कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

बुढेसकालमा चिया पसलको भर

७० वर्षीय सोमनाथ बिहानै ५ बजे पसल आइपुग्छन्, उनलाई ६८ वर्षीया पत्नी गीतादेवीको साथ
दीपेन्द्र बडुवाल

रुपन्देही — तेल उम्लिन थालेपछि रूपन्देहीको कोटहीमाई–५ का ७० वर्षीय सोमनाथ मौर्यले नमकिन कराईमा हाले । नडढोस् भनेर झाँझरले ओल्टाई–पल्टाई तारिरहे । त्यही बेला अर्को चुलोमा बसालेको दूध उम्लिन थाल्यो । नमकिन पाकिरहेको चुलोमा ग्यासको ज्वाला घटाएर डाडुले दूध चलाउन थाले । दूध तातेपछि डेक्चीलाई घुम्ती पसलमा राखे । 

बुढेसकालमा चिया पसलको भर

काममा मग्न हुँदासमेत पसलमा आउने ग्राहकलाई दाहिने हात उठाएर अभिवादन गर्न भ्याइरहेकै थिए उनले । लगत्तै उनको ध्यान थालमा पकौडी सजाउनतिर थियो । त्यही बेला आएका ग्राहकले चिया र पकौडा ‘अर्डर’ गरिहाले । खरानी रङको कुर्ता र लुंगी पहिरिएका सोमनाथले चिया पकाउन थाले । त्यहीबेला जग र जर्किनमा पानी ल्याएर ६८ वर्षीया गीतादेवी मुराउ आइपुगिन् । प्लेटमा दुईवटा काउलीका पकौडा र चटनी राखेर ग्राहकलाई गीतादेवीले दिइन् ।

आइतबार दिउँसोको यो दृश्य सोमनाथ र गीतादेवीले कोटहीमाई–६ स्थित मर्चवारीमाई मन्दिर परिसरमा सञ्चालन गरिरहेको नास्ता पसलको हो । तीन वर्षदेखि चिया र पकौडी बिक्री गर्दै आएका दम्पतीले पसलको नाम जुराएका छैनन् । एउटा खाटमा दुईवटा चुला जडान गरेर चिया र खाजा पकाउँदै आएका छन् उनीहरूले । पश्चिमपट्टि ग्राहकका लागि एउटा खाट, दुईवटा बेन्च र दुईवटा कुर्सी राखेका छन् । ग्राहक र घुम्ती पसललाई जस्तापाताको छानो हालेर ओत दिएका छन् ।

अहिले केही चिसो सुरु भइसकेको छ । चिया धेरै खपत हुन्छ । गर्मीमा चियाको साटो चिसो खोज्ने ग्राहक बढी हुन्छन् । त्यसैले घुम्तीभित्र एउटा फ्रिज पनि राखेका छन् तर जाडोमा उपयोग छैन । घुम्ती पसलमा बिस्कुट, दालमोठ, भुजिया, पाउरोटीजस्ता खिचिरमिचिर समान सजाएका छन् । तर, यी दम्पतीको मुख्य व्यापार चिया र पकौडा नै हो । चिया बाह्रैमास चल्छ । पकौडा भने सिजनअनुसार तरकारीको बनाउने गरेको सोमनाथ सुनाउँछन् । गर्मीयाममा सर्वसाधारण हरियो केराका पकौडा रुचाउँछन् । अहिले भने काउलीको सिजन छ । काउलीका चानामा बेसन मोलेर तयार पकौडा र अदुवा मिसाएर पिसेको चट्नीले स्थानीयको मन जितेको उनले बताए ।

हातखुट्टा बलिया हुन्जेल दम्पतीले खेतीपाती गरेर गुजारा गर्दै आएका थिए । ३/४ कट्ठा जमिनको उब्जनीले ‘बूढाबूढी’ लाई पुग्ने गरेको सोमनाथले सुनाए । ‘हामी दुई प्राणी त हौं,’ सोमनाथले भने, ‘दुई छोरीको बिहेबारी भएदेखि दुईजना मात्रै छौं ।’ दुई छोरीको गाउँ–छिमेकमै बिहे भएको उनले बताए । उनका अनुसार जेठी छोरीबाट तीन नाति र एक नातिनी, कान्छीबाट दुई नाति र एक नातिनी जन्मिसकेका छन् । दुःख, बिरामी परेका बेला छोरी–ज्वाइँले सघाउँछन् । तर, दैनिक गुजाराका लागि पसल सञ्चालन नगरी उपाय नभएको उनले बताए । पसल रहेको स्थानबाट घर एक किलोमिटर टाढा छ । प्रत्येक दिन बिहानै ५ बजे आफू पसलमा आउने गरेको सोमनाथले सुनाए । त्यसका लागि बिहान ४ बजे उठेर नित्यकर्म पूरा गर्छन् ।

पत्नी गीतादेवी खाना लिएर १० बजे पसल आइपुग्छिन् । पसलका लागि आवश्यक सामान दिनदिनै खरिद गर्नुपर्ने सोमनाथले सुनाए । शनिबार बिहान दुई हजार रुपैयाँको सामान ल्याएर पसलमा राखेका थिए । दिनहुँ मैदा, चिनी, मिठाई, गोभी, मसला खरिद गर्छन् । ‘खर्च र कमाइ बराबरजस्तै हुन्छ,’ उनले भने, ‘पसलको आम्दानीबाट नुन, तेल, हर्दी, मसला र लत्ताकपडा किन्न पुग्छ ।’

दैनिक ६ लिटर दूध खरिद गर्नुपर्छ । बिहान ६/७ बजेबाट स्थानीय चिया पिउन आइपुग्छन् । बिहान ३/४ लिटर दूधको चिया बिक्री गर्छन् । त्यसपछि २/३ लिटर दूधको चिया बेच्ने गरेको उनले बताए । यहाँ प्रतिकप चियाको मूल्य १० रुपैयाँ छ । सहर बजारमा जस्तो चियाका पारखी गाउँमा नहुने उनले बताए । उनका अनुसार स्थानीयले मुस्किलले दिनमा एक कप चिया पिउँछन् । मन्दिरमा पूजापाठ र कीर्तनका बेला चिया धेरै बिक्री हुने उनले बताए । साँझ पर्न थालेपछि खानपिनको जोहो गर्न गीतादेवी उज्यालोमै घर पुग्छिन् । सोमनाथ व्यापार सकेर साँझ ८ बजे पसलबाट फर्किन्छन् । यहाँका स्थानीय र घुमफिरमा आउनेका लागि यी दम्पतीको लगन र मिहिनेत चासोको विषय बन्छ ।

ग्राहकको सेवा गर्न मौर्य दम्पती कुनै कसर बाँकी राख्दैनन् । तर, दुवैको स्वास्थ्य अनुकूल छैन । उनीहरूलाई बिरामले च्याप्दै गएको सोमनाथ सुनाउँछन् । उनका अनुसार गीतादेवीलाई घुँडा दुख्ने समस्याले गाँजेको धेरै भयो । १५ वर्षदेखि यस्तो समस्याले सताइरहेको उनले बताए । ‘घुँडा दुखेर हिँडडुल गर्न सक्दिनँ,’ गीतादेवीले भनिन्, ‘धेरै ठाउँ डुलेर दबाई गरे पनि निको भएको छैन ।’ उपचारका लागि नजिकै मझगावा स्वास्थ्यचौकीदेखि बुटवल, भैरहवा र भारतका विभिन्न स्थान पुगेको उनले बताइन् । पसलबाट भएको आम्दानीबाट उपचार खर्च नपुग्ने उनको भनाइ छ । त्यसैले ऋण जोहो गरेर दबाई खानुपरेको छ उनले ।

सोमनाथ पनि बिरामी छन् । उनलाई १० वर्षदेखि श्वास फुल्ने समस्या छ । धेरैबेर उभिएर काम गर्दा श्वास ठप्पै हुन्छ । उनी भने दिनभरि उभिएरै चिया पकाइरहेका हुन्छन् । जति उपचार गरे पनि श्वास बढ्न नरोकिएको उनले बताए । समस्या बढेपछि बुटवल, भैरहवाका अस्पताल पुगेर जँचाए । आर्थिक अभावले गर्दा उपचार नियमित हुन सकेन । ‘निको हुन्न के गर्ने ?’ उनले भने, ‘मरे भने पनि मरिहाले भन्दै काम गरिरहेको छु, गुजारा गर्नै पर्‍यो ।’

पसलबाट फर्केपछि कहिलेकाहीँ बिरामले च्याप्ने गरेको उनी सुनाउँछन् । त्यस्तो बेला सहयोग गर्ने कोही छैन । छोरीको घर टाढा छ । घरमा बूढाबूढी मात्र रहेकाले ‘आफू मरे बुढिया र बुढिया मरे’ आफूले छिमेकीलाई जानकारी दिने भन्दै बस्ने गरेको उनले सुनाए । ‘उसको घुँडा दुख्छ, मेरो श्वास फुल्छ,’ उनले भने, ‘नसहेर के गर्ने, पैसा भएमात्र उपचार हुन्छ, चिया बेचेको कमाइले साँझ–बिहान खान ठिक्क हुन्छ ।’

अचेल खेतीपाती महँगो भएको छ । त्यसमाथि जाँगर छैन । जमिन बाँझो नराख्न छोरी–ज्वाइँलाई जमिन दिएका छन् । उनका अनुसार ट्र्याक्टरले खेत जोतेको एक घण्टाको ६ हजार रुपैयाँ खर्च लाग्छ । मल र बीउ उस्तै महँगो । गाउँघरमा सहुलियतको नेपाली मल उपलब्ध छैन । भारतबाट लुकीछिपी ल्याउनुपर्छ । सिँचाइ सुविधा छैन । बोरिङ चलाएर सिँचाइ गर्नुपर्छ । त्यसका लागि डिजेल उपलब्ध हुँदैन । सोमनाथले तीन कक्षासम्म गाउँकै विद्यालयमा अध्ययन गरे । त्यसपछि खेतीपाती गरेरै जीवन निर्वाह गरेका थिए । खेतीपाती गर्न नसक्ने भएपछि चिया चमेना पसलतिर लागेका हुन् उनी ।

सुगम जिल्लाको सीमावर्ती बस्ती भए पनि जंगल र झाडी थियो । पहिलो पटक १५ वर्षको उमेरमा ३/४ घण्टा हिँडेर सदरमुकाम भैरहवा पुगेको उनलाई सम्झना छ । त्यसपछि उमेर वृद्धिसँगै गाउँमा साइकल, मोटरसाइकल, बस र कारको प्रयोग बढेको उनले बताए ।

प्रकाशित : मंसिर १३, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?