१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच शिष्टाचार भेट

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । 

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच शिष्टाचार भेट

भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट संगठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल सार्क वडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहदै आएको बताउँदै दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवं सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्न सक्ने बताए । 'दक्षिण एसियाली क्षेत्रका जनताको आशा यस क्षेत्रीय संगठनको प्रभावकारितामा रहेको छ', उनले भने, 'तसर्थ, सदस्य राष्ट्रहरुले यस क्षेत्रीय संगठनलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नु पर्दछ ।'

उपराष्ट्रपति यादवले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइ र अन्य महत्वपूर्ण बैठकसमेत हुन नसकेको अवस्थाले सार्कको कार्यमा असर परेकोमा चिन्ता व्यक्त गरे । उनले सार्क सदस्य राष्ट्रहरुले अवरुद्ध शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटाउने विश्वास पनि व्यक्त गरे ।

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा महासचिवको विचार र योजनाप्रति धन्यवाद दिँदै महासचिवले आफ्नो सक्षम नेतृत्वबाट सार्क प्रक्रियालाई थप सक्रिय बनाउन र यस क्षेत्रले भोगिरहेका चुनौतीको सामना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गरे । भेटघाटमा सार्कका नवनियुक्त महासचिव सरवरले सदस्य राष्ट्रहरुको संयुक्त पहलमै सार्क अगाडि बढ्ने बताए ।

प्रकाशित : मंसिर २१, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?