कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

केरूङबाट सुन तस्करी बढेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रासस

रसुवा — रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो ।

केरूङबाट सुन तस्करी बढेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औंठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो ।

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । केरुङ आवत जावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन पाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको छ ।

केरूङबाट सुनको औंठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा–४ गोल्जुङकी लक्ष्मी तामाङ एवं आमाछोदिङ्मा–५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन् । उनीहरूको साथबाट १४ लाख ९१ हजार छ सय २८ रूपैयाँ बराबरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औंठी जफत गरिएको थियो ।

उनीहरुलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन सकेको छैन ।

प्रकाशित : मंसिर ५, २०८० १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?