कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७
बिचल्लीमा भूकम्पपीडित

सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै

चिसोले मेरो र बच्चाको मुख, आँखा, हातखुट्टा सुन्निएका छन्, न न्याना लुगा पाएकी छु, न त पेटभरि खान नै : विमला तिरुवा (१९ दिनकी सुत्केरी)
तृप्ति शाही

जाजरकोट — जाजरकोट नलगाड नगरपालिका–७ दल्लीकी एकमहिने सुत्केरी राधिका कुसारीको १६ दिनदेखि बारीमै बास छ । बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त घरमा बस्न नमिल्ने भएपछि उनी बारीमै त्रिपाल टाँगेर परिवारसँगै बस्दै आएकी हुन्, जसका कारण उनको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् । 

सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै

चिसोले शरीर दुख्नुका साथै रुघाखोकीसमेत लागेको उनले बताइन् । ‘मेरो र बच्चाको बिजोग छ,’ उनले भनिन्, ‘पर्याप्त खानेकुरा छैन, भएको चामल पनि सकिन थालेको छ । न्याना कपडा छैनन्, रातभर शरीरमाथि शीत चुहिन्छ ।’ चिसोले रुघाखोकी बढेपछि केही दिनअघि बच्चालाई अस्पताल लिएर गएको उनले बताइन् ।

भेरी नगरपालिका–४ खलंगामा रहेको एक विद्यालयको त्रिपालमा १९ दिनकी सुत्केरी विमला तिरुवा बसिरहेकी छन् । दिन जसोतसो घामको सहारामा कटे पनि रात कटाउन मुस्किल परेको उनले बताइन् ।

‘सुत्ने ठाउँमा शीत चुहिन्छ, चिसोले बच्चा र मलाई स्वास्थ्य समस्या देखिन थालेको छ,’ उनले भनिन्, ‘बच्चा र मेरो मुख, आँखा, हातखुट्टा सुन्निएका छन् । न न्याना लुगा पाएकी छु, न पेटभरि खान नै ।’

भाडामा बस्दै आएको घर भूकम्पमा भत्किएर बस्न नमिल्ने भएपछि उनको परिवार पालमा बस्न थालेको हो । भूकम्प आएको दिन उनी ३ दिनकी सुत्केरी थिइन् । ज्याला मजदुरी गर्ने उनका श्रीमान् भूकम्पपछि काममा जान पनि पाएका छैनन् । अहिले ५ जनाको परिवारलाई के खाने भन्ने चिन्ता रहेको उनले बताइन् । भाडामा बस्ने भएकाले स्थानीय सरकारले पनि चासो नदिएको उनको गुनासो छ । त्रिपालमा बस्न थालेपछि सन्चो नभएको दल्लीकी ९ महिनाकी गर्भवती १९ वर्षीया पूजा पुनले बताइन् । ‘मंसिर १४ मा डाक्टरले सुत्केरी हुने मिति दिएका छन्,’ उनले भनिन्, ‘अहिलेदेखि नै शरीर दुख्ने, हातखुट्टा सुन्निने समस्या देखिएको छ ।’ रातभरि चुहिने शीतले दिन प्रतिदिन गाह्रो हुँदै गएको उनले बताइन् ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी छन् । अन्य पालिकाको तथ्यांक संकलनको क्रममै रहेको उनले बताइन् ।

रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताए । उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् । सल्यानमा भूकम्पबाट ज्यादै प्रभावित दार्मा गाउँपालिका हो । पालिकाले भूकम्पबाट प्रभावित बालबालिका, गर्भवती र सुत्केरीको लगत संकलन जारी रहेको बताएको छ । तीन सयभन्दा बढी बालबालिका प्रभावित भएको अनुमान गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार १ सयको हाराहारीमा गर्भवती र सुत्केरी प्रभावित भएका छन् ।

प्रकाशित : मंसिर ४, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?