१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको समन्वय गरी दिन देउवालाई उद्योगीको आग्रह

सन्जु पौडेल

(तिलोत्तमा) — सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुचारु गर्न समन्यवात्मक भूमिका निर्वाह गरी दिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको समन्वय गरी दिन देउवालाई उद्योगीको आग्रह

मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएको छ । विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

राष्ट्रिय ध्वजाबाहकको विमान उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडान हुनुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–मलेसिया मात्र नभइ भैरहवा–दिल्ली, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने, विश्वका सबै बौद्धिष्ट मुलुकलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने संघले माग गरेको छ ।



त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शिघ्र सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ ।

साथै ‘यस क्षेत्रको तथा देशकै समेत आर्थिक अवस्था चलायमानका लागि टेवा पुग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक समेत सहज हुने हुँदा विमानस्थल पूर्ण संचालनको लागि आवश्यक सहयोग तथा समन्वय गरिदिनु आग्रह गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्ण सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए ।

प्रकाशित : मंसिर १२, २०८० १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?