कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

ग्राउन्ड जिरो रिपोर्टिङ : साइरन सुन्दै, बंकरमा छिर्दै

‘एउटा गोली बायाँ छातीको माथिल्लो भागमा छिर्‍यो, अर्को दायाँ छातीमा, तेस्रो गोली बायाँ हातको साइँली औंलामा लाग्यो । दुई घण्टासम्म त अब बाँच्नै नपरे पनि हुन्थ्यो र फेरि आएर सुट गरिदिए पनि हुन्थ्योजस्तो भयो ।’

हर्जोलिया, इजरायल — आइतबार दिउँसो २ बजे हामी गोरखाका हिमाञ्चल कट्टेलसँग कुराकानी गरिरहेका थियौं, एक्कासि साइरनको ठूलो आवाज गुन्जियो । करिब ७० किलोमिटर टाढा रहेको गाजा क्षेत्रबाट प्रहार गरेको लामो दूरीको रकेट हर्जोलियातर्फ सोझिएपछि सावधान रहन साइरन बजिरह्यो ।

ग्राउन्ड जिरो रिपोर्टिङ : साइरन सुन्दै, बंकरमा छिर्दै

अन्डरग्राउन्डमा रहेको बंकरमा गएर बसिहाल्यौं । एक मिनेटको अवधिमा हमासले प्रहार गरेका ६ वटा रकेटलाई इजरायलको आइरन डोमले आकाशमै निस्तेज बनाइदियो । रकेट भुइँमा झर्न दिइएन ।

‘साइरनको आवाज आउँदा मन नै झसंग हुन्छ, एक साताअघिको दर्दनाक घटनाको स्मरण गराइदिन्छ, जुन कहिले पनि सम्झनामा नआओस् जस्तो लाग्छ,’ २४ वर्षीय कट्टेलले कान्तिपुरसँग भने, ‘जतिसक्दो बिर्सन खोज्छु, सकिँदैन ।’

गत अक्टोबर ७ मा गाजा क्षेत्रबाट चार किमि दूरीमा रहेको किबुज अलुमिममा बिहान ६ बजेदेखि यस्तै रकेटको वर्षा भइरहेको थियो । ती रकेट कट्टेलको आवास गृहमा त झरेनन् । तर, प्याराग्लाइडिङबाट उडेर इजरायल भूमिमा प्रवेश गरेका हमास लडाकुको निसानाबाट भने उनी जोगिएनन् ।

‘किबुजभित्र प्रवेश गर्न गेटको पासवर्ड चाहिन्छ । पासवर्ड थाहा नभएका लडाकुहरू कतिखेर र कसरी भित्र छिरेर कब्जा गरिसकेको कसैले भेउ नै पाएनौं,’ उनले भने, ‘एउटा टोली आएर गोली चलायो । ग्रिनेड फाल्यो । त्यसबाट जोगिएको थिएँ । त्यसको दुई घण्टापछि अर्को टोलीले बंकरको ढोका फोरेर ताकी ताकी गोली हान्यो । तीनवटा गोली मलाई पनि लाग्यो ।’

एउटा गोली बायाँ छातीको माथिल्लो भागमा छिर्‍यो । अर्को गोली दायाँ छातीमा लाग्यो । तेस्रो गोली बायाँ हातको साइँली औंलामा लाग्यो । ‘गोली लागेको दुई घण्टासम्म अब बाँच्नै नपरे पनि हुन्थ्यो भन्ने भयो, एकदमै पीडा । फेरि आएर सुट गरिदिए हुन्थ्यो जस्तोसमेत लागेको थियो,’ उनले भने, ‘पीडा कम हुँदै गएपछि अब बाँच्नुपर्छ भनेर मनलाई दरिलो बनाएँ । आफूसँगै घाइते भएर बाँचेका दाङका प्रवीण डाँगीलाई सम्झाएँ । डाँगीले मलाई सम्झाए । तर ५ जना साथीहरू आँखै अगाडि गुमायौं ।’ कट्टेलले आफूसँगै रहेका १० नेपालीलाई गुमाउनुपर्‍यो, जसमध्ये आइतबार मात्र नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशप्रसाद नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव पहिचान भएको छ ।

गोली लागेको ६ घण्टापछि बल्ल इजरायली आर्मीको उद्धारमा परे कट्टेल । ‘अलुमिम किबुजमा हामी १२ सय जना बस्थ्यौं । यसमा नेपाली, थाइल्यान्ड र इजरायलकै नागरिक थियौं । काम गर्थौं । इजरायलका नागरिकहरूको सामूहिक खेती थियो । कुखुरा पाल्थे । सागसब्जी हुन्थ्यो । फलफूल खेती थियो । मैले सुन्तला र भोगटे टिप्ने जिम्मेवारी पाएको थिएँ,’ उनले भने, ‘यसरी सबै रमाएर बसिरहेको ठाउँमा हमास छिरेर तहसनहस बनाइदियो । हामीले केही बिगारिदिएका थिएनौं ।’

कट्टेल नियमित उपचारका लागि कम्तीमा पनि दुई महिना इजरायलमै बस्नुपर्ने छ । गत शुक्रबार अस्पतालबाट डिस्चार्ज भएपछि नेपाली दूतावासमा ल्याएर राखिएको छ । उनीसँगै घाइते भएका प्रवीण डीसीको जेरुसेलमस्थित सअरे जेडेक अस्पतालमा उपचार भइरहेको छ । गोलीले प्रवीणको खुट्टामा गम्भीर क्षति पुगेको छ ।

‘एक पटक खुट्टाको अप्रेसन भइसकेको छ, थप अप्रेसनका लागि नेतिपोटबाट जेरुसेलम ल्याइएको हो,’ उनले भने, ‘यहाँ एक्लोपनको अनुभव भएको छैन । नर्सदेखि सामाजिक कार्यकर्ता पनि रेखदेख गर्न आइराख्नुहुन्छ । यसले मलाई हौसला दिएको छ ।’

वीरसेवास्थित सोरेका अस्पतालमा उपचाररत विधान सेजुवालको पनि खुट्टामै गम्भीर चोट छ । उनी ग्रिनेड लागेर घाइते भएका थिए । ‘हामीलाई हमास लडाकु किबुजभित्रै छिर्छन् भन्ने कहिल्यै लागेकै थिएन । भित्र बंकरमा बसिरहेका बेला बाहिर कसैले बोलायो । इजरायली होला भनेर साथीहरू निस्किए । साथीहरूमाथि गोली र ग्रिनेड फाल्दा म पनि परें,’ उनले भने, ‘अहिले स्वास्थ्य बिस्तारै सुधार भइरहेको छ ।’

७ अक्टोबरमा मात्र हमासको आक्रमणमा परी विदेशीसहित १३ जनाको मृत्यु भयो । इजरायलको रकेट प्रहारबाट आइतबारसम्म २ हजार ३ सय ८२ जना प्यालेस्टाइनी नागरिकको ज्यान गइसकेको छ । दुई पक्षीय लडाइँले सीमा क्षेत्र थप तनावपूर्ण बनेको छ । इजरायलले स्थल, जल र हवाईबाट एकसाथ आक्रमण गर्ने चेतावनी दिएपछि एक साताको अवधिमा गाजाबाट १० लाख प्यालेस्टाइनी विस्थापित भइसकेका छन् ।

हमासले पनि इजरायलतर्फ आक्रमण बढाउने भएपछि जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा नागरिकलाई सारिरहेको छ । बोर्डर नजिकै कार्यरत नेपाली कियरगिभरहरू पनि सुरक्षाका लागि तेलअभिभतिर आएका छन् । ‘म आस्केलोनमा कियरगिभरमा काम गरिरहेको थिएँ । यो क्षेत्र त्यति सुरक्षित नभएपछि अहिले तेलअभिभमा आएर बसेको छु,’ तेह्रथुमकी रीना राईले भनिन्, ‘यहाँको परिस्थिति हेर्दै छु । मैले स्याहारसुसार गर्ने एकजना वृद्धा हुनुहुन्छ । उहाँलाई पनि यतै ल्याइएको छ ।’

निवासमा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल।

नेपाली दूतावासका अनुसार तत्काल जोखिमयुक्त ठाउँमा नेपाली कियरगिभर छैनन् । ‘६ सय ३९ जना नेपालीले स्वदेश फिर्नका लागि आवेदन दिएका छन्, यीमध्ये २ सय ५४ जना विद्यार्थीलाई स्वदेश पठाइएको छ । अब तुरुन्तै जान खोज्नेहरू ६१ जना छन् । त्यसका ७५ प्रतिशत नेपाली आफ्नै लगानीमा घर फिर्न खोजिरहेका छन्,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भनिन्, ‘जसलाई तुरुन्तै सेल्टर चाहिएको छ । उनीहरूका लागि दूतावासले आवास व्यवस्था गरेको छ ।’

प्रकाशित : आश्विन २९, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?