कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

मेलम्चीको पानी चाँडै काठमाडौँ पुर्‍याउँछौँ : मन्त्री यादव

रासस

सिन्धुपाल्चोक — खानेपानीमन्त्री महीन्द्र राय यादवले मेलम्चीको पानी काठमाडौं पठाउन तीव्र गतिमा काम भइरहेको बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथानलगायतको क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौं पठाउन तीव्र गतिमा काम भइरहेको बताए ।

मेलम्चीको पानी चाँडै काठमाडौँ पुर्‍याउँछौँ : मन्त्री यादव

'बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ, काठमाडौंवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौं पुर्‍याउँछौँ,' मन्त्री यादवले भने ।

हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौंवासीलाई पानी खुवाउने सरकारको योजना रहेको र सोही अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको जानकारी दिए ।

अनुगमनका क्रममा सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले बाढीले पुर्‍याएको क्षतिको यकीन भइनसकेकाले कति दिनभित्रमा पानी काठमाडौं पुग्छ भनेर भन्न नसकिने बताए । 'काठमाडौं पानी कति दिनमा पुर्‍याउन सकिन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन तर हामीले युद्धस्तरमा काम गरेका छौँ, आशा गरौँ एक महिनाभित्र पानी काठमाडौँ पुग्छ,' उनले भने ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौंमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए। उनले भने, 'मेलम्चीको पानी काठमाडौं पठाउनका लागि स्थानीय सरकार पूर्णरुपमा सहयोग गरिरहेको छ, हाम्रा पनि केही माग भएकाले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागको सम्बोधन हुनुपर्छ ।'

प्रकाशित : मंसिर १५, २०८० २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?