१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्द्रजात्रा महोत्सव काठमाडौंको ‘ब्रान्ड फेस्टिभल’

इन्द्रजात्रामाथि बढ्दै गइरहेको चासो र सहभागिताले यसलाई ग्रान्ड मात्रै होइन, काठमाडौंकै ‘ब्रान्ड फेस्टिभल’ बनाइदिएको छ
दीपक सापकोटा

काठमाडौँ — नीलो आकाशमा रंगीन चंगा उडाइरहेका नानीहरू इन्द्रलाई भनिरहेका छन्– ‘भयो भयो इन्द्र, अब पानी नपार ।’ गत मंगलबार (भाद्र शुक्ल द्वादशी) बिहानको शुभसाइतमा हनुमानढोका कागेश्वर मन्दिरसँगैको खुला ठाउँमा यःसिं (इन्द्रध्वज) उठाएपछि इन्द्रजात्रा आरम्भ भएको हो । आज बिहीबार इन्द्रजात्रा । काठमाडौंका भित्री चोक–गल्लीमा बजिरहेका धिमेका धून–दाफाभजन, तान्त्रिक देवी कुमारीको रथयात्रा, लाखे, पुलुकिसी, दी प्याखं (देवी नाच) ले काठमाडौं संगीतमय, जात्रामय र उल्लासमय बनेको छ ।

इन्द्रजात्रा महोत्सव काठमाडौंको ‘ब्रान्ड फेस्टिभल’

'इन्द्रजात्रा ठूलो गरिमा भएको पर्व हो,’ इतिहासकार महेशराज पन्तले भने, ‘भादगाउँको खास जात्रा बिस्केट, पाटनको रातो मच्छिन्द्रनाथ र काठमाडौंको ब्रान्ड इन्द्रजात्रा हो ।’ इतिहास शिरोमणि बाबुराम आचार्यले इन्द्रजात्रालाई नेपालकै सबैभन्दा प्राचीन जात्रा भनेर लेखेका छन् ।

यस विषयमा अध्ययन गरेका फ्रान्सेली विद्वान् जेराँर्ड तोफाँले पनि इन्द्रजात्रालाई काठमाडौंको मुख्य जात्रा भनेका छन् । इन्द्रजात्राकै दिन ‘कुमारी’ उपन्यास सार्वजनिक गरिरहेका संस्कृतिविद् मल्ल के. सुन्दरले कुमारीको कथा इन्द्रजात्रासँग जोडिने बताए । ‘कुमारी ३६५ दिन नै पुजिन्छिन्, प्राचीनकालदेखि नै काठमाडौंवासीका लागि उनी आराध्यदेवी हुन्,’ उनले भने, ‘बनेपाको चण्डेश्वरी देवीसँग सम्बन्धित मिथकलाई किताबमा लेखेको छु । काठमाडौंको नरदेवी (नेत अजिमा) अष्टमात्रिकामध्ये सबैभन्दा जेठी हुन्, तिनैकी छोरीले चण्डासुरलाई पराजित गरेपछि स्थानीयले कुमारीलाई पुज्न थालेका हुन् ।’

चाबहिल, मखन, ठमेल, पाटन, बुंगमति, वटु, भक्तपुरमा पनि कुमारी स्थापना गरी पूजा गरिन्छ । कुनै एक ठाउँकी कुमारी बिरामी भएर उनले पूजा ग्रहण गर्न नसक्ने अवस्था आए अर्को स्थानको कुमारी लगिन्छ । यो लिच्छविकालदेखिकै प्रचलन हो ।

यःसिं उठाइएकै दिन सर्वसाधारणका लागि हनुमानढोकामा श्वेत भैरव (हाथु द्यः) को मूर्ति–दर्शन खुला गरिएको थियो । त्यही साँझ यस वर्ष दिवंगत व्यक्तिका नाममा आफन्तले काँचो माटोको पाल्चा (दियो) राख्दै, धुप–बत्ती बाल्दै बाजागाजासाथ तोकिएको परम्परागत निश्चित मार्ग परिक्रमा गरेका थिए । र, कुमारी घरसँगैको मन्दिरपछाडि विष्णुका विभिन्न अवतारको झाँकी पनि देखाइयो । अनि मरु नासः द्य र सिँल्यं सतः अघि दुवै हात फैलाएर बाँधिएका इन्द्रको मूर्ति प्रदर्शन गरियो । नेपालभाषामा इन्द्रजात्रालाई ‘यँया’ भनिन्छ । मध्यकालमा काठमाडौंको नाम थियो– कान्तिपुर । त्यसअघि यो सहरलाई ‘यँ’ भनिन्थ्यो । ‘या’ को अर्थ हो– यात्रा वा जात्रा । इतिहासकार बाबुराम आचार्यका अनुसार लिच्छविकालमा दक्षिण कोलिग्राम क्षेत्रमा ‘इन्द्र–गृह’ भनिने भव्य राजदरबार मानदेव प्रथमले बनाएका थिए । दरबारछेउ इन्द्रध्वजोत्सव मनाइन्थ्यो ।

काठमाडौंको प्रकृति र संस्कृतिको सर्वोत्तम छटा प्रकट हुन्छ– इन्द्रजात्रामा । यो बेला प्राकृतिक रूपमा संसारैभरि दिन र रात बराबर हुन्छ– न गर्मी, न जाडो, न वर्षा, न खडेरी । ‘यसरी प्रकृति र वातावरणको साथै हाम्रो संस्कृतिको सन्तुलनविन्दुको केन्द्रमा इन्द्रजात्रा पर्छ,’ वनस्पतिविद्, संस्कृति अध्येता तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘शरद ऋतुको यो सुन्दर मौसमले काठमाडौंलाई जात्रा, नाचगान र संगीततिर डोर्‍याउँछ ।’ यो केवरा (पंखा स्वाँ) फुल्ने विशेष समय हो, जुन फूलले भैरव र कुमारी सिंगारिन्छ ।

उसै पनि काठमाडौंलाई जात्रै–जात्राको सहर भनिन्छ । नेपालमाथि अध्ययन गर्ने धेरै विदेशी विद्वान्ले यहाँको जात्रा–पर्व र सम्पदामाथि चर्चा गर्न छुटाउँदैनन् । तर, काठमाडौंमा धेरै जात्रा–पर्व मनाइए पनि इन्द्रजात्राले जति कम्पन–सिर्जना अरू जात्राले गर्दैन । यो काठमाडौंको यस्तो विशद् महाउत्सव हो, जसमा धार्मिक–सांस्कृतिक मात्रै होइन, नगरको सामाजिक–राजनीतिक जीवन पनि उत्तिकै घुलमिल हुन्छ ।

हनुमानढोकामा लिंगो ठड्याइँदै  ।

संस्कृति अध्येता सुरेश किरणका विचारमा इन्द्रजात्रा काठमाडौंको एक ‘ग्रान्ड फेस्टिभल’ हो । ‘बढ्दै गइरहेको चासो र सहभागिताले यसलाई ग्रान्ड मात्रै होइन, काठमाडौंकै ब्रान्ड फेस्टिभल बनाइदिएको छ,’ उनले भने, ‘यो फेस्टिभललाई काठमाडौंको ‘ब्रान्ड’ बनाउन अहिले काठमाडौं महानगरपालिका पनि देखिने गरी नै सरिक भएको छ ।’ पूर्वमेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रा अवलोकन गर्न महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विदेशी नगरका मेयर–उपमेयरलाई काठमाडौं आमन्त्रण गरेका थिए । वर्तमान मेयर बालेन शाहले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

अहिले त इन्द्रजात्रा काठमाडौंमा मात्रै होइन, नेवार समुदायको सघन बसोबास भएको विदेशी भूमिमा पनि आ–आफ्नै प्रकारले मनाउन थालिएको छ । भारतको सिक्किममा इन्द्रजात्राका दिन सार्वजनिक बिदा नै दिइन्छ । त्यहाँ कुमारीको रथसमेत तान्ने गरिन्छ । यस वर्ष अमेरिकाको ड्यालस, न्युयोर्क, क्यालिफोर्नियाको बर्कले, सिकागो, कोलोराडो, बोस्टन, डीसी भर्जिनिया र मेरिल्यान्डमा इन्द्रजात्रा मनाउने घोषणा भइसकेको छ । यो जात्रा बेलायत, क्यानडा, अस्ट्रेलिया र जापानमा पनि मनाइन्छ । इन्द्रजात्राले काठमाडौंको सीमा पार गरी विदेशी भूमिमा समेत लामो यात्रा गरेको छ । र, यसो हुनुले पनि यो जात्राको ‘ब्राण्ड भ्याल्यू’ पुष्टि गर्छ ।

इन्द्रजात्राका बेला सहरमा नाचहरूले झनै उल्लास थप्छ– लाखे, पुलुकिसि, दी प्याखं, महाकाली प्याखं, सवःभकु प्याखं आदि । सबै नाचको आ–आफ्नै धुन र लय भएका छुट्टाछुट्टै विशेषतायुक्त बाजा छन् । एउटा नाचको बाजा अर्कोसँग मिल्दैन । साथमा नेपाली सेनाको शार्दूल जंग गुल्मअन्तर्गतको गुर्जुको पल्टन छुट्टै बाजासाथ उपस्थित हुन्छ ।

विभिन्न टोलका जात्रालु पनि धिमे, नाय्खिंजस्ता परम्परागत बाजा बजाउँदै जात्रामा सहभागी हुन्छन् ।‘करिब एक दर्जन यी छुट्टाछुट्टै वाद्यवादन र धुनको उन्मादपूर्ण गुञ्जनले काठमाडौंको आकाश पनि मस्तले नाचेजस्तो भान हुन्छ’, किरण भन्छन् ।

इन्द्रजात्राको पहिलो दिन मंगलबार वसन्तपुरस्थित श्वेतभैरवमा प्रसाद बाँड्दै

आठ दिन, आठ रात चल्ने इन्द्रजात्रामा तीन दिन जीवित देवताहरू कुमारी, गणेश र भैरवको रथ तानिन्छ । हनुमानढोका दरबार क्षेत्रबाट कुमारीको रथ तानिन्छ । जैसी देवल, लगन, चिकंमुगः, कोहिटी, भीमसेनस्थानमा रथ तान्न राष्ट्रप्रमुखदेखि विशाल समुदायको भीड लाग्छ– अनेक बाजागाजा साथ । असोज १५ को राति ८ः३७ बजे यःसिं ढालेपछि यस वर्षको इन्द्रजात्रा समाप्त हुनेछ । टोलटोलमा भैरवका मूर्तिहरू प्रदर्शन गरी मूर्तिको मुखबाट जाँड तर्पण गरिएको हुन्छ । यीमध्ये हनुमानढोका हाथु द्यः (श्वेत भैरव) को मुखबाट झारिएको प्रसादरूपी जाँड ग्रहण गर्न जात्रालुको तँछाडमछाडले जात्रा अझै रोमाञ्चित बन्छ ।

इन्द्रजात्रामाथि थुप्रै मायावी लोककथन र जनविश्वास छन् । यो मूलतः स्वर्गका राजा देवराज इन्द्रकै जात्रा हो । विष्णु धर्मोत्तर पुराण भन्छ– नीलो लुगा लगाएको, स्वर्णजस्तो अनुहार, निधारमा तेस्रो आँखा, सम्पूर्ण गहना लगाएको, देव्रेतिर पत्नी शची र ऐरावत हात्तीसहित बसेका राजा हुन् इन्द्रदेव । भनिन्छ– ऋग्वेदकालीन समयमा इन्द्र यो जम्बुद्वीपकै सर्वाधिक प्रचलित देवता थिए । पुराण र उपनिषद्काल सुरु भएपछि इन्द्र हराउँदै गए र त्यो ठाउँमा शिव, विष्णु एवं अन्य शक्ति देवीहरू स्थापित हुँदै गए । बाबुराम आचार्यले ‘नेपालको सांस्कृतिक परम्परा’ पुस्तकमा उल्लेख गरेअनुसार वैदिककालदेखि नै इन्द्रजात्रा मनाइन्थ्यो । भारतको बंगाललगायतका ठाउँमा इन्द्रध्वजोत्सव हुन्थ्यो । तर, इस्लामको प्रवेशपछि भारतबाट यो परम्परा हरायो । तर, भारतमा सुरु भएको इन्द्रजात्रा नेपालमा पूर्णरूपमा स्थानीयकरण भएको छ । भारत वर्षमै हराइसकेको इन्द्रको जात्रा काठमाडौंमा धुमधामपूर्वक मनाइन्छ, यो नै यसको प्राचीनताको पहिलो दसी हो ।

इन्द्रजात्रा काठमाडौंको मात्रै जात्रा हो भन्ने कुरामा सहमत छैनन् इतिहासकार महेशराज पन्त । उनका अनुसार महाभारतमा उपरिचर वसु भन्ने राजाले इन्द्रध्वज गाड्ने चलन चलाएका हुन् । ‘प्राचीनकालदेखि नै इन्द्रध्वज गाड्ने चलन थियो । र, कालीदासको रघुवंशमा रघु राजाले इन्द्रध्वज गाडिसकेपछि मात्रै दिग्विजयका लागि गएको भन्ने वर्णन छ,’ पन्तले भने, ‘इन्द्रजात्रा शरद ऋतुमा पर्छ, वर्षा सकिएपछि राज्यको नीति हुन्थ्यो, छिमेकी राज्यमा हमला गर्न जाने– त्यसबेला इन्द्रध्वज गाडेर, पूजाआजा गरेर विजयात्रा सुरु गर्थे । त्यसैले यो अखिल भारतवर्षकै जात्रा हो ।’

इतिहासकार पन्तका अनुसार भारतको बंगालमा एउटा सानो ठाउँमा स्थानीय राजाले ३ सय वर्षअघि इन्द्रजात्रा मनाएको टिपोट छ । भारतमा ८ सय वर्ष मुसलमान र अंग्रेजको शासन भएकाले यी प्राचीन परम्परा लुप्त भए । तर, काठमाडौंका नेवार समुदायले तिनलाई जोगाएर राखे । ‘काठमाडौंमा प्राचीनकालदेखि नीरअविछिन्न रूपले इन्द्रजात्रा मनाइएको छ । जात्रामा कुमारी कहिले जोडिन आयो, त्यो पनि अनुसन्धानको विषय हो,’ उनले भने, ‘सातौं शताब्दीका बराह–मिहिरको बृहत्तसंहितामा इन्द्रध्वजको पनि वर्णन छ, कुमारीको पनि वर्णन छ । हामीकहाँ जस्तो जोडेर वर्णन भएको छैन । न इन्द्रजात्रा, न कुमारी नेपाल खाल्डोको मात्रै हो, यो अखिल भारतवर्षकै पर्व हो । उता हरायो, हामीकहाँ जोगियो ।’ हाम्रा प्रायः जात्रा प्राचीनकालमै चलेको पन्त बताउँछन् । ‘कुमारी पनि नेवार संस्कृति भन्छन्, तर त्यो चलन भारतको ७ औं शताब्दीमा थियो भनिन्छ,’ उनले भने, ‘भारतमा त्यो चलन हरायो तर यहाँ निरन्तर छ ।’

लोककथाले भन्छ– जयप्रकाश र तुलजा भवानी सँगै पासा खेल्थे । र, उनी तुलजासँग राजकाजबारे सल्लाह लिन्थे । तुलजा पर्दाभित्र रहन्थिन् र बाहिर हात देखाई पासा खेल्थिन् । जयप्रकाशलाई एक दिन लागेछ– भवानीको हात त यति सुन्दर छ भने शरीर कति सुन्दर होला ? तुलजाले जयप्रकाशको मन बुझेपछि भनिछन्, ‘अबउप्रान्त तिमीसँग पासा खेल्नेछैन । अब तिम्रो शासन अवधि पनि समाप्त भयो । तिमीसँग प्रत्यक्ष भेट्दिनँ । तिमी एक कन्यालाई कुमारीका रूपमा स्थापना गरी छुट्टै बस्ने व्यवस्था मिलाऊ ।’ भनिन्छ, त्यसपछि जयप्रकाशले वि.सं. १८१४ मा कुमारीको स्थायी निवासका रूपमा हनुमानढोका दरबार परिसरमै कुमारीघर बनाएका हुन् ।

लाखेनाच । तस्बिर : इलिट जोशी र सञ्जोग मानन्धर/कान्तिपुर

इन्द्रजात्रामाथि राजनीति, अर्थतन्त्र र संस्कृति तीन तहमा विमर्श गर्न सकिन्छ । इन्द्रलाई पनि नेपालमा तीनै दृष्टिकोणले सम्मान गरिन्छ । पहिलो, उनी देवताहरूका पनि राजा । राजा भएकाले तत्कालीन नेपालका राजाहरूले पनि इन्द्रको जात्रालाई आफ्नै जात्रासरह माने । दोस्रो, उनी वर्षाका देवता । तत्कालीन काठमाडौं उपत्यकाको प्रमुख उत्पादन धान थियो । धानका लागि वर्षा आवश्यक हुन्थ्यो र वर्षाका देवतालाई तत्कालीन नेपाली समाजले पुज्नु स्वाभाविकै थियो । तेस्रो, इन्द्र स्वर्गका राजा । मरेपछि स्वर्गमै बास होस् भन्ने कामना सबैको हुन्छ । त्यसैले आफू र दिवंगत आफन्तको स्वर्गमा बास होस् भनेर पनि इन्द्रको पूजा गर्छन् भक्तजनहरू ।

तीर्थबहादुर श्रेष्ठको विचारमा इन्द्रजात्रा सामाजिक न्यायको उत्कृष्ट दृश्य प्रदर्शन गर्ने जात्रा हो । यो जात्रामा चोरलाई बाँधेर सडकमा जात्रा गरिन्छ । र, ती चोर थिए– इन्द्र । ‘त्यसैले इन्द्रलाई सार्वजनिक सजाय र चोरको अपमान गरिने जात्रा पनि हो यो,’ श्रेष्ठले भने, ‘यही परम्पराअनुसार आजका राज्य–चोरहरूलाई पनि हनुमानढोका र कालभैरवमा पाता कसेर जात्रा लगाइँदो हो त इन्द्रजात्रा कस्तो हुने थियो होला ?’

वेद–पुराणमा सुन्न नपाइने, तर काठमाडौंका बाजे–बज्यैले सुनाउने एक मौलिक लोककथन छ– इन्द्रमाथि । लोकाख्यानले भन्छ– इन्द्रकी आमा बसुन्धरालाई व्रत बस्न पारिजात फूल चाहियो । स्वर्गमा नपाइने त्यो फूल टिप्न इन्द्रले काठमाडौं यात्रा गरे । विष्णुमति र मरुटोलबीचको ख्यः क्यब (बँगैचा) मा पारिजात टिप्दै गरेका इन्द्रलाई यहाँका वासिन्दाले समाते । काठमाडौंमा एक मान्यता छ– पारिजात बोटबाट टिप्नुहुन्न, झरेपछि मात्रै त्यो फूल भुँइबाट टिप्नुपर्छ । मान्छेहरूले थाहा पाए– इन्द्र रैथाने होइनन् । त्यसपछि उनलाई पाता कसेर सार्वजनिक स्थानमा उभ्याइयो । छोरा नफर्केपछि चिन्तित आमा दागिं (डाकिनी) भेषमा काठमाडौं झरिन् र देखिन्– मरुटोलमा बाँधिएको छोरा इन्द्रलाई । उनी इन्द्रदेवता भएको थाहा पाएपछि मान्छेहरूले उनलाई मुक्त गरे । छोरालाई मुक्त गरेको खुसीमा इन्द्रकी आमाले काठमाडौंवासीका केही शर्त मानिन्– धान पाक्न सहयोग गर्न कुहिरो दिने, काठमाडौंवासीलाई पनि मरेपछि स्वर्ग लैजाने र दिवंगत आफन्तसँग भेटाउने । यसरी बसुन्धराले कुहिरोसँग इन्द्र साटिन् ।

इतिहासमै महत्त्वपूर्ण घटना मानिन्छ– गोर्खाका राजा पृथ्वीनारायण शाहको काठमाडौं हमला । शाहले महिनौंसम्म काठमाडौंमाथि नाकाबन्दी गरेर वि.सं. १८२५ मा सारा सहरले इन्द्रजात्रा मनाइरहेकै रात आक्रमण गरेका थिए । यहाँ लत्ताकपडा र अन्य सामग्रीको हाहाकार थियो । महँगी अकासिएको थियो, इन्द्रजात्रा मनाउने/नमनाउने भन्नेबारे विमर्श भइरहेकै थियो । अन्ततः जयप्रकाशले इन्द्रजात्रा मनाउने आदेश दिए । बाबुराम आचार्यका अनुसार त्यो वर्ष जात्रामा मानिसहरू खासै सहभागी थिएनन् ।

राति पृथ्वीनारायणको फौज हनुमानढोका पसेको थियो । राजा जयप्रकाश मल्ल कुमारीको रथसँगै जैसीदेवल पुगेका थिए । पृथ्वीनारायणले हनुमानढोका गद्दी कब्जा गरिसकेको सूचना दिएपछि जयप्रकाश त्यतैको बाटो पाटनतिर भागेका थिए । शाहवंशीय राजाहरूका लागि इन्द्रजात्रा केवल एक पर्व होइन, ऐतिहासिक दिन हो ।

किरातकालमा इन्द्रजात्रा मनाउने परम्परा थिएन भन्छन् सुरेश किरण । लिच्छवि राजा शिवदेव अंशुबर्माको पाटन लेलेमा भेटिएको अभिलेखमा इन्द्रजात्रा मनाउने गुठीका लागि खर्च छुट्याएको पाइन्छ । ‘लिच्छविकालमै इन्द्रध्वजोत्थान पर्व मनाउन थालिसकिएको पाइन्छ,’ किरण भन्छन् । तर, इन्द्रध्वजोत्थानको यो अनुष्ठान कहिलेदेखि आरम्भ भयो ? इतिहासले पत्ता लगाएको छैन । कोही भन्छन्– गुणकामदेवले सुरु गरे, कोही भन्छन्– लिच्छवि राजा मानदेवका हजुरबुबा शंकरदेवले । तर, इतिहास भन्छ– जहिलेदेखि सुरु भएको मानिए पनि इन्द्रजात्रा आजसम्म पूर्ण रूपमा रोकिएको छैन । र, नेपालकै पुरानो, ऐतिहासिक र गौरवपूर्ण पर्व हो इन्द्रजात्रा, जो काठमाडौंको सांस्कृतिक परिचयमध्ये महत्त्वपूर्ण पनि हो ।

प्रकाशित : आश्विन ११, २०८० ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?