१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने

काठमाडौँ — सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने जानकारी दिएकी हुन् ।

सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने

'नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,' विज्ञप्तिमा उल्लेख छ । उनले समिति कति सदस्य बन्ने भन्ने टुंगो लागि नसकेको बताइन् ।

मन्त्री शर्माले छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाही हुने बताइन् । विज्ञप्तिमा लेखिएको छ, 'यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ ।'

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्री शर्माले यस कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गरेकी छन् ।

प्रकाशित : मंसिर १९, २०८० २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?