१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

राष्ट्रियता, आर्थिक हिसाबले देश नाजुक अवस्थामा छ : ओली

गगनशिला खड्का

गुल्मी — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत गुल्मीको मुसिकोटमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले राष्ट्रियता, आर्थिक हिसाबले नाजुक अवस्थामा देश रहेको बताए । 

राष्ट्रियता, आर्थिक हिसाबले देश नाजुक अवस्थामा छ : ओली

'अर्थतन्त्र ध्वस्त भइरहेकोले अहिले पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन राष्ट्र ऋण उठाउनुपर्ने अवस्था देशमा आएको छ । रोजगारीका अवसरहरु गुमेकाले, उद्योगधन्दा बन्द हुँदै गएकाले, नयाँ उद्योग नखुलेकोले देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ', उनले भने, 'हामी व्यापार घाटामा छौं । खाली आयात गर्ने, निर्यात गर्ने कुनै सामान उत्पादन गर्दैनौं । देशमा भ्रष्टाचार व्याप्त छ । कमिसनतन्त्र र तस्करी व्याप्त छ । यी सबै कुराहरुलाई फेर्न अब हामीले ढिलो गर्नु हुँदैन ।'

उनले एमालेलाई सरकारबाट हटाएर देशलाई यो दुर्दशामा पुर्‍याइएको भन्दै एमालेबाहेक अरुले यो देश बनाउन नसक्ने दाबी गरे । 'सरकारबाट एमाले बाहिर भयो भने २ वर्षभित्र देश कंगाल हुँदोरहेछ । देश बर्बाद हुँदैछ । त्यसबाट जोगाउन एमालेको एकल बहुमत चाहिन्छ,' उनले भने ।

अध्यक्ष ओलीले भूकम्पपीडितका लागि सरकारबाट पर्याप्त काम नभएको समेत आरोप लगाए । 'हाम्रो सुझाव सरकारलाई छ, भूकम्प पीतितहरुको सकेसम्म छिटो व्यवस्थापन गरियोस्, पुनर्निर्माण गर्ने र उहाँहरुलाई पुन: बसोबास गराउने काम अविलम्ब सरकारले गरोस्', उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले मुसिकोट नगरपालिकाको नवनिर्मित भवनसमेत उद्घाटन गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०८० २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?