९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

निर्वाचन सरोकारवालाहरुको एसियाली सम्मेलन सकियो

काठमाडौँ — निर्वाचन प्रणाली सुधार र परिमार्जनलगायत विषयमा अनुभव आदान-प्रदान गर्दै निर्वाचन सरोकारवालाहरुको छैठौं एसियाली सम्मेलन सकिएको छ । काठमाडौंमा बुधबार र बिहीबार भएको 'दिगो लोकतन्त्रको निर्माण: निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन' विषयक सम्मेलनमा वक्ताहरुले लोकतन्त्रलाई परिणाममुखी बनाउन निर्वाचनमा नागरिकको व्यापक सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । 

सम्मेलनमा नेपाल र अन्य देशका विज्ञहरूले सात वटा विषयअन्तर्गत २४ वटा शीर्षकमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए भने ती विषयहरुमाथि गहन छलफल चलेको थियो ।

सम्मेलनले २७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा निर्वाचन प्रणालीमा सामयिक सुधार, निर्वाचन कानुनमा परिमार्जन, प्रविधिमैत्री निर्वाचनको अङ्गीकार, निर्वाचनको निष्ठाको प्रवर्द्धन र मतदाता शिक्षामा नागरिकको पहुँच विस्तार लगायत विषय समेटिएका छन् ।

त्यस्तै, समावेशीकरण, मतदान केन्द्रको पूर्वाधार सुधार, निर्वाचन शिक्षामा सामाजिक संजालको प्रयोग, मिथ्या सूचनाको नियन्त्रण, वातावरणमैत्री निर्वाचन र निर्वाचनमा नागरिकको सहभागिताजस्ता विषयहरुमा समेत साझा पहल र प्रतिबद्धता जनाइएको छ ।

सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा संवैधानिकरुपमा स्वतन्त्र निकायका रुपमा रहेको निर्वाचन आयोगले विगतदेखि नै निष्पक्ष र स्वतन्त्ररुपमा काम गर्दै आएको बताए । उनले आयोगले तीन तहको निर्वाचनलाई पटक-पटक सफलतापूर्वक सम्पन्न गरेको उदाहरणसमेत पेस गरे । उनले स्वतन्त्र, निष्पक्ष र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि विद्यमान निर्वाचन कानुन परिमार्जन गर्न सरकार तयार रहेको समेत बताए ।

सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गरे । उनले निर्वाचनमा नागरिकको व्यापक सहभागिता खोज्न र लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।

सम्मेलनमा भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एस. वाई. कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय बृहत्, निरन्तर र चुनौतीपूर्ण रहेको बताए । उनले यस्ता फोरमहरुबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्वपूर्ण अवसरको रुपमा रहने समेत दाबी गरे ।

निर्वाचन आयोग, नेपाल र एशियन नेटवर्क फर फ्रि इलेक्शनको संयुक्त आयोजनामा भएको सम्मेलनमा एसियाली क्षेत्र लगायतका विभिन्न ४० देशका करिब २५० जना सहभागी थिए । जसमध्ये नौ देशका निर्वाचन व्यवस्थापन निकायका २४ जना पदाधिकारीहरुसमेत उपस्थित थिए ।

प्रकाशित : मंसिर २१, २०८० २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?