१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

संसद्‌मा उठ्यो महँगी र शान्ति सुव्यवस्थाको प्रश्न 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्ना धारणा राख्ने अधिकांश सांसदले दसैँ तिहारलगायत चाडबाडका बेला उपभोक्ता बजारमा देखिने समस्या न्यूनीकरण र शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद्‌मा उठ्यो महँगी र शान्ति सुव्यवस्थाको प्रश्न 

पछिल्लो समय देशका विभिन्न स्थानमा जातीय तथा साम्प्रदायिक हिंसाका घटना बढेको विषय पनि संसद्‌मा गम्भीरताका साथ उठेको छ । विशेष समयमा बोल्ने सांसदले किसानका समस्या, बाढी पहिरो तथा प्राकृतिक विपद् पीडित नागरिकलाई राहतलगायत विषय उठाएका छन् ।

सांसद रामकृष्ण यादवले तराईका जिल्लामा किसानले मल, बीउ र सिँचाइको सुविधा नपाउँदा समस्यामा रहेको उल्लेख गर्दै धानबाली पाक्ने बेलामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पाउने अवस्थाको प्रत्याभूतिका लागि सरकारसँग माग गरेका थिए ।

त्यस्तै, चाडबाडको समयमा उपभोग्य वस्तुको मूल्यवृद्धि भएकोबारे पनि उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तथा पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा असर पर्ने गरी भइरहेका जातीय तथा धार्मिक हिंसाका घटनाबारे पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

एमाले सांसद ठाकुरप्रसाद गैरेले सडक यातायातसँग सम्बन्धित पूर्वाधार निर्माणमा सरकारकेन्द्रित हुनुपर्ने बताए । त्यस्तै, चाडबाडका बेला महँगी तथा कृतिम अभाव नियन्त्रण एवं सहज र पहुँचयुक्त यातायात सुविधाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

संविधानमा देखिएका नागरिकका अधिकार कार्यान्वयनका लागि थप जोड दिइनुपर्ने धारणा सांसद जनार्दन शर्माले राखेका थिए । नेपाल बहुजाती, बहुधर्म, बहुसंस्कृति भएको मुलुक भएकाले संविधानको मर्म र भावनाअनुसार शान्ति सुव्यवस्था कायम राख्न उनले आग्रह गरेका थिए ।

सांसद शर्माले मंगलबार नेपालगन्नमा भएको घटना, पूर्वी तराईका जिल्लामा यसअघि भएका धार्मिक तथा साम्प्रदायिक हिंसाका घटना गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै यस्ता घटना घट्न नदिन सरकारले गम्भीर हुनुपर्ने बताए ।

शान्ति प्रक्रियाका कामलाई चाँडो टुंग्याउनुपर्ने धारणा पनि सांसद शर्माको माग थियो । चाडपर्वका बेला महँगी बढ्न नदिन अगनुमन, निरीक्षण गर्ने र दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन आपूर्ति व्यवस्था सहज बनाउन उनले आग्रह गरेका थिए । चाडबाड मनाउन जाँदा सबै यात्रुले सहजरुपमा यातायात सुविधा पाउनुपर्नेतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

नेपालगन्न भएको घटनाबारे सांसद हरी ढकालले पनि संसद्‌मा कुरा उठाएका थिए । अहिले मुलुक आर्थिकमन्दीमा गइरहेको तर यसको कारणबारे भने कसैले सोधखोज गर्न नचाहेको उनले बताए । अहिले बजारमा प्रशस्त लगानीयोग्य रकम हुँदाहुँदै पनि कर्जाको माग बढ्न नसकेको रास्वपा सांसद ढकालको भनाइ थियो । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले गरिरहेका कामबारे पनि सांसद ढकालले संसद्‌मा प्रश्न उठाएका थिए ।

राप्रपा सांसद ध्रुवबहादुर प्रधानले नेपालको सुशासन कमजोर हुँदै गएको दाबी गर्दै सीमा सुरक्षामा जोड दिनुपर्ने र स्पष्ट परराष्ट्र नीतिमार्फत छिमेकी मुलुकसँग असल सम्बन्ध बनाइराख्नुपर्ने बताए । नेपालले चीन र भारतसँगको सीमाना विवादबारे पनि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।

जसपाका सांसद प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसुलको विषय उठाएका थिए । डेडिकेटेड ट्रंकलाइनको बक्यौता महसुल उठाउनका लागि प्राधिरणले सूचना जारी गर्दा पनि सरकारको आडमा व्यापारीबाट बक्यौता असुलउपर हुन नसक्नु दुःखद् रहेको उनको भनाइ थियो ।

अहिले नागरिकको क्रयशक्ति बढिरहेको र उपभोग्य वस्तुको मूल्यवृद्धि अत्यधिक भइरहेको विषय एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले संसद्मा उठाएका थिए । बाढी पहिरोबाट पीडित नागरिकका लागि दशैँ, तिहारअगावै राहत उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

जनमतका सांसद अब्दुल खांनले गैरआवासीय नेपालीले नेपालमा लगानी गर्नका लागि दोहोरो कर नलाग्ने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । भुटानी शरणार्थीका मुद्दा सम्बोधनका लागि पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामप्रकाश चौधरीले यस वर्ष पूर्वी तराईका केही जिल्लामा पानी नपर्दा सिँचाइ नभएपछि त्यहाँका किसान समस्यामा रहेको विषय संसद्मा उठाए । नागरिक उन्मुक्तिका सांसद लालविर चौधरीले अहिले धानबाली भित्र्याइरहेको बेला साहु महाजनले न्यून मूल्यमा धान खरिद गर्ने भएकाले किसानलाई न्यूनतम मूल्य पाउने प्रत्याभूति सरकारले दिलाउनुपर्ने बताए ।

सांसद प्रभु साहले नेपालमा सञ्चालित मदरसा शिक्षालाई सामुदायिक विद्यालयको मान्यता दिनुपर्ने र मदरसा शिक्षालाई राज्यले नजरअन्दाज गर्न नहुने विषय संसद्मा उठाए । मदरसा ऐन ल्याउन र मदरसा बोर्ड गठन गर्न पनि उनले सरकारसँग माग गरेका थिए ।

प्रकाशित : आश्विन १६, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?