राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक : राष्ट्रपति 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् । 

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक : राष्ट्रपति 

मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्र निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताए ।

उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताका रूपमा मानेको नेता भएको बताए । उनले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गरे । प्रतीकसहितको गणेशमान पार्कले उनको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको पनि राष्ट्रपति पौडेलले बताए ।

राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे । उनले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए । उनले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

गणेशमान सिंहको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवनशैलीका उपत्यकाबासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने राष्ट्रपति पौडेलले बताए ।

प्रकाशित : आश्विन २, २०८० १९:३५
प्रतिक्रिया
पठाउनुहोस्