१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रास्वपाको राजनीतिक मार्ग : बहुलवादी लोकतान्त्रिक

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने स्पष्ट नीति
जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभा चुनावमा पहिलो पटक भाग लिँदै चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले गठनको साढे एक वर्षपछि आफ्नो राजनीतिक तथा वैचारिक धारा स्पष्ट पारेको छ । रास्वपाले राजतन्त्र फालेर आएको राजनीतिक परिवर्तनलाई अंगीकार गर्दै आगामी दिनमा व्यवस्था सुदृढ गर्ने भन्दै राजनीतिक धार तय गरेको हो । 

रास्वपाको राजनीतिक मार्ग : बहुलवादी लोकतान्त्रिक

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा मन्थन गर्दै रास्वपाले ‘बहुलवादी लोकतान्त्रिक’ मार्ग पारित गरेको हो । पार्टीको मूल दस्ताबेजको प्रस्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येयका साथ अघि बढ्ने पनि स्पष्ट पारेको छ ।

‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,’ प्रस्तावनामा उल्लेख छ, ‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।’

संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने कुरालाई पनि रास्वपाले अनुसरण गरेको छ । ‘शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै,’ प्रस्तावनामा उल्लेख छ, ‘अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ ।’

जलेश्वर बैठकबाट सहप्रवक्ताको जिम्मेवारी पाएका सांसद मनीष झाले अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मान्ने नीति पार्टीले लिएको बताए । ‘हामीले बहुलवाद, लोकतन्त्र र कानुनको शासन रहेको अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई मान्ने नीति लिएका हौं । यो व्यवस्थाभित्रै फरक र सुधारिएको अभ्यास गर्ने लक्ष्यमा अगाडि बढेका छौं,’ उनले भने । रास्वपाले प्रादेशिक संरचनामा सुधार ल्याउन चाहेको झाले बताए । ‘जुन उद्देश्यका साथ प्रादेशिक संरचनाको व्यवस्था संविधानमा गरिएको हो, त्यसअनुसार कार्यान्वयनमा नगएकाले प्रश्न उठेको कुरालाई रास्वपाले ध्यानमा राखेको छ । प्रादेशिक संरचनामा सुधार ल्याउने हो । अहिले दोस्रो र तेस्रो तहका नेताको व्यवस्थापनको ठाउँ मात्रै भएको छ । यसलाई उत्पादनमूलक बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि भूमिका, जिम्मेवारी फैलाउने र संरचना चुस्त बनाउने, कार्य प्रणाली परिवर्तन गर्नुपर्छ ।’

रास्वपाले आफूलाई सबैको अस्तित्व स्वीकार गर्दै अगाडि बढ्ने राजनीतिक दल बनाउन खोजेको छ । दस्ताबेजको प्रस्तावनामा नेपालको धार्मिक–सांस्कृतिक विविधतादेखि भूराजनीति हुँदै विदेशमा रहेका नेपालीलाई समेट्ने कोसिस गरेको झाले बताए । ‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्त्वलाई आत्मसात् गर्दै,’ प्रस्तावनामा प्रतिबद्धता गरिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ ।’ यसरी सबै धर्मलाई स्वीकार गर्ने र धर्मलाई राजनीतिबाट टाढै राख्ने नीति रास्वपाको हुने पनि झाले बताए ।

प्राध्यापक कृष्ण पोखरेल संविधानप्रति प्रतिबद्ध रहेको सन्देश रास्वपाले दस्ताबेजको प्रस्तावनामार्फत दिएको बताउँछन् । ‘रास्वपाप्रति विचार नभएको प्रियतावादी (पपुलिस्ट) पार्टी भनेर प्रश्न तेर्सिएका थिए, त्यसलाई चिर्न खोजेको पाएँ,’ उनले भने, ‘रास्वपाले स्पष्ट रूपमा बहुलवादी लोकतान्त्रिक धार समात्दै अहिलेको संविधानप्रति प्रतिबद्ध रही यसले स्थापित गरेका कुरालाई अगाडि बढाउन खोजेको छ ।’

पछिल्लो समय राजतन्त्र पुनःस्थापना, हिन्दु राष्ट्र र संघीयता खारेजीका कुरा उठिरहेको सन्दर्भमा रास्वपाले आफू त्यस्ता कुराका पछाडि नलाग्ने देखाएको पोखरेलको भनाइ छ । ‘अहिले परिवर्तनका पक्षधरको विरुद्धमा आवाज आउन खोजिरहेका बेला ऊ त्यो खालको प्रतिगमनकारी धारतिर छैन भन्ने सन्देश यही समयमा आउनुले विशेष अर्थ राख्छ,’ पोखरेलले भने । पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले र कोषाध्यक्षमा लिमा अधिकारीलाई जिम्मेवारी दिएको कुराले पनि अर्थ राख्ने उनले बताए । ‘कांग्रेस पृष्ठभूमिका वाग्ले र कम्युनिस्ट पृष्ठभूमिकी अधिकारीलाई जिम्मेवारी दिएर परिवर्तनलाई आत्मसात् गर्छ भन्ने सन्देश रास्वपाले दिएको छ,’ उनले भने । वाग्ले गत वैशाखको उपनिर्वाचनभन्दा केही अघि मात्रै रास्वपामा गएका हुन् भने अधिकारी पूर्वअर्थमन्त्री तथा एमालेका वरिष्ठ नेता भरतमोहनकी छोरी हुन् ।

लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्नुपर्ने उल्लेख गर्दै रास्वपाले कस्तो आर्थिक नीति अँगाल्छ भन्ने प्रश्नको जवाफ पनि दिएको छ । ‘उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगार विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि’ को नीति लिने रास्वपाले उल्लेख गरेको छ,’ प्रस्तावनामा भनिएको छ ।

उपसभापतिमा वाग्ले

रास्वपाले पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरेको छ । उपसभापतिको जिम्मेवारी भने स्वर्णिम वाग्लेलाई दिइएको छ । उनी गत वैशाखमा भएको उपनिर्वाचनमा कांग्रेस परित्याग गरी रास्वपाको टिकटमा तनहुँबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । लिमा अधिकारी कोषाध्यक्ष चयन भएकी छन् । उनी केही समय एकीकृत समाजवादीमा आबद्ध भएकी थिइन् ।

सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य मनोनीत भएका छन् । श्रेष्ठ समानुपातिक सांसद हुन्, सहकोषाध्यक्षमा दीपक बोहरा र वसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ ।

पार्टी प्रवक्ताको जिम्मेवारी महामन्त्री मुकुल ढकाललाई नै दिएर सहप्रवक्तामा सांसद मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई ल्याइएको छ । रास्वपाका सबै सांसद अब केन्द्रीय सदस्य भएका छन् । यसअघि १४ सांसद केन्द्रीय सदस्य थिएनन् ।

महोत्तरीको जलेश्वरमा मंसिर ११ देखि १३ सम्म चलेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय समितिमा नरहेका सांसदलाई जिम्मेवारी दिने निर्णय भएको हो । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगीलाई केन्द्रीय समिति सदस्य मनोनयन गरिएको हो । त्यस्तै, सांसदहरू स्वर्णिम वाग्ले, मनीष झा, शिशिर खनाल, लक्ष्मी तिवारी, चन्दा कार्की, असीम शाह, अशोककुमार चौधरी, विनिता कठायत, शिव नेपाली, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्कीलाई केन्द्रीय समिति सदस्यमा चयन गरिएको हो । रास्वपाका २१ संघीय सांसद छन् । त्यस्तै, बैंकर अनिलकेशरी शाह, पुकार बम, नन्दन यादव, राजन गौतम र कामिनी चौधरीलाई पनि केन्द्रीय सदस्य बनाइएको छ ।

रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय लिएको छ । सचिवालयमा हाल पदाधिकारीसँगै संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई चयन गरिएको छ । बाँकी सदस्यहरू पछि थपिने रास्वपाले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०८० ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?