२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२
राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण

शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा

जगदीश्वर पाण्डे

काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नेपालको चारदिने भ्रमण गर्दै छन् । उनका लागि नेपाल भ्रमणका एजेन्डा र कार्यतालिकाको टुंगो लागेको छ । यसको टुंगो नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगले गरेका हुन् ।

शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए । महासचिवले त्यसलाई स्वीकार गरिहाले । महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन् । र, महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो ।

परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरू तय भइसकेको जानकारी दिए । ‘विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्यलगायत नेपाल भ्रमणका मुख्य एजेन्डा हुन्,’ उनले भने ।

महासचिव गुटेरेस आइतबार राति १ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नेछन् । उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री साउदले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महासचिव होटल जानेछन् । उनले दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुनेछन् ।

कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन् ।

लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन् । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ ।

महासचिवकै भ्रमणका लागि न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा नेपाल आइसकेका छन् । थापाको नेतृत्वमा रहेको स्थायी प्रतिनिधिको कार्यालय र यूएन तथा नेपाल सरकारबीच समन्वय गरेर महासचिवको नेपाल भ्रमणको मितिदेखि कार्यतालिका तय गरिएको हो । सन् २००८ मा यूएनका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए । संयोगले त्यस बेला पनि महासभामा भाग लिन जाँदा तत्कालीन प्रधानमन्त्री दाहालले नै मुनलाई निम्तो दिएका थिए । १५ वर्षपछि तेस्रो पटक प्रधानमन्त्री भएका दाहालले फेरि महासभामा महासचिव गुटेरेसलाई पनि भ्रमणको निम्तो दिएलगत्तै नेपाल जान तयार भएका हुन् ।

सन् २००८ अक्टोबरको अन्तिम साता नेपाल आउँदा काठमाडौंमा ‘जनयुद्ध’ बाट पहिलो पटक संसदीय राजनीतिमा आएको माओवादीको सरकार थियो । त्यस बेला महासचिव मुनले नेपालको शान्ति प्रक्रिया र नेपालले संयुक्त राष्ट्रसंघ मातहत रहेर संसारका विभिन्न मुलुकमा गएर नेपाली सुरक्षाकर्मीले गरेको योगदानका बारेमा चर्चा भएको थियो । साथै, उनी गौतम बुद्धको जन्मथलो लुम्बिनी गएका थिए । साथै, उनले सगरमाथालाई पनि अवलोकन गरेर फर्केका थिए । महासचिव गुटेरेसको भ्रमणका दौरान नेपालले केही महत्त्वपूर्ण विषयहरूलाई प्रस्तुत गर्ने र उनीमार्फत विश्वलाई नै सन्देश दिने गृहकार्य रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

नेपालले महासचिव गुटेरेसलाई नेपालमा लगेर सबैभन्दा महत्त्वपूर्ण रूपमा जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकमा कसरी परिरहेको छ भन्ने सन्देश संसारभर दिन चाहेको छ । नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ, जसले गर्दा पर्यावरणमा असर परिरहेको छ । महासचिव गुटेरेसले सोलुखुम्बुको स्याङ्बोचे र अन्नपूर्ण सर्किट अवलोकन गरेर जलवायु परिवर्तनले पारेको असरलाई संसारभर सन्देश प्रवाह गर्न लागेका हुन् ।

महासभामा भाग लिन पुगेका प्रधानमन्त्री दाहालले यूएनको मुख्यालयमा भएको ‘क्लाइमेट एम्बिसन समिट’ लाई पनि सम्बोधन गरेका थिए । त्यस क्रममा अति कम विकसित मुलुक (एडीसी) का अध्यक्ष तथा नेपालका प्रधानमन्त्रीका हैसियतमा दाहालले नेपालको राष्ट्रिय लक्ष्य सन् २०४५ सम्ममा ‘नेट–जिरो’ (शून्य कार्बन उत्सर्जन) मा पुग्ने बताएका थिए । नेपालले पेरिस सम्झौतालाई पालना गर्न प्रतिबद्ध रहेको उनले जनाएका थिए । पेरिस सम्झौताको मुख्य उद्देश्य पृथ्वीमा बढ्दो तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने हो । त्यसका लागि सदस्य मुलुकहरूले कार्बन उत्सर्जनलाई हटाउँदै जानेछ । एलडीसीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एलडीसीले जलवायु परिवर्तनको असर भोगिरहेको उल्लेख गरेका थिए । उनले एलडीसी मुलुकहरूले ३.३ प्रतिशत मात्र कार्बन उत्सर्जन गरेको बताउँदै एलडीसी मुलुकहरूलाई जलवायु परिवर्तनको सामना गर्न ५ कुरा गर्नुपर्ने प्रस्ताव पनि राखेका थिए ।

नेपाल सरकारले महासचिव गुटेरेसको भ्रमणका दौरान उनलाई र विश्वलाई नै दिन खोजेको अर्को सन्देश नेपालको आन्तरिक शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा रहेको स्रोतले बतायो । दाहालले यूएनको ७८ औं महासभामा सम्बोधन गर्दै संक्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो मुख्य राजनीतिक एजेन्डा रहेको बताएका थिए । उनले नेपालले स्वदेशमा विकसित शान्ति प्रक्रिया टुंग्याउने चरणमा पुगेका विश्व समुदायलाई जानकारी दिएका थिए । ‘हामी अब तार्किक रूपमा हाम्रो अद्वितीय, राष्ट्रिय स्वामित्वको तथा स्वदेशमा विकसित शान्ति प्रक्रिया समाप्त गर्न नजिक छौं,’ दाहालको भनाइ थियो, ‘प्रधानमन्त्री तथा बृहत् शान्ति सम्झौताको सहहस्ताक्षरकर्ताको हैसियतमा मैले प्रमुख सरोकारवालाहरूबीचको दूरीलाई पूरा गर्न र सहमति निर्माण गर्न गम्भीर प्रयास गरिरहेको छु ।’

पटक–पटक अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाइरहने विषयमाथि टिप्पणी गर्दै दाहालले पीडितका सरोकारलाई सम्बोधन गर्न तथा संक्रमणकालीन न्याय प्रक्रियालाई व्यापक रूपमा नेपाली समाजको स्वामित्वमा राख्न संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संघीय संसद्मा पेस गरिएको पनि जानकारी दिएका थिए । उनले प्रस्तावित संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा व्यापक परामर्श प्रक्रियामार्फत विकसित हुने, पीडित केन्द्रित दृष्टिकोण लिने र पीडितको अधिकारका रूपमा परिपूरणलाई मान्यता दिने पनि दाबी गरेका थिए ।

‘संक्रमणकालीन न्यायको प्रक्रियामा मानवअधिकारको गम्भीर उल्लंघनका लागि कुनै पनि आममाफी हुने छैन । शान्ति, न्याय र मेलमिलापको माध्यमबाट देशमा दिगो शान्ति स्थापना गर्नॅ र समाजमा सद्भाव कायम गर्नॅ परम उद्देश्य हो,’ प्रधानमन्त्री दाहालको भनाइ थियो, ‘म अन्तर्राष्ट्रिय समुदायलाई हाम्रो शान्ति प्रक्रियाको अन्तिम चरणको निष्कर्षमा सद्भाव र समर्थनका लागि अपिल गर्दछु । सफल द्वन्द्व रूपान्तरणको यो दुर्लभ उदाहरणलाई उचित रूपमा मान्यता दिन चाहन्छु ।’

दाहालले महासचिवको भ्रमणका दौरान नेपाल अब राजनीतिक गतिले स्थिर आकार लिएको उल्लेख गर्दै अबको ध्यान आर्थिक रूपान्तरणमा रहेको सन्देश दिन चाहेको पनि स्रोतले बतायो । दाहालले यूएनकै सम्बोधनका क्रममा नेपाल राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक विकासले मात्र दिगो बनाउन सक्ने कुरामा सचेत रहेको उल्लेख गरेका थिए ।

उनले नेपाल अहिले अल्पविकसित मुलुकहरूको अध्यक्षको हैसियतमा आफ्नो सामूहिक हितको रक्षा गर्न र त्यसलाई प्रवर्द्धन गर्न यूएन प्रणालीलगायत सबै सान्दर्भिक फोरममा एलडीसीसँग सहकार्यमा सक्रिय रूपमा संलग्न हुने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

महासचिव गुटेरेसको भ्रमणमा नेपालका सुरक्षाकर्मीहरूले यूएन मातहत रहेर संसारका द्वन्द्वग्रत मुलुकमा पुर्‍याउँदै आएको शान्ति स्थापनाका बारेमा पनि चर्चा हुनेछ । नेपालले सन् १९५८ देखि विश्वमा शान्ति स्थापनाका लागि योगदान गर्दै आइरहेको छ । नेपाल अहिले संख्याको हिसाबमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने मुलुकमा विश्वमै दोस्रो नम्बरमा रहेको छ । महासचिव गुटेरेसलाई नेपाली शान्ति सैनिकको सम्बन्धमा पनि नेपाल भ्रमणमा जानकारी गराइनेछ । स्रोतका अनुसार त्यसले नेपालले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र यूएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीहरूलाई पुग्नका लागि सहज हुनेछ ।

प्रकाशित : कार्तिक ११, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x