कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

खाली हात विद्यालय

मंसिर १६, २०८०
खाली हात विद्यालय

रुकुम पश्चिम — भूकम्पले घर भत्किँदा कापीकिताबलगायत शैक्षिक सामग्री गुमाएका विद्यार्थीले यतिबेला रित्तो हात विद्यालय जानुपरेको छ । भूकम्पका कारण रुकुम पश्चिममा मात्रै ४१ सय ७६ विद्यार्थी पाठ्यपुस्तक तथा पाठ्यसामग्रीविहीन भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । 

इकाइ प्रमुख तारा पुनका अनुसार सानीभेरी गाउँपालिकामा सबैभन्दा धेरै १५ सय २३ विद्यार्थीका पाठ्यपुस्तक नष्ट भएका छन् भने आठबिसकोटमा १४ सय ४१, चौरजहारी नगरपालिकामा ३ सय ४३, मुसीकोट नगरपालिकामा ४ सय ७, त्रिवेणी गाउँपालिकामा १ सय ८३, र बाँफिकोट गाउँपालिकामा २ सय ७९ विद्यार्थीका पाठ्यसामग्रीमा क्षति पुगेको छ । शिक्षा मन्त्रालयमा क्षतिको विवरण पेस गरेको र एक साताभित्रै पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको उनले बताए ।

मंसिर ४ देखि नियमित विद्यालय खुले पनि आठबिसकोट नगरपालिका–१४ आदर्श माविमा कक्षा १० पढ्ने सविता मल्ल खाली हात विद्यालय गइरहेकी छन् । उनका छिमेकी सन्देश मल्लले पनि आधा पढेका किताब र पूरा हुन लागेका अध्ययन सामग्री गायब हुँदा विरक्त लागिरहेको बताए । ‘आफन्त गुमे, घर भत्कियो । अनि पढ्ने सामग्री पनि सबै कता गए कता,’ उनले भने, ‘स्कुल त हामी खाली हात जानुपर्‍यो । अहिलेसम्म गरेका नोट कसरी पूरा गर्ने होला ?’

पाठ्यपुस्तकविहीन विद्यार्थीलाई विद्यालयबाट कापीकलमको व्यवस्था गरेर किताब भएका साथीहरूबाट काम चलाइरहेको जनविकास माविका प्रधानाध्यापक दीपक संगम थापाले बताए ।

प्रकाशित : मंसिर १६, २०८० ०८:५५
×