कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

विश्वविद्यालयको नेतृत्व चयन र प्राज्ञिक कार्यक्रम स्वार्थबिना सञ्चालन हुनुपर्छ : प्रधानमन्त्री दाहाल

ज्योती श्रेष्ठ

काभ्रे — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयले नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम निष्पक्ष रूपमा सञ्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं विश्वविद्यालयमा आयोजित राष्ट्रिय उपकुलपति सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयले नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम कुनै निहीत र स्वार्थयुक्त रूपमा सञ्चालन हुन नहुने बताएका हुन् । 

विश्वविद्यालयको नेतृत्व चयन र प्राज्ञिक कार्यक्रम स्वार्थबिना सञ्चालन हुनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री सबै विश्वविद्यालयहको पदेन कुलपति हुने व्यवस्था अव्यवहारिक रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘यसको विकल्प खोज्दा विश्वविद्यालयको नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम सञ्चालनसम्म कुनै निहीत स्वार्थयुक्त समूहको जकडमा नपरुन् भन्नेतर्फ पनि उत्तिकै सजग हुन आवश्यक छ । विश्वविद्यालयहरू आफ्नै स्रोत साधनबाट सञ्चालन हुन सक्ने हुँदा नयाँ विकल्प खोज्न सक्नेछन् ।’

नेपालको उच्च शिक्षालाई नेतृत्व गर्ने विश्वविद्यालयका उच्च पदाधिकारी र विद्वानहरूलाई एकै थलोमा आमन्त्रण गरेर ‘उच्च शिक्षाका मापदण्डमा एकरूपता र अन्तर्राष्ट्रियकरण’को सार विषयमाथि छलफल गर्ने यो प्रयास अत्यन्तै समसामयिक र सह्रानीय रहेको उनले बताए ।

काठमाडौं विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको भारतीय विश्वविद्यालय संघको उत्तरपूर्वीय क्षेत्रका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलनको तयारी र त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन पनि सहयोगी हुने भएकोले यो कार्यक्रमको विशेष महत्त्व रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका राज्यमन्त्री प्रमिलाकुमारीले उच्च शिक्षा गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताइन् । दक्ष जनशक्ति स्वदेशमै तयार गरी उनीहरूलाई उद्यमशीलतातर्फ अग्रसर गराउन शैक्षिक पाठ्यक्रम निर्माण अहिलेको वर्तमान आवश्यकता रहेको उनले बताइन् ।

नेपालको उच्च शिक्षाका विभिन्न अवयवहरूलाई केलाउँदै अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरहरूको पहिचान तथा सदुपयोग गर्नका लागि राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तरर्दृष्टि, विचार तथा सुझावहरू संकलन र आदानप्रदान गर्ने अभिप्रायले सम्मेलन गरिएको काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले बताए ।

नेपालको उच्च शिक्षाको भविष्यलाई आकार दिने रणनीति र विचारहरूको फलदायी आदानप्रदानको परिकल्पना गर्दै काठमाडौं विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा उपकुलपतिहरू, नीति–निर्माताहरू, शिक्षकहरू र नेपाली उच्च शिक्षा जगतका विभिन्न सरोकारवालाहरू सहभागी भएका छन् ।

प्रकाशित : मंसिर ८, २०८० १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?