२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघका महासचिव गुटेरेसले दिए तीन सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने बताएका छन् ।

संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघका महासचिव गुटेरेसले दिए तीन सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।

'संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ,'उनले भने, संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।'

उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि बताए । 'नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो,' उनले भने, 'बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो ।'

महासचिव गुटेरेसले विगत बीस वर्षमा नेपालको प्रगति अचम्मको रहेको पनि बताए । 'शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको छ,' उनले भने, 'नेपाल आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको छ ।'

उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए । 'विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ,' उनले भने, 'यस यात्रामा म जलवायु संकटको भयावह प्रभाव आफैं हेर्न हिमालयको भ्रमण गर्नेछु ।'

महासचिव गुटेरेसले नेपालले विगत तीस वर्षमा एक तिहाइ हिँउ गुमाएको बताउँदै यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरहेको प्रति चिन्तासमेत प्रकट गरे ।

'समुदायहरूमा यसको प्रभाव विनाशकारी छ र म हिमालयमा बस्ने स्थानीयहरूको कुरा सुन्न उनीहरूलाई भेट्नेछु । उनीहरू कसरी प्रभावित छन् भनेर प्रत्यक्ष रूपमा बुझ्ने छु,' उनले भने ।

उनले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको उल्लेख गरे ।

प्रकाशित : कार्तिक १२, २०८० १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?