नेम्वाङ संसद्‌को अभिभावक हुनुहुन्थ्यो : पूर्वसभामुख घर्ती

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रकी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संसद्‌को अभिभावकको रुपमा रहेको बताएकी छन् । नेम्वाङको स्मृतिमा एमाले केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै घर्तीले आफू सभामुख हुँदा देखिएका समस्यालाई समाधान गर्न नेम्वाङको अनुभवले काम गरेको बताइन् । 

नेम्वाङ संसद्‌को अभिभावक हुनुहुन्थ्यो : पूर्वसभामुख घर्ती

'व्यक्तिगत रुपमा अभिभावक मान्छु । व्यवस्थापिका संसद्‌को सभामुखको हैसियतबाट निर्वाचित भएँ । उहाँ त्यहाँ संसद्‌को हैसियतको सदस्य मात्रै नभएर अभिभावकको रुपमा रहनु भएको थियो,' उनले भनिन्, 'थुप्रै अफ्ठ्यारो अवस्थालाई समाधान गर्न उहाँको अनुभवलाई प्रयोग गरेँ ।' नेम्वाङ दोस्रो संविधानसभामा अध्यक्ष हुँदा घर्ती उपाध्यक्ष रहेकी थिइन् ।

उनले इतिहासमा दिइएको जिम्मेवारी नेम्वाङले राम्रोसँग पूरा गरेको बताइन् । 'इतिहासले सबैलाई जिम्मेवारी प्रदान गर्दैन । नेम्वाङलाई इतिहासले महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको थियो त्यसलाई राम्रोसँग निर्वाह गर्नुभयो,' उनले भनिन्, 'संसद्‌कै अभिभावक रुपमा भूमिका निर्वाह गर्नुभयो ।'

नेम्वाङको भदौ २६ गते निधन भएको थियो ।

प्रकाशित : आश्विन २, २०८० १४:१७
प्रतिक्रिया
पठाउनुहोस्