामाजिक सञ्जालहरूमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोक रिझ्याईमा बढी गइरहेका छौँ,’ कोइरालाले भने ।

प्रकाशित : मंसिर २२, २०८० १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?