कोइराला समूहको बैठकमा महामन्त्री शर्माको चर्चा


काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नियमित महाधिवेशन भएको डेढ वर्ष नबित्दै गुट अदलबदल र अर्को महाधिवेशनलक्षित लेनदेन हुन थालेका छन् । मंगलबारमात्रै महामन्त्री विश्वप्रकाश शर्माले गुट फेरेको विषय चर्चामा रह्यो । पार्टीमा प्रतिपक्षीधारको नेतृत्व गरिरहेका नेता शेखर कोइरालाले आफ्नो गुटको बैठकमा महामन्त्री शर्मालाई निम्त्याएपछि कांग्रेसजनलाई तरंगित बनायो ।


कोइराला समूहको मंगलबारको बैठकमा शर्माको प्रतिक्षा भयो, चर्चा चल्यो, तर शर्मा कोइराला समूहको बैठकमा गएनन् । नेता कोइरालाले अर्का नेता प्रदीप पौडेललाई पनि निम्तो दिएका थिए । तर पौडेल भने बैठकअघि नै पूर्वनिर्धारित कार्यक्रमबमोजिम चीन प्रस्थान गरेका थिए ।
कोइरालाले आफ्नो गुटमा स्वागत गर्न चाहँदा पनि शर्मा अनुपस्थित रहेपछि कोइराला समूहको मंगलबारको बैठकमा शर्माका बारेमा चर्चा चल्यो । कतिपय नेताहरूले शर्मालाई सुरक्षित गरेर समूहमा भित्र्याउनुपर्ने तर्क गरे भने कतिपयले शर्मालाई हतारमा समूहमा ल्याउनु हानीकारक हुन सक्नेसम्मको अड्कलबाजी गरे ।
बैठकमा नेता कोइरालाले महामन्त्री शर्मा र नेता पौडेलसँग संवाद भइरहेको र थप संवाद गर्ने बताएका थिए । तर उपसभापति धनराज गुरूङले शर्मालाई लक्षित गर्दै चर्कै टिप्पणी गरे । ‘समूह बलियो बनाउनुपर्छ । त्यसका लागि साथीहरूलाई जोड्दै जानुपर्छ । तर कसैलाई पनि दाम्लाले बाँधेर ल्याउने कुरा हुँदैन । अहिले दाम्लाले बाँधेर ल्यायो, भोलि फेरि दाम्लो चुँडाएर भाग्छन्,’ बैठकमा उपसभापति गुरूङले बोलेको उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
महामन्त्री शर्मा १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर विजयी भएका थिए । तर अहिले उनी नेता सिंहसँग मात्रै सीमित छैनन् । शर्माले पार्टीको संसदीय दलको निर्वाचनमा भने अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए । त्यसयता उनी निरन्तर महामन्त्री थापासँग नजिक रहेर काम गरिरहेका छन् ।
नेताहरूका अनुसार महामन्त्री थापा पनि शर्मालाई कोइराला समूहमा भित्र्याउन चाहन्छन् । तर शर्मालाई समूहमा ल्याउने विषयमा अहिलेसम्म परिपक्व संवाद भने भएको छैन । त्यसो त, महामन्त्री शर्मा अहिले गुटविहीन जस्तै छन् । १४ औँ महाधिवेशनमा सभापतिका प्रमुख प्रतिस्पर्धी नेताहरूको समूहबाट उम्मेदवार बन्न नपाउँदा नेता सिंहको समूहबाट उम्मेदवारी दिएर विजयी बनेका शर्मा पछिल्लो समय प्रमुख गुटहरूमा सम्बद्ध छैनन् ।
महामन्त्री शर्माले आफैँले मंगलबार सामाजिक सञ्जालमार्फत आफू विचार समूहको अभ्यासप्रति सकारात्मक रहे पनि पार्टीको महामन्त्रीको जिम्मेवारीप्रति समेत सजग रहेको बताएका थिए । कोइराला समूहको बैठकमा केन्द्रीय सदस्यहरूले शर्मालाई आबद्ध गराउनेबारे कुरा उठाएपछि नेता कोइरालाले थप संवाद गर्ने बताएका छन् ।
बैठकपछि केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आफूहरू ठूलो छाती बनाएर अघि बढेको बताए । ‘हामीहरू ठूलो छाती बनाएर खुला दिलले अघि बढेका छौं । हामी एजेन्डामा मिलेर अघि बढ्न सक्ने, सहकार्य हुन सक्ने सबैलाई जोडेर जान खुला छौँ,’ उनले भने, ‘विश्वजी र प्रदीपजीसँग पनि संवाद भइरहेकै छ ।’
१४ औँ महाधिवेशन अघि महामन्त्री शर्मा सभापति शेरबहादुर देउवाकै विश्वासपात्र थिए । केन्द्रीय सदस्य रहेका शर्मालाई देउवाले नै पार्टीको प्रवक्ता बनाएका थिए । तर प्रवक्ता रहँदा-रहँदै देउवा-शर्मा दुरी बढेको थियो । जुनकारण शर्मा १४ औँ महाधिवेशनमा देउवा समूह छोडेर सिंहको प्यानलबाट उम्मेदवार बन्न बाध्य भए ।
नेता पौडेल भने १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाटै महामन्त्रीको उम्मेदवार थिए । त्यसअघि नेता कृष्णप्रसाद सिटौलासँग नजिक रहेका पौडेल सिटौलाकै आडमा १४ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए । तर महाधिवशेनमा पराजित भएपछि भने पौडेलले देउवा र सिटौला दुवैको साथ छोडेका छन् ।
संसदीय दलको निर्वाचनमा महामन्त्री थापाको समर्थन बनेका पौडेल त्यसयता थापासँगै सहयात्रा गरिरहेका छन् । मंगलबारको बैठकमा नेता कोइरालाले पौडेल चीन जाने कार्यक्रम भएका कारण मंगलबार आउन नसकेको र अर्को बैठकबाट आउँछु भनेर वचन दिएको सुनाएका थिए ।
प्रकाशित : आश्विन २, २०८० २०:२७