काठमाडौँ — कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडित परिवारका लागि अस्थायी घर बनाउन प्राविधिक जनशक्तिसहितको २५ स्वयंसेवक टोली परिचालन गर्ने भएको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले पहिलो चरणमा २५ र त्यसपछि आवश्यकताअनुसार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
पहिलो चरणमा खटिएको टोलीले जोखिममा रहेका वृद्धवृद्धा, महिला, सुत्केरी, एकल महिला, बिरामी परिवारलाई प्राथमिकतामा राखेर घर निर्माण गर्नेछ । प्रभावित क्षेत्रमा जाने स्वयंसेवक र प्राविधिक टोलीसँग थप छलफल गर्न मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक राखिएको छ । बुधबारदेखि नै सबै टोली प्रभावित क्षेत्रमा जानेछ । केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको एउटा टोली सोमबार नै जाजरकोट पुगेको छ ।
सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी घर निर्माण गर्न सोमबार नै १ अर्ब ४१ करोड रुपैयाँ पठाएको छ । उक्त बजेट प्रभावित जिल्लाका पालिकामार्फत वडाले पीडित परिवारको बैंक खातामा जम्मा गरिदिनेछ । अस्थायी घर निर्माणका लागि एक परिवारलाई सरकारले ५० हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
कांग्रेसले सरकारबाट प्राप्त ५० हजार रकमबाट सम्बन्धित व्यक्तिले निर्माण सामग्री खरिद गर्ने र पार्टीले श्रमको सम्पूर्ण काम गरिदिने प्रचार प्रमुख विश्वकर्माले बताए । उनका अनुसार एउटा टोलीमा खटिने १०–१० जनाको टोलीमा इन्जिनियर, ओभरसियर, मिस्त्रीसहितको स्वयंसेवक दल हुनेछ ।
‘एकैचोटि धेरै जनशक्ति खटाउँदा बस्न र खाद्यान्नको समस्या हुने देखियो । त्यसैले १०–१० जनाको २५ टोली पहिलो चरणमा जाने र उनीहरू ५ दिन श्रम गरेर फर्केपछि अर्को चरणमा फेरि थप टोली पठाइनेछ,’ विश्वकर्माले भने, ‘जाने टोलीले खाने र लाउनका लागि सबै आफ्नो खर्चबाट व्यहोर्ने भनिएको छ
प्रकाशित : मंसिर ५, २०८० ०७:४४