१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

जनचाहनाअनुसार विकास गर्न तीन तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

सुर्खेत — उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जनताले चाहेअनुसारको विकास सम्भव गर्नका लागि संघीय, प्रदेश र स्थानीय सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

जनचाहनाअनुसार विकास गर्न तीन तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रम मंगलबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले विकास निर्माणका काम सम्पन्न गर्नका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । विकास निर्माणका क्षेत्र निर्धारण गरेर अगाडि बढेमा निर्माण कार्यमा सहजता आउने पनि उनको भनाइ थियो ।

'विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ,' उनले भने, 'यसतर्फ बेलैमा सोच्ने र सोहीअनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ ।'

उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको पनि बताए । उनले संघीय संसद्को आगामी हिउँदे अधिवेशबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुन पारित गर्ने सरकारको तयारी रहेको जानकारी दिए ।

सरकार जनताको दुःखसुखको साथी भएको बताउँदै उपप्रधानमन्त्री खड्काले जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताए । कांग्रेस र माओवादी केन्द्र लगायतको वर्तमान गठबन्धन सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने बताए ।

प्रकाशित : मंसिर १२, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?