२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एकीकृत समाजवादीको मेची–महाकाली जागरण अभियान सुरू

देश हाँक्न सक्ने ल्याकत कम्युनिस्टसँग मात्रै : नेपाल
पर्वत पाेर्तेल

झापा — नेकपा (एकीकृत समाजवादी) मेची–महाकाली राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आइतबार देशको पूर्वी नाका काँकडभिट्टाबाट अभियान थालिएको हो ।

एकीकृत समाजवादीको मेची–महाकाली जागरण अभियान सुरू

देश रूपान्तरणको मूल एजेन्डासहित सुरू अभियानमा केन्द्रीय अध्यक्ष माधनकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्धय घनेन्द्र बस्नेत र जयन्ती राई, कृषिमन्त्री बेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, पूर्व मन्त्री रामकुमारी झाँक्री, दिपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

असोज २८ गते महाकालीको सुर्खेत पुगेर समापन हुने जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देश हाँक्न सक्ने ल्याकत कम्युनिस्टहरु बाहेक अन्य पार्टीसँग नभएको दाबी गरे ।

नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारप्रति लक्षित गर्दै उनले सरकारले अब पनि जनताको पीरमार्का बुझ्न र समस्याहरु समाधानको बाटो अबलम्बन सकेन भने सरकारप्रति जनताको माया कम हुँदै जाने बताए । उनले थपे,‘त्यसैले यो सरकारले जनअपेक्षा बमोजिम काम गर्नुको विकल्प छैन ।’

एमालेसँग विद्रोह गरी एकीकृत समाजवादी गठन गरेका पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टी युवा, किसान, महिला, दलित उत्पीडित र पिछडिएका समुदायहरुसँग हातेमालो गरेर अघि बढ्ने जनाए ।

उनले समाजवादको यात्रामा कम्युनिस्टहरु फुटेर हैन, जुटेर अघि बढ्नुपर्ने जनाउँदै थपे,‘समाजवादको बाटोमा कम्युनिस्टहरूबीच एकता आवश्यक छ त्यसैकारण चार कम्युनिस्टबीच मोर्चाबन्दी भएको हो ।’

वरिष्ठ नेता झलनाथ खनालले दलाल पूँजीवादी शासन व्यवस्थाले देशकब्जा गरेको भन्दै कम्युनिस्ट सरकारले समेत अहिलेसम्म जनताको गाँस, बास र कपासको व्यवस्था गर्न नसक्नु दुखद भएको जनाए ।

पूर्व प्रधानमन्त्री खनालले पूँजीवादी व्यवस्थाको विकृति र विसंगतिलाई निर्मूल पार्न समाजवादको विकल्प नरहेको जनाए । ‘जबसम्म देशमा समाजवाद आउँदैन तबसम्म जनताले सुख पाउँदैनन्’, खनालले थपे ।

केन्द्रीय उपाध्यक्ष जयन्ती राईले कोशी प्रदेशको नामाकरणका विषयमा चाँडो छलफल गरेर समस्या समाधान गर्न पार्टीलाई सुझाव दिइन् ।

महासचिव घनश्याम भूसालले राजनीति बिग्रिएका कारण गणतन्त्रले पनि बाटो बिराउन थालेको बताउँदै नेपाली कम्युनिस्ट पार्टीबीच एकताका विकल्प नरहेको दाबी गरे । गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता उपलब्धीको रक्षाका खातिर पनि कम्युनिस्टहरु एक हुनुपर्ने उनको तर्क थियो ।

अभियान बिर्तामोड, दमक, इटहरी, सप्तरी, धनुषा, रौतहट, बारा, चितवन, रुपन्देही, बुटवल, दाङ, बाँके, बर्दीया, टिकापुर, धनगढी, महेन्द्रनगर हुँदै २८ गते सुर्खेत पुगेर समापन हुने प्रदेश अध्यक्ष बलदेव चौधरीले जनाए ।

प्रकाशित : आश्विन १४, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?