काठमाडौं विमानस्थलको सर्भर फेरि डाउन, सयौं यात्रु प्रभावित

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) हुँदा कम्तीमा तीन वटा उडानका सयौं यात्रुको उडानमा ढिलाइ भइरहेको छ । त्यस्तै, विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।

काठमाडौं विमानस्थलको सर्भर फेरि डाउन, सयौं यात्रु प्रभावित

अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरुको विमानस्थलस्थित संस्था ‘बोर्ड अफ एयरलायन्स रेप्रजेन्टेटिभ्स इन नेपाल (बान)’ का एक विदेशी प्रतिनिधिका अनुसार, मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन ।

सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् । यो जोखिमयुक्त हो । सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन । यसरी नेपालमा रहेको अपराधी उम्किने वा नेपाल पस्ने (लुक्न आउने) उच्च जोखिम हुन्छ ।

सर्भर बिग्रिएपछि अध्यागमन कार्यालयका कम्प्युटरबाट विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाइ भइरहेको एक अर्का विदेशी वायुसेवाका नेपाली कर्मचारीले बताए ।

‘दिल्ली जाने इन्डिगो १७ मिनेट ढिलो उड्यो, भुटान जाने ड्रियुक एयर पनि समयमै उड्न पाएन,’ एक विदेशी वायुसेवाका प्रतिनिधिले भने,‘ नेपाल वायुसेवा निगमको दिल्ली, थाई स्माइलको बैंकक र इन्डिगोको अर्को दिल्ली उडान पनि समयमै हुने देखिँदैन । १२ बजेसम्म कम्तीमा ७ सय यात्रु प्रभावित भएका छन् ।’

सर्भर बिग्रिएको विषयमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालले सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्राविधिक केन्द्र (जीआईडीसी) मा सफ्टवेयर अध्यावधिक (अपडेट) का कारणले ढिलाइ भएको बताए ।

तर, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले विमानस्थलको सर्भर डाउन भएको विषयमा जानकारी प्राप्त भएको तर, यो समस्या विमानस्थलबाटै भएको बताए । ‘विमानस्थलको सर्भर (हाम्रो) केन्द्रका कारणले होइन त्यहीँको कुनै कारणले डाउन भएको देखिन्छ,’ पौडेलले भने ।

विमानस्थलको सर्भर बिग्रिएको यो पहिलो घटना होइन । यसअघि पनि दर्जनौं पटक सर्भर डाउन हुँदा ५ घन्टासम्म उडान प्रभावित भएका थिए ।

प्रकाशित : आश्विन २, २०८० १३:१३
प्रतिक्रिया
पठाउनुहोस्