विद्यालय बन्द गरेर बालबालिकाको हकमा असर पुर्‍याउनुहुन्न : शिक्षामन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कसैले पनि विद्यालय बन्द गरेर बालबालिकाको पढ्न पाउने हकमा असर पुर्‍याउन नमिल्ने बताएका छन् । उनले सरकारले आठ वर्षसम्म बन्न नसकेको शिक्षा सम्बन्धी विधेयक संसद्‌मा दर्ता गरेको भन्दै त्यसबारे छलफल समेत सुरू हुन नपाउँदै सरोकारवालाहरूले आन्दोलन थाल्नु आश्चर्यको विषय भएको बताए ।

विद्यालय बन्द गरेर बालबालिकाको हकमा असर पुर्‍याउनुहुन्न : शिक्षामन्त्री राई

मंगलबार राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा आयोजित समारोहमा मन्त्री राईले संसद्‌मा दर्ता भएको विधेयकका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे ।

‘आठ वर्षसम्म शिक्षा विधेयक नहुँदा धेरै अलमल सिर्जना भएको छ । आज विधेयक संसद्‌मा दर्ता मात्रै भएको हो । त्यसबारे संसद्‌मा छलफलसमेत सुरू भएको छैन । तर उहाँहरूले त्यसको विरोधमा आन्दोलन थाल्नुभएको छ,’ मन्त्री राईले अघि भने, ‘मैले उहाँहरूलाई वार्ताका लागि बोलाउँदा उहाँहरूले त्यसलाई अस्वीकार गर्नुभयो । त्यसपछि मैले लिखितरुपमै विज्ञप्ति जारी गरेर उहाँहरूलाई वार्तामा आउन आह्वान गरेको छु । आज ३ बजे उहाँहरूलाई मन्त्रालयमा वार्ताका लागि बोलाएको छु । उहाँहरू आउनुहुन्छ, र वार्ता हुन्छ भन्ने विश्वास लिएको छु ।’

उनले शिक्षकहरूले बुधबारदेखि विद्यालय बन्द आह्वान गरेकोप्रति टिप्पणी गर्दै कसैले पनि बालबालिकाको पढ्न पाउने हकमाथि असर पुर्‍याउन नहुने बताए । ‘उहाँहरूले विद्यालय बन्द गर्ने र काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गर्नुभएको छ, यो कति जायज हुन्छ ?,’ मन्त्री राईले प्रश्न गर्दै अघि भने, ‘उहाँहरू आफैं पनि राष्ट्रसेवक हुनुहुन्छ । आन्दोलनका कारण हाम्रा बालबालिकाको पढ्न पाउने हकमाथि असर नपुगोस् भन्ने कुरा हो ।’

प्रकाशित : आश्विन २, २०८० १३:३४
प्रतिक्रिया
पठाउनुहोस्