संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ : आचार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधानविद् एवं पूर्वराजदूत निलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् । कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा संविधानले बाटो बिराएको जस्तो लागेको उनको भनाइ थियो । राजनीतिक दलहरूले संविधानको मर्मलाई अंगाल्न नसकेको पनि उनको भनाइ थियो । 

संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ : आचार्य

एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ कार्यक्रममा मंगलबार आचार्यले संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

'अहिले नेपालको संविधान अप्ठ्यारोमा छ । नेपालको संविधानको अभ्यासले बाटो बिराएको जस्तो छ । नेपालका राजनीतिक पार्टी कतिपयले संविधानको मर्मलाई अंगाल्न नसकेको जस्तो छ । अहिले संविधान कार्यान्वयनको संवैधानिक अभ्यासको समीक्षा गरेर कहाँ-कहाँ, के-के अप्ठ्यारो पर्‍यो ? सच्याउनुपर्ने बेला भएको छ । हेर्नुपर्ने बेला भएको छ,' उनले भने, '८ वर्षको संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा हुनुपर्नेछ ।'

संविधानको समीक्षा गर्ने कार्यमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अमूल्य योगदान दिन सक्थे भन्ने आचार्यको भनाइ थियो । सबै राजनीतिक दलहरूलाई जोड्न सक्ने क्षमता नेम्वाङमा रहेको र त्यसको अभाव खड्किने उनले बताए । 'सुवास नेम्वाङले सबैलाई जोडन सक्नुहुन्थ्यो । सबैको भनाइलाई एककृत रुपमा एउटा निष्कर्षमा पुर्‍याउन सक्नहुन्थ्यो । त्यो व्यक्तिलाई चाहिँ हामीले गुमायौं,' उनले भने ।

नेम्वाङकै कारण दोस्रो संविधानसभाले नेपालको संविधान निर्माण गर्न सकेको आचार्यको भनाइ थियो । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानुनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए । उनले नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गरेको स्मरण गरे ।

प्रकाशित : आश्विन २, २०८० १७:२४
प्रतिक्रिया
पठाउनुहोस्