कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

खोलामा हेलिएर स्कुल आउजाउ

भौगोलिक अवस्थाले पुल बनाउन सम्भव नभएपछि स्कुल नै सार्ने गाउँपालिकाको तयारी
वसन्तप्रताप सिंह

बझाङ — बैतडीको सिगास गाउँपालिका–६ स्थित गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने बिन्दु चन्दले कहिल्यै ओभानो लुगामा कक्षाकोठामा बसेर पढ्न पाउँदिनन् । पढाइमा भन्दा बढी उनको ध्यान चिसो पोसाकमा तानिन्छ ।

खोलामा हेलिएर स्कुल आउजाउ

चन्द मात्रै नभई गणेश मावि पढ्ने सिगास–६ साँगडाका ४० भन्दा बढी विद्यार्थीलाई यहाँको न्वाघरी खोलामा हेलिएरै स्कुल जाउआउ गर्नुपर्ने बाध्यता छ । तीन वर्षअघिकै बाढीले सिगास–७ भौनेलीपातल र डोटीको आदर्श गाउँपालिका–६ पाङ बबिना जोड्ने पुल बगाएपछि स्कुले बालबालिकालाई खोलामा हेलिनुको विकल्प छैन । उनीहरू आधा शरीर निथ्रुक्कै भिज्दै स्कुल पुग्छन् र चिसै पोसाकमा दिनभर पढ्न बाध्य छन् ।

सेती नदीमा मिसिने न्वाघरी खोलामा पुल नहुँदा कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि स्कुल आउजाउ जोखिमपूर्ण बनेको हो । बर्खामा त अझ कुन बेला भेलले बगाउने हो भन्ने डरले बर्खा नसकिन्जेल मनमा त्रास भइरहने चन्द बताउँछिन् । ‘अनि महिनावारी भएका बेला लगाएको प्याडसमेत भिजेर पानी र रगत खुट्टातिर बग्छ,’ चन्दले दुखेसो पोखिन्, ‘पढाइ सकिएपछि फेरि खोला तरेर चिसै लुगामा घर जानुपर्छ । दिनभरि चिसै लुगामा बस्नुपर्दा कहिलेकाहीं चिसो लाग्ने, पेट दुख्ने पनि हुन्छ ।’ २०३२ सालमा स्थापना भएको यो विद्यालयमा १ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

खोलामा हेलिएर विद्यार्थी एक्लैदुक्लै खोला तर्न सक्दैनन् । विद्यालयमा पढाउनेबाहेक विद्यार्थीलाई खोला तार्ने अतिरिक्त जिम्मेवारी सम्हाल्दै आएकी छन्, सोही स्कुलकी शिक्षिका लक्ष्मी चन्दले । उनी पनि साँगडाकै हुन् । सबै विद्यार्थी खोला किनारमा जम्मा नहुन्जेल उनी जँघार तार्न कुरेर बस्छिन् । विद्यार्थी जम्मा भएपछि हाते साङ्लो बनाउँदै तार्ने र फर्किंदा पनि त्यसैगरी खोला तार्नु उनको नियमित काम नै हो । कुनै दिन उनी आउन पाइनन् भने विद्यार्थी पनि स्कुल जान पाउँदैनन् । ‘न्वाघरी गाड चार ठाउँ तरेर मात्रै स्कुल पुग्छौं,’ उनले भनिन्, ‘दुई ठाउँमा झोलुंगे पुल छन्, दुई ठाउँमा जँघार नै तर्नुपर्छर् ।’

विकल्पका रूपमा रहेको मौराभीरको बाटो झन् जोखिमपूर्ण रहेको लक्ष्मीले बताइन् । मौराभीरको बाटो हुँदै गए खोला तर्नु पर्दैन । तर, भीरको बाटो साँघुरो, अप्ठ्यारो र डरलाग्दो छ । साँगडादेखि न्वाघरी खोला तरेर एक घण्टामा स्कुल पुगिन्छ भने मौराभीर हुँदै जाँदा डेढ घण्टा लाग्छ । बढी समय लाग्ने, चिप्लो र भीरबाट लडे सिधै खोलामा खसिने डरले विद्यार्थी हेलिएरै खोला तर्छन् । हालसम्म मौराभीरबाट लडेर दुई जनाको मृत्यु भइसकेको छ भने न्वाघरी खोलामा बगेर तीन जनाले ज्यान गुमाएका छन् ।

न्वाघरी खोला एक्लै तर्न सकिँदैन । सबै विद्यार्थी किताबको झोला पिठ्युँमा बोकेर खोला किनारमा भेला हुन्छन् । ‘एक्लाएक्लै तर्न डर हुन्छ नि त !,’ कक्षा ८ मा पढ्ने अञ्जली विकले सुनाइन्, केही गरी चिप्लिएर लडियो भने खोलाले सेती नदीमा पुर्‍याइहाल्छ ।’ बाढी आएका दिन खोला तर्न नसकेर विद्यार्थी पढाइ छुटाउन बाध्य हुन्छन् ।

‘खोलामा बाढी आएका बेला तर्न नसकेर धेरै दिन स्कुल छुटिसक्यो,’ कक्षा ९ मा पढ्ने १३ वर्षीय मिसन चन्दले भने । ‘गाड बौलाएका बेला (बाढी आएको बेला) ममी र सर पनि खोला तर्न डराउनु हुन्छ,’ उनले भने, ‘हामी फुच्चाफुच्ची त झन् तर्न सक्ने कुरै भएन ।’ मिसन शिक्षिका लक्ष्मीका छोरा हुन् ।

बझाङसँग सीमा जोडिएको सिगासका वडा ५, ६ र ७ का बासिन्दा स्वास्थ्य उपचारदेखि दैनिक उपभोग्य सामान लिनसम्म बझाङको केदारस्यु गाउँपालिकाको देउरा बजार नै पुग्नुपर्छ । देउरा जाने क्रममा वडा ७ का न्वाघर, साँगडा र बगाली गाउँका २ सय ५० बढी परिवारले पनि यही खोला तर्ने जोखिम मोल्नुपर्छ । न्वाघरी खोला तर्नु विद्यार्थीका लागि मात्रै नभई ठूलै मान्छेलाई पनि जोखिमयुक्त भइरहेको गणेश माविका प्रधानाध्यापक कालुसिंह साउदले बताए । ‘हिउँदमा पानी कम हुँदा त काठको साँघु हालेरै वारपार गर्छौं,’ उनले भने, ‘बर्खामा भेल बढेका बेला साँघु पनि बगाएर लैजान्छ ।’ विगत तीन वर्षदेखि हरेक बर्खामा विद्यार्थी र गाउँलेलाई जोखिम मोलेरै खोलामा हेलिनुपरिरहेको उनले बताए ।

चार वर्षअघि गाउँपालिकाको चार लाख अनुदानमा काठ र सिमेन्टको पुल बनाए पनि एक वर्ष नपुग्दै बाढीले बगाएपछि फेरि पुल बनेको छैन । पुल बनाइदिन गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको प्रअ साउदले गुनासो गरे । गाउँपालिका अध्यक्ष हरिसिंह धामीले भने दुवैतिर ठूलो भीर भएका कारण पुल निर्माण सम्भव नभएकाले बरु विद्यालय नै सार्न लागेको बताए । ‘प्राविधिकले उक्त स्थानमा पुल बनाउन सम्भव छैन भनेपछि स्कुल नै सार्दै छौं,’ उनले भने, ‘लेकम भन्ने ठाउँमा स्कुल सारेपछि यो समस्या समाधान हुन्छ ।’ उनले विद्यालय सार्नका लागि लेकममा संरचना निर्माणको काम पनि सुरु भइसकेको बताए । स्थानीयलाई देउरा बजार जान केही लामो परे पनि वैकल्पिक बाटो भएको र विद्यार्थीको जोखिम घटाउन स्कुल सार्नु नै समस्या समाधानको उपाय भएको अध्यक्ष धामीले बताए ।

प्रकाशित : आश्विन ३, २०८० ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?