२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पुराना पार्टीहरूले नै पपुलिस्टलाई झन्डा बुझाए : भुसाल

काठमाडौँ — एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पुराना पार्टीहरुकाकै कारण ‘पपुलिष्ट’ नारा बाक्नेहरू सडकमा देखिएको बताए । लामो समयदलेखि निरन्तर सत्तामा बस्ने दलहरूले मुलुकमा व्यापक रोजगारी सृजना गर्न चुकेको बताए । 

पुराना पार्टीहरूले नै पपुलिस्टलाई झन्डा बुझाए : भुसाल

‘बेरोजगारी मुख्य समस्या हो । अहिलेको मार्क्सवाद पनि यही हो,’ उनले शनिबार नेपाली समाजको मुख्य अन्तरविरोध विषयक अन्तरक्रिया कार्यक्रममा भने, ‘रोजगार सिर्जना गर्ने पार्टी प्रगतिशील हो । हामी माथि गएका, सरकारमा रहेकाले पपुलिस्टलाई झन्डा बुझाएको हो ।’

उनले लामो समयदेखि मान्दै आएका नेता खास मार्क्सवादी हुन नसक्नु बिडम्बना भएको बताए । ‘हामीले मानेको नेता किन दलाल भए ? खोज्दै गए हुन्छ,’ उनले भने, ‘यहाँ ओलीवाद, प्रचण्डवाद छन् तर मार्क्सवाद हुन सकेका छैनन् ।’

उनले सामन्तवादको सही व्याख्या हुन नसक्नु नै नेपाली समाजको अन्तरविरोध पहिल्याउन नसक्नु भएको बताए । ‘मार्क्सवादको अध्ययन गरे मुख्य अन्तरविरोध थाहा पाइन्छ,’ उनले भने, ‘समाजमा विकास र रोजगारीको काम अघि बढाउन खोज्दा राजनीतिमा दलाल पुँजीवादले कसरी भूमिका खेल्छ ? बुझ्न सकिन्छ ।’

नेपाल समाजवादीका नेतृ मानुसी यमी भट्टराईले कमजोर वित्तीय नीतिले रोजगारी सृजना गर्न नसकेको बताइन् । ‘यहाँ कमजोर लम्पट पुँजीवाद छ । यसले रोजगारी सृजना गर्न सकेको छैन,’ उनको भनाइ थियो, ‘पहिले काम चाहियो, अनि पो क्षमता देखिन्छ । पुँजी र प्रविधि भए मात्र रोजगारी सृजना हुन्छ ।’

उनले मुलुकका दक्ष जनशक्ति उत्पाना गरे मात्र उत्पादन बढ्ने बताइन् । ‘प्रविधि भित्र्याऔं । युवालाई आत्मविश्वास बढ्ने गरी शैक्षिक विकास गर्नु पर्‍यो । दक्ष जनशक्ति निर्माण गर्नुपर्‍यो,’ उनले भनिन्, ‘नयाँ वित्तीय नीति ल्याउनु पर्‍यो । पुरानो नीतिले उत्पादन बढाउने काम गर्‍यो ।’

कार्यक्रममा संगीतले छलफल पत्र प्रस्तुत गर्दै लोकतन्त्र दलालतन्त्र परिणत भएको टिप्पणी गरे । ‘आज नेपालको लोकतन्त्र त्यस्तो दलालतन्त्र भएको छ, जुन व्यवस्थालाई प्रचलित शैलीमा दलालहरूको, दलालहरूद्वार र दलालहरूकै लागि भन्न सकिन्छ । यो व्यवस्थाप्रति जनतामा तीव्र घृणा पैदा भएको छ र उनीहरूले विकल्पमा नयाँ थितिको खोजिरहेका छन्,’ उनले भने ।

प्रकाशित : मंसिर १६, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x