१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२०

अधिवक्ता परीक्षा रोकिँदा परीक्षार्थी मर्कामा

घनश्याम गौतम

बुटवल — नेपाल कानुन व्यवसायी परिषद्ले लिन लागेको अधिवक्ताको ३१ औं परीक्षा अन्तिम समयमा रोकिएपछि तयारी गरेका विद्यार्थी मर्कामा परेका छन् । प्राविधिक कारण जनाउँदै अर्को सुचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सुचनाले विद्यार्थीमा परिक्षा हुने नहुने भन्ने अन्योल पनि थपिएको छ । 

अधिवक्ता परीक्षा रोकिँदा परीक्षार्थी मर्कामा

परिषद्ले काठमाडौंसहित विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र महेन्द्रनगरमा मंसिर २२ र २३ गते परीक्षा सञ्चालन गर्ने गरी सुचना प्रकाशित गरेको थियो । त्यहीअनुसार परिक्षार्थीले तयारी गरेर अनलाईनबाट प्रवेशपत्रसमेत बुझेका थिए । बाहिरबाट परिक्षा दिन पुग्नेहरु परीक्षा सञ्चालन हुने सहरमा पुगिसकेको अवस्थामा परिषद्ले अचानक परिक्षा स्थगित भएको सुचना २० गते जारी गरेको हो ।

परिषद्को सुचनाअनुसार बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा बुटवल क्षेत्रबाट अधिवक्ताको परिक्षा दिने गरी केन्द्र तोकिएको थियो । केन्द्रबाट १ सय २४ जना विद्यार्थीले परिक्षा दिने तयारी गरेका थिए ।

परिषद्का सदस्य एवं बुटवलका कानुन व्यवसायी बाबुराम पाण्डेले खुल्ला विश्वविद्यालयका विद्यार्थीले परीक्षामा सहभागिताको माग गर्दै पाटन उच्च अदालत र सर्वोच्च अदालतमा दिएको मुद्दा एवं परीक्षार्थीले नयाँ पाठ्यक्रम अनुसारको तयारी गर्न नपाएको भन्ने गुनासोका कारण परीक्षा तत्कालका लागि स्थगित गर्नु परेको बताए । ‘सर्वोच्चमा परीक्षासम्बन्धी विचारधीन मुद्दा, मंसिर २१ (बिहीबार)का लागि तोकिएको पेसीमा आदेश हुन नसकेमा खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई पनि २२ गतेको परीक्षामा सहभागी गराउनु भन्ने आदेश र नयाँ पाठ्यक्रममा विद्यार्थीहरुले नै तयारी नपुगेको भन्ने गुनासोका कारण परिषद्ले परिक्षा स्थगित गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘सर्वोच्चबाट छिट्टै नै अर्को आदेश आउने संभावना रहेकाले परिषद्ले त्यसको पर्खाई पनि गरेको हो ।’

खुल्ला विश्वविद्यालयका विद्यार्थीको प्रयोगात्मक परीक्षा नहुने भएकाले परीक्षामा त्यसको अंक भार नहुने भएपछि अधिवक्ताको परिक्षामा सहभागी गराउन समस्या परिरहेको र उनीहरुले सहभागी हुन पाउनु पर्ने माग गर्दै पाटन अदालतमा मुद्दा दर्ता भएको थियो । विद्यार्थी मनिषा गौतमले खुल्ला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेका विद्यार्थीहरु अधिवक्ताको परिक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा उच्च अदालत पाटनबाट २०७९ फागुन १० गते नै कानुन बमोजिमको प्रकृया पुरा गरी नेपाल कानुन व्यवसायी परिषद्को परीक्षामा सामेल हुन चाहेमा रोकावट नगर्नु भन्ने आदेश भएको थियो ।

सोही आदेशअनुसार विद्यार्थी गौतम आदेश दोहोर्‍याउन माग गर्दै सर्वोच्च पुगेका थिए । अहिले सर्वोच्चमा उक्त मुद्दा विचाराधीन रहेको र माग बमोजिम अन्तरिम आदेश हुनुपर्ने हो वा होइन भन्ने प्रश्नको निरुपण दुवै पक्षबीच छलफल गरी उपयुक्त देखिएकाले मंसिर २१ गते (बिहीबार)का लागि पेसी तोकिएको थियो । उक्त पेसीमा कुनै आदेश हुन नसकेको अवस्थामा निवेदनको औचित्य समाप्त हुने एवं सुविधा र सन्तुलनसमेतका दृष्टिले निवेदकलाई मंसिर २२ र २३ गते हुने अधिवक्ता तहको ३१ औं परिक्षामा सहभागी हुनसम्मलाई नरोक्नु भन्ने सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीले मंसिर १९ गते अल्पकालिन अन्तरिम आदेश दिएका थिए ।

परिषद्ले उक्त आदेशलाई उल्लेख नगरी प्राविधिक कारण जनाउँदै २० गते परीक्षा स्थगित भएको सुचना सार्वजनिक गरेको थियो ।

परीक्षाको तयारी गरिरहेका र परीक्षाका लागि कपिलबस्तुबाट बुटवल आएका कृष्णप्रसाद घिमिरेले न्याय क्षेत्रमा हुने हरेक परीक्षाको ढिलाई र अन्योलताले न्याय क्षेत्र अस्तव्यस्त छ भन्ने जनाएको बताए । उनले आफुले कानुनमा ३ वर्षे स्नातक अध्ययन गर्न २०७४ सालमा भर्ना भएपनि परीक्षाको अन्तिम नतिजा प्रकाशित हुन ६ वर्ष कुर्नु परेको बताए । ‘यस्तो अस्तव्यस्त पढाईकाबीच स्नातक उत्तीर्ण भएर अधिवक्ताको परीक्षा दिन लागेको त्यो पनि अर्को सुचना नभएसम्मका लागि स्थगित गरियो,’ उनले भने, ‘परीक्षा दिने भनेर तयार भएको मनस्थिति अहिले पुरै बदलिएर अब के हुन्छ भन्ने अन्योलमा पुगेको छ ।’ परीक्षा नै नहुने अवस्थाले न्याय क्षेत्र पनि अस्तव्यस्त भएको देखिएको उनले बताए ।

प्रकाशित : मंसिर २१, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?